logo
२०७७ श्रावण २२ बिहीवार

दुःखसँगै ‘शिक्षा’ बढाएपछि सुध्रियो अलैँची

प्रदेश |


2020-07-09-18116


इलाम, असार २५ गते ।  दशकअघि पूर्वी पहाडी क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत थियो अलैँची । कम लागतमा भिरालो बारीमा नै फल्ने भएपछि किसानले अलैँचीकै आम्दानीले घर खर्च चलाउनदेखि जग्गा–जमिन हत्याउनसम्म मद्दत ग¥यो अलैँचीले । तर एकाएक अलैँचीमा रोग देखापरेपछि धेरै किसानको रोजीरोटी गुम्यो भने धेरैको आम्दानीको बाटो बन्द भयो । अलैँची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर मन (४० किलो) कै लाखसम्म पनि पुग्यो ।

तालिम र विज्ञको सल्लाहबाट किसानले अलैँचीलाई सुधारेर पुरानै अवस्थामा पु¥याएका छन् । खेतीमा आधुनिकता घुसाएसँगै अलैँचीमा सुधार गरेर किसानले आम्दानी लिन थालेका छन् । अलैँची मासिएर निरास भएका समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको इलाम माइजोगमाई गाउँपालिकास्थित नयाँ बजारका किसान धर्म भट्टराई बताउनुहुन्छ ।

अलैँची रोप्ने र गोडमेल गर्ने तरिका जानेपछि त्यहीअनुसार खेती गर्दा अलैँचीबाट सफलता हात पर्न थालेको भट्टराई सुनाउनुहुन्छ । “पाखामा गाडेपछि एक चोटी फाँड्न र एक चोटी गोड्दा मात्र हुन्छ भन्ने लाग्थ्यो, तर स्याहार गर्न र मलसमेत लगाउन थालेपछि अलैँची सप्रिन थालेको छ”, भट्टराई भन्नुहुन्छ, “हामीले रोप्ने र गोड्ने ढाँचा नै परिवर्तन गरेपछि अलैँचीबाट फाइदा लिन सफल भइयो ।”

दशकअघि अलैँचीबाट उल्लेखीय आम्दानी लिइरहनुभएका भट्टराईले बगानै सखाप भएपछि अलैँचीको विकल्प खोज्नुसमेत भएको हो । तर विज्ञ र प्राविधिकले अलैँची लगाउँदा फाइदा लिन सकिन्छ भनेपछि उहाँले फेरि अलैँची रोप्न थाल्नुभयो । “अहिले प्रत्येक एक/एक र दुई/दुई महिनामा अलैँची गोड्ने काम गर्छु, यसो गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैँची सप्रिएको छ ।” भट्टराईका अनुसार निश्चित मात्रामा सिँचाइ, फाँड्ने र गोड्नेसँगै, गोठेमलको प्रयोग गर्न थालेपछि अलैँची सप्रिएको हो । त्यसो त प्रायः किसानले अलैँची परम्परागत प्रविधिबाट गरेकाले पनि अलैँची मासिएको हो । अलैँचीमा मात्रा मिलाएर मलजल र गोडमेल नभएकाले पनि फल दिन सकेको थिएन ।

रोपिएको बिरुवा पनि केही वर्ष टिक्ने अनि आफैँ मासिएर जाने, गानो कुहिने समस्या आएपछि अलैँचीबाट लामो समय आम्दानी लिन नसकिएको हो । तर पछिल्लो समय भने किसानले अलैँचीका लागि सङ्घसंस्था र विज्ञबाट रोप्ने शैली सिकेकाले रोग हटेको हो । रोप्ने र गोडमेल गर्न नै नजानेका कारण अलैँची मासिन पुगेको बेला आफूले पछि जानेको इलाम सन्दकपुर गाउँपालिकास्थित सुलुबुङकी किसान गीतादेवी समाल (लुङ्गेली) बताउनुहुन्छ ।

