यू–२० साफको बन्द प्रशिक्षणमा ३० खेलाडी
भारतमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडी राखेको छ ।
राफेल नाडाल अन्तिम १६ मा
स्पेनिस स्टार राफेल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा प्रवेश गर्नुभएको छ । नाडालले शनिबार राति भएको खेलमा इटालीका लोरेन्जो सोनेगोलाई ३-० को सेटमा हराउनुभयो । लन्डनमा जारी प्रतियोगितामा नाडालले लोरेन्जोमाथि ६-१, ६-२, ६-४ को जित निकाल्नुभएको थियो ।
नेपाल आज ओन्टारियोविरुद्ध टी–२० खेल्दै
आईसीसी विश्वकप लिग–२ को तयारीका लागि क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (आइतबार) स्थानीय ओन्टारियो क्लबविरुद्ध टी–२० अभ्यास खेल खेल्दैछ । यस खेल नेपाली समय अनुसार राति ७ः१५ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
तनहुँमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
तनहुँ, असार १९ गते । जिल्ला खेलकुद विकास समिति तनहुँद्धारा १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा जिल्लाको १० वटै पालिकाका विद्यालयवाट विद्यार्थीहरुले भाग लिएको समितीका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । प्रतियोगितमा भलिवल, एथेलिटिक्स, कवडी, कराते, ताईगन्डो, उशु मा प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा नेकपा एमालेका नेता तथा प्रतिनिधी सभा सदस्य केदार सिग्देलले शनिबार उद्घाटन गर्नुुभएको थियो । कार्यक्रमलाई उद्घाटन गर्दे प्रमुख अतिथी सिग्देलले खेलकुद मानव जीवनको अङ्ग भएको वताउनुभयो । देशलाई चिनाउने मूख्य माध्यम भनेको पनि खेलकुद भएको उल्लेख गर्दै सांसद सिग्देलले शरिर मात्र हैन मस्तिष्क पनि ताजा वनाउन मद्धत पुग्ने बताउनुभयो । ताजा मस्तिष्क र शरिरले नै जीवनमा परिवर्तन गर्ने हुदाँ खेलकुदको महत्व खेलकुद हरेकको जीवनमा अपरिहार्य भएको समेत उहाँले वताउनुभयो । खेलकुदको विविध आयाम विद्यार्थी जीवनवाट नै शुरु हुने र खेलकुदको माध्यामवाट समाज र देशको पहिचानमा पनि महत्वपुर्ण भुमिका खेल्ने हुदाँ विद्यार्थी जीवन देखी नै यसको प्रयोग हुुनुपर्ने सिग्देलको भनाई थियो ।
हेभिवेटमा नुवाकोटे टाइगर च्याम्पियन
नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार शनिबार च्याम्पियन बन्नुभएको छ । प्रतियोगिताको मुख्य स्पर्धा मानिने हेभिवेट भिडन्तमा नुवोकोटेले डेविडलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलोपटक च्याम्पियन बन्नुभएको हो । अघिल्ला तीन संस्करणमा डेविड, साइन र चट्टान विजेता बन्नुभएको थियो । उपाधिसंगै नुवाकोटेले १ लाख २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
पुलिसलाई महिला भलिबल उपाधि
बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको फाइनल खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
महिला साफ च्याम्पियनसिप नेपालमा
छैटौं महिला साफ च्याम्पियनसिप फुटबल नेपालमा आयोजना हुने भएको छ । बंगलादेशको ढाकामा शनिबार वसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले महिला साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।
खेल पर्यटन सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ
नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले खेल पर्यटनलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउनुभएको छ । विश्व खेलकुद पत्रकार दिवसका अवसरमा शनिबार नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा खेल पर्यटनको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयसँगको समन्वयमा खेल पर्यटनलाई प्राथमिकतामा राखिने बताउनुभएको हो ।
सुस्मालाई महिला ओपन गल्फ उपाधि
महिला ओपन गल्फ प्रतियोगिताको उपाधि सुस्मा सिग्देलले जित्नुभएको छ । रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा शनिबार भएको १८ होल स्पर्धामा सुस्माले ४० अंक जोड्नुभयो । स्टेबलफोर्ड ३/४ ह्यान्डीक्याप विधामा भएको प्रतियोगितामा सुस्माले उपविजेता कस्मिरा शाहलाई दुई अंकले पछि पार्नुभयो । दोस्रो हुनुभएको शाहले ३८ अंक जोड्नुभएको थियो ।