हिमपातका कारण डोल्पामा जनजीवन कष्टकर
उपल्लो डोल्पामा यो वर्षको पहिलो हिमपात भएको छ । सोमबार बिहानदेखि परेको अविरल वर्षसँगै हिमपात भएको हो ।
हिमपातका कारण भूकम्पपीडितको जनजीवन प्रभावित
लेकाली भेगमा हिमपात हुन थालेपछि भूकम्पपीडितको जनजीवन प्रभावित भएको छ । भूकम्पको इपिसेन्टर बारेकोट गाउँपालिका–१ रामिडाँडालगायत सबै वडा र कुशे गाउँपालिकाका नौ वटै वडामा हिमपात भएको छ ।
कालीकोटमा अवैध मेडिकल सञ्चालन
कालीकोटका गाउँ–गाउँमा औषधि पसल खुलेका छन् । अधिकांशले अवैध तवरबाट मेडिकल चलाइरहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने प्रावधान भए पनि कालीकोटका अधिकांश मेडिकल पसल नियमविपरीत सञ्चालन भइरहेका छन् ।
हुम्लामा बाक्लो हिमपात
सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट मौसम बिग्रिँदा हिमपात भई रहेको हो ।
ठेक्काको म्याद थप्ने तयारी
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी सडकको सम्झौता अवधि सकिन एक महिना मात्रै बाँकी छ । सम्झौता अनुसार सडकको काम सम्पन्न गर्न भने अझै ४५ प्रतिशत बाँकी छ । पुस १३ गते ठेक्काको सम्झौता सकिँदै छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७८ असार २८ देखि योजना सुरु भएको थियो । अहिलेसम्म ५५ प्रतिशत मात्र कार्यप्रगति भएको बताइन्छ । वित्तीय प्रगति ४८ प्रतिशत हासिल भएको छ ।
अस्थायी आवास बनाउन रकम दिन सुरु
भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि अनुदान रकम उपलब्ध गराउन सुरु गरिएको छ । सरकारले गरेको निर्णय अनुसार आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम प्रभावित परिवारको बैङ्क खातामा पठाउन थालिएको हो । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले स्थानीय विपत् व्यवस्थापन समितिको खातामा रकम जम्मा गर्न थालेपछि स्थानीय तहले लाभग्राहीको खातामा अनुदान रकम उपलब्ध गराउन थालेका हुन् ।
तयार भए अस्थायी सिकाइ केन्द्र
भूकम्पबाट प्रभावित रुकुमपश्चिमका विद्यालयहरूमा पठनपाठन नियमित बनाउन अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ । आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा २१३ वटा अस्थायी सिकाइ केन्द्र निर्माण भएका हुन् । अस्थायी सिकाइ केन्द्र निर्माण भएपछि विद्यालयमा आउने विद्यार्थी सङ्ख्यामा वृद्धि भएको छ । स्थानीय तहले विभिन्न दातृ निकायसँग समन्वय गरेर अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन नियमित गरिएको जनाएका छन् । आठबिसकोट नगरपालिकामा १३९ र सानीभेरी गाउँपालिकामा ७४ वटा अस्थायी सिकाइ केन्द्र निर्माण भएका छन् ।
‘सरकार घर बनाइदेऊ’
भूकम्प गएलगत्तै सरकारको प्रत्यक्ष उपस्थितिले हौसिएका भूकम्पपीडितहरूले घर बनाइदिन सरकारसँग माग गरेका छन् । कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटका घरबारविहीन पीडितले सरकारको आशा र भरोसामा बाँचेको बताएका छन् । उनीहरूले सरकारले जनताको घाउमा मलम लगाउन पुगेको बताउँदै अल्पकालीन र दीर्घकालीन रूपमा आवास निर्माणको काममा सहयोग गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । पूर्ण र आंशिक रूपमा क्षति पुगेका पीडितहरूले सरकारले घर बनाइदिए अरू जीविकोपार्जनका लागि गाउँघरमै ऐँचोपैँचो गरेर भए पनि व्यवस्था गर्ने बताएका छन् ।
पहिचान नखुलेको शवको दाहसंस्कार
रुकुमपश्चिममा पहिचान नखुलेको एक शवको दाहसंस्कार गरिएको छ । मङ्सिर १० गते जिल्लाको सानीभेरी गाउँपालिका–३ मुलपानीस्थित सानीभेरी नदीको किनारमा भेटिएको शव आज आइतबार दाहसंस्कार गरिएको हो ।