संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको हो ।
आज (बिहीबार) बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको पहिराका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकले हटाउने प्रयास भइरहेको र अपराह्नसम्ममा यातायात सञ्चालनमा ल्याउने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो । पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने साना सवारीसाधन वैकल्पिक सडक प्रयोग गरेर चलिरहेका छन् । बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिराका कारण यातायात अवरुद्ध हुने गरेको छ ।
अपाङ्गता भएका बालबालिकाको पुनःस्थापना र निःशुल्क औषधि उपचारका लागि वीरेन्द्रनगरमा बाल अस्पताल तथा पुनःस्थापना केन्द्र स्थापना हुने भएको छ । विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले असोजदेखि वीरेन्द्रनगर–१ चनाबारीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनको तयारी गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ ।
सुगम पोखरेलको स्वरमा नयाँ गीत ’तिमी फर्केर आयौ’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाईंको शब्द र कल्याण सिंहको सङ्गीत र दीक्षित पौडेलको एरेन्ज सुन्न सकिन्छ।
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा अबिरल वर्षासँगै गएको पहिरोमा परी एकै परिवारका तीन जनाको निधन भएको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ को एउटा टोलका सबै बालबालिकामा ज्वरो र रुघाखोकीको सङ्क्रमण देखिएको छ। स्थानीय साम्रे आधारभुत विद्यालयको सेवा क्षेत्रमा पर्ने साम्रे टोलका ३५ जना बालबालिका एकैसाथ बिरामी भएपछि त्यहाँको स्वास्थ्य शाखाले बुधबार विद्यालयमै पुगेर उनीहरूको स्वास्थ्य परीक्षण गरेको छ।
कैलालीमा डेङ्गु रोगबाट बिरामी हुनेको सङ्ख्या १२४ पुगेको छ। चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा सो सङ्ख्यामा डेङ्गुका बिरामी फेलापरेका हुन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार लम्कीचुहा नगरपालिकामा सबैभन्दा धेरै ६३ जना डेङ्गुका बिरामी फेलापरेका छन्। सेती प्रादेशिक अस्पतालमा २१, टीकापुर अस्पतालमा १३, मालाखेती अस्पतालमा सात जनामा डेङ्गु पुष्टि भएको जनाइएको छ।
अत्यावश्यक आधारभूत स्वास्थ्य सेवामा सुधार ल्याउन अभियानकै रूपमा कार्यक्रम लैजान अछाममा सातबुँदे प्रतिबद्धता गरिएको छ। जनप्रतिनिधि, सरकारी, सामाजिक क्षेत्रमा संलग्न व्यक्तिले तोकिएका स्वास्थ्य सेवा सेवाग्राहीमैत्री बनाएर सहजै प्रदान गर्नका लागि प्रतिबद्धता जाहेर गरिएको छ। सबै बालबालिकाले खोप पाएको सुनिश्चित गरेर पूर्णखोप सुनिश्चितता घोषणा गर्ने, तोकिएको मापदण्ड पूरा गरेर चारवटा वडा र स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्ने प्रतिबद्धता गरिएको छ। सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवा, किशोरकिशोरीको यौन तथा प्रजननलाई सेवाग्राहीमैत्री बनाएर गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता गरिएको छ। क्षयरोगविरुद्धको अभियान गरेर कुनै दुई स्थानीय तह क्षयरोगमुक्त पालिका घोषणा, ज्वरो आएर स्वास्थ्य संस्था आएका सबै बिरामी र गाउँमा रहेका केही व्यक्तिको औलो परीक्षण गरेर निगरानीमा राख्ने प्रतिबद्धता छ। एचआईभी सङ्क्रमितलाई दिइँदै आएको एआरटी सेवा हरेक स्थानीय तहको एक स्वास्थ्य संस्थाबाट उक्त सेवा प्रदान गर्नमा समेत प्रतिबद्धता गरिएको छ। स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकाय, दसवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, सामाजिक सङ्घ संस्था र नागरिक समाजमा संलग्न व्यक्तिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ। “जिल्लामा धेरै स्वास्थ्य समस्यामा काम गर्नु त छँदै छ तर हाललाई सातवटा प्रतिबद्धता गरिएको छ, जसले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्छ।” स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले भन्नुभयो।
ग्रामीण परिवेशको सामान्य घरमा रहेका पाँचवटा एलईडी बत्ती बालेको एक महिनाको महसुल बिल २७ हजार रुपियाँ आएपछि बिसनादेवी नाथको सातो उडेको छ। बैतडीको दशरथचन्द नगरपालिका–३, दुर्गाभवानीकी बिसनादेवी नाथले अघि–पछि न्यूनतम शुल्क तिर्दै आइरहेकोमा गत मङ्सिरमा एकै महिनाको बिजुलीको बिल २७ हजार १५० रुपियाँ तिर्नुपरेपछि महिनौँदेखि भोक निद्रा लाग्न छाडेको छ।
जिल्ला प्रशासन कार्यालय सल्यानले राप्ती लोकमार्ग र त्यसका सहायक सडकको मर्मत गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। जिल्लाका सडकको निर्माण, मर्मत पुनर्निर्माणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा जिल्लामा अवरुद्ध विभिन्न सडक र सहायक सडकको मर्मत तत्काल सुरु गर्न प्रजिअ विपिन आचार्यले निर्देशन दिनुभएको हो।
वीरेन्द्रनगर नगरपालिकाकाले मुख्य बजार क्षेत्रको सडक विस्तार योजनाको काम अघि बढाउन सकेको छैन। सडक विस्तार योजना एक वर्षदेखि अलपत्र छ। नगरपालिकाले बारम्बार सूचना जारी गरी अतिक्रमित क्षेत्रबाट घरटहरा, टेलिफोन तथा खानेपानीका पाइपलाइन, पर्खालजस्ता संरचना हटाउन आग्रह गर्दै आएको छ। सडक विस्तार तथा स्तरोन्नतिका लागि सम्झौता भएको एक वर्ष बितिसक्दा पनि काममा उल्लेखनीय प्रगति भएको देखिएको छैन। गत वर्ष भदौ १७ गते सडक स्तरोन्नतिका लागि सम्झौता भएको थियो। निर्माण कम्पनीले २०८० जेठ मसान्तसम्म उक्त सडक निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ। समय निकै घर्किसक्दा पनि नगरपालिकालाई सडक क्षेत्रका संरचना हटाउन हम्मेहम्मे परेको छ। विद्युत्, खानेपानीजस्ता सेवा प्रदायक निकायले समेत आफ्ना संरचना सार्न ढिलाइ गर्दा सडक विस्तारको काम प्रभावित बनेको हो।
सङ्घीय संरचनासँगै स्थानीय तहमा पनि आयुर्वेद स्वास्थ्य सेवाको पहुँच पुग्न थालेको छ। प्युठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्रसँगै नागरिक आरोग्य केन्द्र, औषधालय, विस्तारित सेवा केन्द्रबाट सेवा प्रवाह गरिएको केन्द्रका निमित्त प्रमुख शिशिर पोखरेलले बताउनुभयो। “पहिले जिल्लाको तीन ठाउँबाट मात्र यो सेवा उपलब्ध थियो,” उहाँले भन्नुभयो, “अहिले सरुमारानी गाउँपालिकाबाहेकका पालिकामा सेवा पुगेको छ।” गएको दुई आर्थिक वर्षमा स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापना भएका हुन्।