नयाँ सेतुका रूपमा वन्यजन्तु कूटनीति

मुख्य समाचार |


2019-09-18-1496



चाँदनी हमाल

काठमाडौँ, असोज १ गते । दुई देशबीचको सम्बन्धको नयाँ सेतुका रूपमा वन्यजन्तु संरक्षण कूटनीति उदाउँदै छ । वन्यजन्तु संरक्षण कूटनीतिमा रोकिएको यात्रालाई फेरि नेपालले नयाँ ढङ्गले अगाडि बढाउने अभ्यास थालेको छ ।
यस अभ्यासमार्फत नेपालले अन्य मुलुकसँग सहयोग र सम्बन्ध अगाडि बढाएको छ । असल सम्बन्ध कायम गर्न आफूसँग उपलब्ध वन्यजन्तु उपहार दिने र संरक्षणमा साझेदारी गरी सम्बन्ध दिगो बनाउने प्रयास भइरहेको छ ।
चीन र भारतजस्तो निकट मुलुकसँग मात्र हैन, पछिल्लो समय जल्दोबल्दो रूपमा अगाडि आएको संरक्षण र जलवायु परिवर्तनको अनुकूलनका लागि पनि विश्वका अनेक मुलुकसँग यस्तोे सम्बन्धको विकास गर्नुपर्नेमा कूटनीतिज्ञ
जोड दिन्छन् ।
राजनीतिक रूपबाट प्रधानमन्त्री केपी ओलीले भारत र चीनसँग छिमेकी सम्बन्ध प्रगाढ बनाउने प्रयास गरिरहनुभएको छ । वन्यजन्तु कूटनीतिले सम्बन्धलाई अझ प्रभावी बनाउँछ ।
हुन पनि चीनसँग मित्रताको आयाम व्यापक भएको छ । चीनले नेपाललाई मोनो रेलको सुविधासँगै समुद्रमा व्यापार पारवहनसँग जोड्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै सडकमार्ग निर्माण, व्यापार पारवहनका लागि सुक्खा बन्दगाह, जलविद्युत् परियोजना, विमानस्थल निर्माणमा समेत ठूलो स्तरको सहयोग मितेरी सम्बन्धकै लागि गरिरहेको छ । त्यसैगरी औद्योगिक क्षेत्र, यातायात, रेल, भूकम्पपछिको सांस्कृतिक पुनःनिर्माणलगायतका विविध क्षेत्रमा आर्थिक सहयोग आदानप्रदान भएको छ ।
उपहार आदानप्रदान
पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले प्राचीन चीनसँगको सम्बन्ध हेर्दा पनि नेपालका राजा र चीनका बादशाहबीच हरेक पाँच वर्षमा कोसेली आदानप्रदान हुने गरेको इतिहास सम्झाउनुभयो । प्रधानमन्त्री ओलीले नेपालका तर्फबाट मितेरी चिनोका रूपमा दुई जोडी अर्थात् चारवटा एकसिङे गैँडा गत वर्ष चीनलाई उपहार पठाउनुभयो । यो मित्रता फराकिलो बनाउने आयाम थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्र्देशक गोपालप्रकाश भट्टराईले भद्र र रूपसी अनि मितिनी र सोल्टिनी चीनलाई कोसेली दिइएको बताउनुभयो । नेपालको भन्दा राम्रो वातावरणमा चीनले नेपालको कोसेलीको स्याहार गरिरहेको उहाँले जानकारी दिनुभयो । चीन पठाउनुअघि कडा र नरम खालको विशेष तालिम यी चार गैँडालाई दिइएको थियो । हिंस्रक प्रवृत्तिबाट सरल बन्न गैँडालाई खाल्डोमा झन्डै दुई महिना लाग्ने जानकार बताउँछन् ।
“चीनसँगको सम्बन्ध इतिहासदेखि नै बढी सहयोगी रहेकाले पठाइएको गैँडा केही पाउने स्वार्थले पठाइएको हैन”, भट्टराईले भन्नुभयो, “वन्यजन्तु र जैविक विविधतामा हामी नेपालसँग सहकार्य गर्छौं भनेकैले त्यो सम्बन्धको सुरुआत गर्न गैँडा उपहार दिइएको हो । ” तर पनि नेपालसँग नभएका पाहुना प्रजाति चीनको बाटो हुँदै नेपाल ल्याउन सकिने आशा उहाँ राख्नुहुन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकारी नरेश सुवेदी यसरी गैँडा दिनु मितेरी साइनोको सम्बन्ध मात्र नभई नेपाली गाउँघरको चलनचल्तीमा रहेको अर्मपर्म र सरसापट माग्ने
