logo
२०७७ जेष्ठ २२ बिहीवार

वडाको सिफारिसपछि मात्रै राहत

खुला |


2020-04-10-12091


गोरखापत्र कर्णाली
सल्यान, चैत २८ गते । दार्मागाउँपालिका सल्यानले बन्दाबन्दी (लकडाउन)को समयमा दैनिक ज्यालादारी र विपन्न परिवारलाई राहत वितरण गर्नु पहिले राहतका लागि सिफारिस भएका नामावलीमा सार्वजनिक गर्ने भएको छ ।


वडा अध्यक्षवाट सिफारिस भइआएका दैनिक ज्यालादारी र विपन्न परिवारको नाम राहतका लागि सही भए नभएको दावी विरोध गर्ने गरी सूचना टाँस गरी छानविन गरेर मात्र राहत वितरण गर्ने ब्यवस्था मिलाइएको दार्मागाउँपालिका सल्यानले जनाएको छ ।

दार्मागाउँपालिका अध्यक्ष निमवहादुर केसीले गाउँपालिकाले निर्धारण गरेको मापदण्डका आधारमा वडाले संकलन गरेका व्यक्तिहरुको नामावली सूचना पार्टीमा राखी दावी विरोधपछि मात्र वितरण गर्ने भएको बताउनुभयो । उहाँका वास्तविक गरीब, विपन्न, एकल महिला राहत पाउनबाट नछुटुन् र हुने खानेले राहत नपाउन् भनेर सूचना पार्टी नामावली प्रकाशन गरेपछि मात्र राहत वितरण गरिने छ ।

दार्मागाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले राहतका लागि सिफारिस भएका व्यक्तिको नाम वडा कार्यालय तथा गाउँपालिकाको सूचना पार्टीमा र वेवसाइटमा दावी विरोधका लागी तीन दिनको समय दिएर सार्वजनिक गरिने र तीन दिन पछि गाउँपालिकाले अन्तिम नामावली प्रकाशन गरेर वडा कार्यालय मार्फत राहत वितरण गरिने ब्यवस्था मिलाइएको बताउनुभयो ।

१० जनाको स्वाब परीक्षण


यसैवीच दार्मा गाउँपालिकामा तेस्रो मुलुक र भारतबाट फर्किएका व्यक्तिहरुको स्वाब संकलन गरिएको छ । भारत, तेस्रो देश र अन्तरजिल्लाबाट आएका १० जनाको स्वाब परीक्षण गरिएको हो ।
कोरोना भाइरसको संक्रमणको आशंका भारतबाट तीन, मलेसियाबाट एक, साउदीबाट एक, कतारबाट दुई, दुवईबाट एक र अन्तरजिल्लाबाट आएका दुई जनाको स्वाब परीक्षण गरिएको दार्मा गाउँपालिकाले जनाएको छ ।
जिल्ला अस्पताल सल्यानका प्रमुख डा. अर्जुन वुढाले कर्णाली प्रदेश अस्पतालमा १० जनाको स्वाब परीक्षण गरिने भएकोले स्वाब सङ्कलनका लागि सल्यान जिल्ला अस्पतालको टोली दार्मा गाउँपालिमाको केन्द्र फारुलाचौर पुगेको बताउनुभयो । सल्यान जिल्ला अस्पतालमा दु्ई ना र लुहापिङ विद्यालयमा रहेका एक जनाको स्वाब परीक्षणका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको छ ।

अत्यावश्यकीय बस्तु किनमेलका लागि चार घन्टा समय खुकुलो


कोरोना भाइरस संक्रमण रोक्न १८ दिनदेखि लगाइएको लकडाउन (बन्दाबन्दी)ले दैनिक उपभोग्यबस्तु किनमेलमा समस्या देखिएपछि सुर्खेतमा केही खुकुलो बनाइएको छ । दैनिक अत्यावश्यकीय बस्तुहरु खाद्य पसल, तरकारी पसल, डेरी उद्योग र ग्यास डिलरमा बिहान र बेलुका गरी दैनिक चार घन्टा खुकुलो बनाइएको हो ।

गत मंगलवार सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको संयोजकत्वमा बसेको कोभिड २०१९ रोकथाम नियन्त्रण तथा व्यवस्थापन जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले दैनिक अत्यावश्यकीय खाद्य किनमेलका लागि उपभोक्ताहरुलाई सहज होस् भनेर बिहान ७ देखि ९ बजेसम्म र दिउँसो १ बजेदेखि ३ बजेसम्म समय तालिका व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले बैठकको निर्णय अनुसार तोकिएको समयभित्र उपभोक्ताले खाद्य पसल, तरकारी पसल, डेरी उद्योग र ग्यास डिलर सोही समयमा खरिद विक्री गर्न पाइने बताउनुभयो ।

त्यतिमात्र होइन किनमेल गर्न आउने ग्राहकलाई कम्तीमा तीन मिटरको दुरी कायम राख्न र पसलहरुलाई साबुनपानीको व्यवस्था गर्नुपर्ने जिम्मेवारी दिइएको छ । संघले आफूलाई अत्यावश्यक पर्ने सामानहरु तोकिएको समय तालिकाभित्र खरिद गरी, कहीं नभुली घर फर्कनसमेत आग्रह गरेको छ ।

यसैगरी खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनका लागि पनि ग्यास डिलर एशोसियशनले समय तालिका बनाएको छ । सुर्खेतमा रहेका भेरी, राप्ती, रेडियन्ट र मनकामना ग्यास बिक्री वितरणका लागि प्रत्येक दिन बिहान ७ देखि ९ बजेसम्म र दिउँसो १ बजेदेखि ३ बजेसम्म खुल्ला राख्ने निर्णय गरिएको छ । राप्ती ग्यासका अधिकृत बिक्रेता चन्दनारायण साहले यही अवधिभित्र उपभोक्ताहरुले ग्यास खरिद गर्न पाउने बताउनुभयो ।

दैनिक अत्यावश्यकीय बस्तु किनमेलका लागि बिहान र बेलुकाको दुई÷दुई घन्टाको समयको व्यवस्थापन गरेकोमा नागरिकले खुशी व्यक्त गरेका छन् । वीरेन्द्रनगर ४ का जमुना नेपालीले अत्यावश्यकीय सामान खरिदका लागि समय व्यवस्थापन गरेकोमा खुशी व्यक्त गर्नुभयो । तरकारी, दुध, ग्यास तथा दाल चामल खरिदका लागि अहिले मिलाइएको समयको सदुपयोग गर्न उहाँको सुझाव छ ।

दैनिक उपभोग्य बस्तुहरु किनमेलका लागि चार घन्टाको समय केही खुकुलो बनाइएपनि लक डाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गर्ने क्रम सुर्खेत प्रहरीले तीब्र पारेको छ । दैनिक दर्जनौं मोटरसाइकल र व्यक्तिहरुलाई पक्राउ गर्ने गरिएको छ । विहीवार मात्रै लकडाउन उल्लंघन गर्ने महिला र पुरुष गरी १३२ जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेकालाई साँझ सम्झाइ बुझाइ छाडिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?