नवौँ राष्ट्रिय खेलकुदमा कर्णाली २९ खेलमा सहभागी हुने
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट प्रक्रिया पूरा गरी बन्द प्रशिक्षण दिने थालेको जनाएको छ ।
सदगुरूद्वारा सिमकोट विमानस्थलमा प्रवचन
सदगुरू ( जग्गी वासुदेव ) ले सिमकोट विमानस्थलमा धार्मिक पर्यटक र सर्वसाधारणका लागि प्रवचन दिनुुभएको छ । लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुने क्रममा उहाँले सो प्रवचन दिनुु भएको हो ।
अनुदानकै आसमा महिला उद्यमी बढे
दर्ता राजस्वमा छुट, सरकारी अनुदान र बैङ्कबाट ऋण पाउने लोभले रुकुमपश्चिममा पछिल्लो समय महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढ्दो छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुमपश्चिमका अनुसार कार्यालयमा दर्ता हुन आएका उद्योगी तथा व्यवसायीमा महिलाको सङ्ख्या बढिरहेको छ। कार्यालयका सूचना अधिकारी शेरबहादुर ओलीले गत आर्थिक वर्षमा दर्ता भएका ६३० वटा व्यवसायमध्ये ३२४ वटा महिलाको नाममा दर्ता भएको पाइएको छ। पुरुषको नाममा उद्योगतर्फ १९९ र वाणिज्यतर्फ १०७ वटा गरेर ३०६ वटा व्यवसाय दर्ता भएका छन्। कार्यालयको तथ्याङ्कअनुसार महिलाको नाममा १६४ वटा उद्यम र १६० वाणिज्यतर्फका व्यवसाय दर्ता भएका छन्।
बारेकोटको स्वास्थ्य सेवा उत्कृष्ट
जाजरकोटका सातवटा स्थानीय तहमध्ये बारेकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट काम गरेको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालयको वार्षिक समीक्षामा बारेकोटले विगत वर्षझैँ यस वर्ष पनि प्रथम स्थान हासिल गरेको जनाइएको छ। स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेलका अनुसार ४३ वटा सूचकमा गरिएको तथ्याङ्कमा बारेकोटले ६६.७१ प्रतिशत प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो।
तिब्बतबाट च्याङ्ग्रा नआउने
यस वर्षको दशैँमा चीनको तिब्बती क्षेत्रबाट हुम्लालगायत साबिक कर्णालीका हिमाली जिल्ला र सुदूरपश्चिम प्रदेशको बझाङ र बाजुराका लागि च्याङ्ग्रा नआउने भएका छन् । कोरोना महामारीका कारण हुम्ला जिल्लामा पर्ने तिब्बतका चारवटा नाका बन्द रहेका कारण च्याङ्ग्रा ल्याउन समस्या भएको हो । यतिखेर हिल्सा, लाप्चा, चुवाँखोला र ताँके नाकाबाट दशैँका लागि चीनको तिब्बती क्षेत्रबाट च्याङ्ग्रा आउन सुरु हुनुपर्ने हो । तर, अहिलेसम्म एउटा च्याङ्ग्रा पनि भित्रिएको छैन । यसअघि असार साउनमै आउनुपर्ने च्याङ्ग्रा पनि आएनन् ।
जनता आवास कार्यक्रमबाट बनेका घर मान्छे नबस्दै जीर्ण
जनता आवास कार्यक्रमबाट निर्माण भएका घरहरु सेवाग्राही नबस्दै जीर्ण भएका छन् । डिजाइन इष्टिमेटअनुुसार निर्माण भएका घरमा सेवाग्राहीले बस्न नमान्दा घरहरु जीर्ण बनेका हुन् ।
विद्युत् उत्पादन लक्ष्य पूरा नहुने सङ्केत
कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको प्रथम पञ्चवर्षीय योजनामा पाँच वर्षभित्र प्रदेशमा दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा नहुने सङ्केत देखिएको छ। पञ्चवर्षीय योजना लागू भएको तीन वर्षभन्दा बढी समय भइसक्दा पनि कर्णाली सरकारले ऊर्जा तथा विद्युत् उत्पादनका क्षेत्रमा ठूला आयोजनाको काम अघि बढाउन सकेको छैन।
राजनीतिक आडमा पाँच सय हेक्टर वन अतिक्रमण
जिल्लाका सातवटै पालिकामा गरी करिब पाँच सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। स्थानीयले वन फँडानी गरी पाँच सय हेक्टर बढी क्षेत्रफलमा अतिक्रमण गरी घरटहरा बनाउनुका साथै खेतीपाती गरेका छन्। जिल्लाका थाप्लेचौर, ठाँटी, शान्तिचौतारा खगेनकोट, नायकवाडा, सक्ला, लहँ, ढिमे, बाटुले, गाईखुर, पाँचकाटिया, पैक, सुवानाउली, साल्म, दमाशेरा, जुँगाथापाचौर, कार्कीगाउँ, जगतिपुरलगायतको सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको छ। सदरमुकाम खलङ्गास्थित डिभिजन वन कार्यालय आसपासकै वन क्षेत्रसमेत अतिक्रमणमा परेको छ। यद्यपि, वन कार्यालयले सो सम्बन्धमा कुनै कारबाही अघि बढाउन सकेको छैन।
जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला : मुख्यमन्त्री शाही
जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका आठै पालिकाका सबै बालबालिकाले खोप प्राप्त गरेपछि बिहीबार पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्नुभयो । मुख्यमन्त्री शाहीले जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुनु भनेको स्वास्थ्य स्थितिमा सुधार आएको सन्देश दिएको बताउनुभयो ।