चलनसँग जोडेर गरिएको काम सम्झनुहुन्छ ।
उहाँले थप्नुभयोे, “हामीलाई विकासको खाँचो छ । चीनसँग एकसिङे गैँडा छैन । यसरी एकअर्कासँग नभएको चिज साटफेर गरेजस्तै हो गैँडा उपहार । ” संरक्षणसँगै विश्वमा गैँडाको सङ्ख्या वृद्धि गर्ने कार्यक्रम यो उपहारसँग जोडिएको उहाँले बताउनुभयो ।
नेपालबाट सबैभन्दा बढी छवटा एकसिङे गैँडा लग्ने देश अमेरिका हो । यसको दुई वर्षअघि सन् १९८५ मा चारवटा गैँडा भारतको दुधवा नेसनल पार्कका लागि उपहार दिइएको थियो । छिमेकी मुलुक भारतलाई गैँडा उपहार दिएको ३३ वर्षपछि मितेरी सम्बन्ध गाढा बनाउन चीनलाई गैँडा उपहार दिइएको हो ।
चीन र भारतसँग सम्झौता
नेपालले चीनसँग वन्यजन्तु र जैविक विविधताको कूटनीतिक र संस्थागत सहकार्यको सुरुआत औपचारिक रूपमा सन् २०१० बाट सुरु गरेको हो । सो वर्ष नेपाल र चीनबीच वन्यजन्तु र जैविक विविधतासम्बन्धी सम्झौता भएपछि औपचारिक कूटनीतिक यात्रा अगाडि बढेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो, “सम्बन्ध हरेक पाँच वर्षमा पुनरवलोकन हुने गरी भएको हो । यस सम्झौताले वन्यजन्तुको संरक्षणसँगै अनधिकृत ओसारपसारमा रोकथाम गर्न सघाउँछ । ”
मत मिलाउने प्रयास
त्रिवेणीपारि केही महिनाअघि नेपालको गैँडा पुगेकामा फिर्ता ल्याउन उच्च तहको सहमति लिनुपर्ने भन्दै नेपालका संरक्षणकर्मीलाई प्रवेश दिइएन । यसरी गएको पाटे बाघ, गैँडालगायतका वन्यजन्तु नफर्केमा नेपालमा संरक्षित जनावरको सङ्ख्यामै असर पर्ने विभागले जनाएको छ ।
अवैध गतिविधि रोक्दै संरक्षणमा साझेदारी गर्न दुईदेशीय सम्झौता गर्ने तयारी भएको छ । तर सीमापार समस्या समाधान गर्ने विषयका केही मुद्दामा दुई देशको मत मिलाउने प्रयास भइरहेको छ । सम्झौताको दस्तावेज वन मन्त्रालयमा पुगे पनि
अघि बढ्न बाँकी रहेको प्रवक्ता सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
उपमहानिर्देशक गोपालप्रकाश भट्टराई भन्नुहुन्छ, “उति बेला दरबार र राजाले राखेको सम्बन्धका आधारमा थुप्रै वन्यजन्तु सम्बन्धको सेतु बने तर पछि त्यस सम्बन्धलाई अघि बढाउने आधार सन्धि सम्झौता मात्र बनेकाले कम सहकार्य भएको छ । ”
वन्यजन्तु र संरक्षण क्षेत्रको कूटनीतिक अभ्यासले जैविक विविधता र नेपालको एकमात्र सदर चिडियाखानामा वन्यजन्तुको प्रजाति वृद्धि गराउन सकिने चिडियाखाना प्रमुख चिरञ्जीवी पोखरेल बताउनुहुन्छ । “विश्वका धेरै जनावर नेपालीले देखेकै छैनन्, कूटनीतिक पहलबाट नेपाल ल्याउन सके दर्शकले राम्रो ज्ञान पाउँथे” पोखरेलले भन्नुभयो, “यसले विश्वमै जनावर लोप भएमा चिडियाखानाबाटै वंश विस्तारको आधार बन्छ । ”



 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?