“घरेलु औषधि पनि प्रयोग थालेपछि अलैँची सुध्रिएको छ । अलैँचीलाई मलको प्रयोग महत्वपूर्ण हुनेरहेछ । जुन पहिले हामीले गरेका थिएनौंँ” समालले भन्नुभयो, “हामीले त अलैँचीबाट आम्दानी लिने दिन गएछ भनेर सोचेका थियौँ तर तालिम र परामर्शपछि अलैँची सुध्रियो ।” समालले तीन वर्षअघि लक्ष्मी लघुवित्तबाट दिइएको ‘आधुनिक कृषि’ सम्बन्धी तालिमबाट अलैँची खेतीका बारेमा जान्नुभएको थियो । त्यसपछि खेती गर्दा अलैँचीबाट आम्दानी लिन थालेको समाल बताउनुहुन्छ । “पहिले त कति पानी, कहिले खनजोत केही पत्तो थिएन ।” दशकअघिको खेती प्रविधि सम्झँदै समाल भन्नुहुन्छ, “हामीले जबर्जस्ती आम्दानी लिएका रहेछौँ, त्यतिबेला अलैँची त दुःख बेगरै फल्दोरहेछ ।” समालले प्रत्येक किसानले खेती गर्नुपूर्व तालिम र परामर्श लिनु आवश्यक रहेको बताउनुभयो ।

अज्ञानताले मासियो अलैँची

खेती प्रविधिमा ज्ञान नै नभएकाले अलैँची मासिएको कृषि विज्ञको भनाइ छ । अलैँचीलाई आवश्यक पर्ने भिटामिन, मलजल र गोडमेल नहुँदा मासिएको विज्ञहरू बताउँछन् । ‘रोपेपछि फल्छ’ भन्ने धारणाले पनि अलैँचीबाट लामो समय फाइदा लिन नसकेको कृषि विज्ञ योगेन्द्रमान श्रेष्ठ बताउनुहुन्छ ।

“अलैँची रोपाइँमा नै समस्या भएकाले राम्रो उत्पादन दिन नसकेको हो ।” श्रेष्ठ भन्नुहुन्छ, “अलैँचीलाई सुक्खा बारी आवश्यक चाहिन्छ । तर अहिले धेरैजसो किसानले बारीमा अलैँची लगाएकाले पानी बढी हुने हुनाले रोग लाग्ने गरेको हो ।” त्यसो त दीर्घकालीन फाइदा लिनका लागि रोगले नभेटेको बिरुवा छनोट गर्नुपर्ने र माटोअनुसार सिँचाइ र गोडमेल गर्नुपर्ने विज्ञहरूको सुझाव छ । मलखाद र अलैँचीमा लगाइने हतियार प्रयोगले पनि अलैँची मासिने गरेको अर्का कृषि विशेषज्ञ तथा सिनियर कषि परामर्शकर्ता शिव यान्डो श्रेष्ठ बताउनुहुन्छ । “हामीले सिँचाइमा एकदमै ध्यान पु¥याउनुपर्छ । सिँचाइ नमिलेमा गानो कुहिने रोग लाग्छ भने हतियार प्रयोग गर्दा पनि सङ्क्रमणरहित हतियार प्रयोग गर्नुपर्छ ।” श्रेष्ठ भन्नुहुन्छ, “बिरुवालाई पनि त उत्पादन गर्न खाद्यान्न चाहिन्छ । त्यो भएन भने मरिहाल्छ नि । त्यसैले खुकुलो माटो बनाउन र किरा मार्न औषधिको समेत प्रयोग चाहिन्छ ।”

अनुसन्धानकर्तासमेत रहनुभएका श्रेष्ठका अनुसार खेतीमा औषधि प्रयोग, मात्रा मिलाएर गरिएको सिँचाइ र गोडमेल गरेमा पहिलेको तुलनामा २५ प्रतिशतसम्म उत्पादन वृद्धि भएको देखिन्छ । गोठेमल र गहुँत प्रयोग पनि मात्रा मिलाएर लगाए उत्पादन वृद्धि हुने भन्दै श्रेष्ठले बारी, खनजोत, सिँचाइ मिलेमा पहिलेकै जस्तो उत्पादन लिन सकिनेसमेत बताउनुभयो ।

कसरी रोप्ने त अलैँची ?

