बिरामीको चाप बढ्दा टीकापुर अस्पतालमा शय्या अभाव
कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो । यसअघि प्रसूति र हाडजोर्नी सम्बन्धि शल्यक्रिया गरिँदै आएकामा अस्पतालले एक हप्तादेखि आफ्नो सेवा विस्तार गरेको छ । टीकापुर अस्पतालबाट अब हाइड्रोशिल, हर्निया, पत्थरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत र पानी भरिएका बिरामीको शल्यक्रिया सेवा थालेको छ ।
मुटुरोगी बालकको उपचारमा समस्या
तीन वर्षीय मोहन ठगुन्नालाई मुटुरोगले च्यापेको चार महिना भयो । बैतडी अस्पतालले उपचारका लागि बाहिर लान रेफर गरेको तीन महिना बितिसकेको छ । उपचार गर्ने रकम त परको कुरा, बालकका आमाबुवासँग काठमाडौँसम्म पुग्ने बसभाडासमेत नहुँदा मुटुरोगी बालक घरमै थन्किएका छन् ।
प्रदेश आर्थिक कार्यविधि विधेयक टेबुल
प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सुदूरपश्चिम प्रदेश सभामा टेबुल भएको छ । आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले सो विधेयक प्रदेश सभामा टेबुल गर्नुभएको हो ।
बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । ना ६ ख ९६९३ नम्बर बसको ठक्करबाट गौरीगंगा २ का खडक थापाको मङ्गलबार बिहान मृत्यु भएको हो ।
पहिलोपटक बैतडी जिल्ला अस्पतालमा नौ चिकित्सक
पहिलोपटक जिल्ला अस्पताल बैतडीमा नौ चिकित्सक उपलब्ध भएका छन् । दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिन थालेका हुन् । पहिलोपटक जिल्ला अस्पतालमा दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिइरहेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । उहाँहरु छात्रवृत्ति र करार सेवाका रहेका जनाइएको छ ।
मध्यपहाडी सडक अवरुद्ध
अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको मध्यपहाडी सडकमा सोमबारराती पहिरो जाँदा सडक अवरुद्ध भएको छ । नगरपालिकाको वडा नम्बर ३ र ४ को दरेपाटा भन्ने स्थानमा सडक भन्दा माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो ।
पूर्वाधार विकास खर्च एक अर्ब
कैलालीका १३ वटा स्थानीय तहमध्ये घोडाघोडी नगरपालिकाले चार वर्षमा एक अर्ब सात करोड ४८ लाख ६० हजार ४४ रुपियाँ रकम भौतिक पूर्वाधार विकासमा खर्च गरेको छ । सो रकम पक्की पुल, झोलुङ्गे पुल, सडक कालेपत्रे, सडक ग्राभेल, कल्भर्ट निर्माण, तटबन्धन निर्माण, खानेपानी, सामुदायिक भवन, मन्दिर निर्माण, पार्क निर्माण, डिप बोरिङ निर्माण, पक्की नाली निर्माण, पक्की पर्खाल निर्माण, गेट निर्माण, सार्वजनिक शौचालय र खेल मैदान निर्माणमा खर्च भएको हो ।
‘पानी सफा होइन शुद्ध पिउनुपर्छ’
कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का)को पानी प्रयोग गर्दै आइरहेका छन् । हिउँद होस् या बर्सात सधैँजसो नल्काको पानी पिउने गरेको उहाँको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने लाग्छ । “हेर्दा सफा लाग्छ, त्यही भएर नल्काको पानी पिउने गरेका छौँ”, उहाँले भन्नुभयो, “धेरै वर्षदेखि नल्काकै पानी पिउँछौँ, कसैलाई केही समस्या भएको छैन । बर्सातमा वर्षा बढी भएर वरिपरि पानी जम्दा भने अलि धमिलो आउँछ । धमिलो आए पनि त्यही पिउँछौँ ।”
राना थारु गाउँमा सुरु भयो सावनको डोलाको रौनक
कञ्चनपुरका राना थारु गाउँमा सावनको डोलाको रौनक छाएको छ । राना थारु समुदायले गाउँको बीच भागमा दिदीबहिनीका लागि डोला (पिङ) राखेका छन् । साउन महिनाको सुरुमै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोबास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थान पिङ राख्ने गरिन्छ । परम्परागत परिधानमा सजिएका राना थारु महिला आफ्नै पारामा गीत गाउँदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन् । पिङ भने महिलाले राख्दैनन् ।