राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरी संविधानको मर्म, भावना र प्रावधानको गम्भीर उल्लङ्घन गर्नुभएको धारणा प्रजातान्त्रिक विचार समाजले प्रस्तुत गरेको छ।
ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ। महानगरपालिकाले बुधबार ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो। महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृतबिना, मापदण्डविपरीत निर्माण भएका संरचनाहरू, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, ¥याम्प, सिँढीलगायतका संरचना हटाउन सूचनामा भनिएको छ।
नेपालले लोकतान्त्रिक सिद्धान्तलाई अक्षरशः मान्यता दिएको धारणा संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरेको छ। राष्ट्रसङ्घको सदस्य मुलुकका हैसियतले सरकारको तर्फबाट प्रतिनिधित्व जनाउँदै परराष्ट्र सचिव भरतराज पौड्यालले ७७औँ महासभाको उच्चस्तरीय बैठकको पूर्वसन्ध्यामा आयोजित ‘डेमोक्रेसी डेलिभर्स’ विषयक समारोहमा नेपालको संविधानले सर्वस्वीकार्य लोकतान्त्रिक सिद्धान्तलाई अङ्गीकार गरेको बताउनुभयो ।
वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हट्ने भएका छन्। काठमाडौँ महानगरपालिकाले फार्मेसी सञ्चालकलाई २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको छ तर फार्मेसी सञ्चालकले भने महानगरपालिकाले भने जस्तो २४ घण्टाभित्र औषधि पसल (फार्मेसी) हटाउन नसकिने बताएका छन्।
एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२२ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने संशोधित अनुमान गरेको छ । यसअघि एडीबीले यस वर्षका लागि ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । सन् २०२३ का लागि एडीबीले आर्थिक वृद्धिदर घटाएको छ । यसअघि नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको एडीबीले एसियन डेभलपमेन्ट आउटलुक, २०२२ को अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत (बजार मूल्य) पुग्ने प्रक्षेपण गरेको हो । एडीबीले विदेशी विनिमय सञ्चितिमा आएको गिरावट, मुद्रास्फीति, आयात प्रतिबन्धजस्ता कारणले सन् २०२३ मा नेपालको वृद्धिदर केही घट्ने प्रक्षेपण गरेको जनाएको छ ।
सिटामोल अझै सहज हुन सकेको छैन । एक महिनादेखि बढेको डेङ्गु सङ्क्रमणसँगै उपत्यकालगायतका बजारमा माग उच्च बढेकाले सिटामोलको अभाव भएको हो । औषधि व्यवस्था विभागले भने सिटामोलको पर्याप्त आपूर्ति हुन नसकेको स्वीकार गरे पनि बाहिर हल्ला भएजस्तो समस्या नरहेको जनाएको छ ।
सङ्घीयता कार्यान्वयनसँगै केन्द्रको अधिकार स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य गतिविधि पनि उतै सरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०७८÷७९ को आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आयोगले सोही प्रतिवेदनको जानकारी पत्रकार सम्मेलन गरी गराएको हो ।
काठमाडौं, असोज ५ गते । काठमाडौं कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा बुधबार साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उहाँको भनाइ छ । आगलागी नियन्त्रणमा लिए पनि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको खोज तथा उद्धारको टोलीले अहिले घटनास्थलमा रहेका छन् ।आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।रासस
हिन्दुहरुको महान पर्व दशैँ नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका सयौं नेपाली चाडपर्व मनाउन नेपाल फर्किन थालेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली अहिले दशैं–तिहार मनाउन सो संख्यामा नेपाली स्वदेश फर्केका हुन् ।
काठमाडौं,असोज ५ गते । नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।सङ्घका अध्यक्ष डा. लोचन कार्कीले महामारी रोकथामका बेलाका सिकाइ र अनुभवलाई विश्लेषण गरेर स्वास्थ्य प्रणालीलाई थप सक्रिय बनाउन नेपाल चिकित्सक सङ्घले विशेष पहल गर्नेलगायत ११ बुँदे घोषणापत्र जारी गरेको जानकारी दिनुभयो । उक्त घोषणापत्र स्वास्थ्य मन्त्रालयलाई बुझाउने डा. कार्कीले बताउनुभयो। घोषणापत्रले सरकारले स्वास्थ्य क्षेत्रको नीति बनाउँदा दस्ताबेजको काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।घोषणापत्रमा कोभिड महामारी र भविष्यमा आउन सक्ने यस्तै प्रकारका अन्य महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि बहुपक्षीय सहकार्यको अवधारणालाई सबै तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न पहल गर्ने उल्लेख छ।त्यसैगरी तीनै तहका सरकारको समन्वय, सहकार्य र साझेदारीलाई सुदृढ र प्रभावकारी बनाउँदै संविधानप्रदत्त स्वास्थ्य अधिकारको सुनिश्चितता गर्न तीनै तहका सरकारको सहभागितामा राष्ट्रिय स्वास्थ्य सभाको आयोजना गर्ने घोषणापत्रमा उल्लेख छ। घोषणापत्रमा आपतकालीन अवस्थाको पूर्वतयारी, प्रतिकार्य र रोकथाम लगायत कार्यको लागि राष्ट्रिय रोग नियन्त्रण केन्द्र स्थापनाको पहल गर्ने, राष्ट्रिय स्वास्थ्य संस्था प्रत्ययन बोर्डको स्थापना गर्ने, औषधि व्यवस्था विभागको क्षमता र दायरा बढाउने, छुट्टै मानव संसाधन विभागको स्थापना गर्नेलगायत उल्लेख छ। मङ्गलबार र बुधबार दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न सात वटा विषयमा छलफल भएको छ।
काठमाडौं, असोज ५ गते । असोज १ गतेदेखि सुरु भएका सुपथ मूल्य पसलमा सामान्य चहलपहल सुरु भएको छ। यस्ता पसरमा बजारमा भन्दा सात रुपियाँदेखि ६० रुपियाँसम्म छुट पाइने भएको छ।दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको हो। लिमिटेडका सूचना अधिकारी सर्मिला सुवेदीका अनुसार दाल, चामल तेलमा प्रतिकेजी/प्रतिक्विन्टल सात रुपियाँ छुटको व्यवस्था गरिएको छ । घिउमा प्रतिकेजी ६० रुपियाँ छुटको व्यवस्था गरिएको छ। यस्तै जुम्लाको सिमी तथा गेडागुडीमा प्रतिकेजी १० रुपियाँसम्म छुटको व्यवस्था छ। जिउँदो खसीबोका तथा च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँसम्म छुटको व्यवस्था छ। देशभर ४१ जिल्लाका ४५ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन भएका छन्। काठमाडौं उपत्यकामा भने चार ठाउँबाट सुपथ मूल्य पसल सञ्चालन भइरहेको छ। उपत्यकामा रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरबाट सुपथ मूल्य पसल सञ्चालन भइरहेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा पुगेर गोरखापत्र अनलाइनका लागि केशब गुरुङले कैद गर्नुभएका तस्बिर :
गोड स्पिनका राजेन्द्र कपाली र ललितपुरका आनन्द धाक्वा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा पहिलो हुनुभएको छ । पुरुष भेट्रान सिंगल्सको ५० वर्षमाथि राजेन्द्र र ६० वर्षमाथि आनन्द पहिलो हुनुभएको हो ।
निर्वाचन आयोगले भोलिदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नमावली संकलन तथा अद्यावधिक गर्नेभएको छ ।
चौथो सुशील केडिया मेमोरियल अन्तर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डीएभी स्कुलले जितेको छ ।
नेपाली कांग्रेसले आगामी सङ्घ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाएको छ।