श्रेष्ठका अनुसार अलैँची रोप्नका लागि एक महिनाअघि नै खानेको खाल्डो उपयुक्त हुन्छ भने विशेषगरी जेठको शुरुआतमा वर्षात् भएपछि लगाउँदा उचित हुन्छ । रोप्ने बिरुवालाई एक दिन अगाडि निकालेर औषधिमा डुबाएमा बिरुवा स्वस्थ हुने श्रेष्ठको भनाइ छ । “अलैँची बचाउन धेरै थोक चाहिँदैन, घरायसी वस्तुले पनि अलैँची स्वस्थ बनाउन सकिन्छ ।” उहाँका अनुसार त्यसरी रोपेको बिरुवाले टुसा धेरै दिने र फल दिन पनि योग्य हुने गर्दछ । गोडमेलमा ध्यान दिनुपर्ने र रोगाएको बिरुवा हटाउँदा बिरुवाले फल दिने गर्दछ ।

पराम्रागत भट्टीले घटाउँदैछ गुणस्तर

विज्ञहरूले अलैँचीलाई ‘अन्तर्राष्ट्रिय गुणस्तर’को बनाउन आधुनिक भट्टी प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । परापरागत भट्टीमा अलैँची डढ्ने वा नपाक्ने (एकनासको नहुने) र धुवाँ लाग्ने भएकाले आधुनिक भट्टी प्रयोग गर्नुपर्ने उनीहरू बताउँछन् । परम्परागत भट्टीमा सुकाएको अलैँची विश्वबजारमा धेरै लामो नबिक्ने हुनाले अलैँचीमा आधुनिक भट्टीकै प्रयोग गर्नु आवश्यक रहेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृका घिमिरे बताउनुहुन्छ ।

“युरोप, अमेरिकालगायत राष्ट्रमा आधुनिक भट्टीको धुवाँरहित अलैँची नै खोजिन्छ । थाइ मुलुकमा मात्रै हो परम्परागत भट्टीको अलैँची जाने”, घिमिरे भन्नुहुन्छ, “हामीले बारीबाट निकालेको केही महिनामै अलैँची विश्वबजार पुग्ने वातावरण मिलाएमा आधुनिक भट्टीको गुणस्तरीय अलैँची बेच्न सकिन्छ ।” यसो त अधिकांश किसानले पराम्परागत भट्टी नै प्रयो गर्छन् । प्रयोग गर्न सहज हुने भएकाले पनि पराम्परागत भट्टीले प्राथमिकता पाएको हो । तर आधुनिक भट्टी प्रयोगमा तत्काल नल्याए नेपालबाट जाने अलैँची बिक्न समस्या हुने बताउनुहुन्छ, कृषि परामर्शकर्ता श्रेष्ठ ।

“पराम्परागत भट्टीमा तापक्रम घटबढ हुन्छ भने ठुस्स गन्हाउँछ पनि”, श्रेष्ठ भन्नुहुन्छ, “लामो समय टिक्दैन पनि । तर आधुनिक भट्टीको भने गुणस्तर राम्रो हुन्छ र टिकाउ पनि हुन्छ ।” उहाँका अनुसार भारत हुँदै तेस्रो मुलुक जाने अलैँची भट्टीकै गुणस्तर पनि भारतको स्थानीय अलैँचीको तुलनामा कम गुणस्तरको छ । यसको प्रत्यक्ष असर भने अलैँचीको मूल्यमा पर्ने गरेको श्रेष्ठको भनाइ छ ।

चियाका लागि प्रदेशको १६ करोड ५० लाख बजेट

चिया क्षेत्रका लागि प्रदेश नं १ सरकारले रु १६ करोड ५० लाख रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को विनियोजित बजेटमा प्रदेशले नयाँ क्षेत्रको विस्तार, चियाको प्राङ्गरिक प्रमाणीकरण, तयारी चियाको विस्तार तथा प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको बजेट पुस्तिकामा जनाइएको छ । पुस्तिकामा प्रदेशको प्रमुख निर्यातयोग्य बाली रहेको जनाइएको छ । प्रदेशले सूर्योदय नगरपालिकास्थित फिक्कलमा निर्माणाधीन ‘चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र’ निर्माण सम्पन्न गरिने जनाइएको छ । सूर्योदय नगरपालिकाले तयार गरेको डिजाइन स्टिमेटमा अनुसन्धान केन्द्र भवनको अनुमानित निर्माण रकम रु २६ करोडभन्दा बढी छ ।

भवन निर्माणका लागि नगरले २० प्रतिशत र प्रदेश सरकारले ८० प्रतिशत बजेट विनियोजन गर्ने सहमति भएको छ । प्रदेशले छुट्याएको रकमको ठूलो हिस्सा भवनमा खर्च देखिएको छ । देशकै सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन हुने सूर्योदय नगरपालिकामा अनुसन्धान केन्द्र स्थापना गरिएपछि चियाको बजार प्रवद्र्धन गर्न सकिने बताइएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?