logo
२०७८ असार १३ आईतवार

दैनिक अध्यावधिक

image
1353

सङ्क्रमित

image
3007

निको भएका

image
34

मृत्यु भएका

मिति:असार १३, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



एक विद्यार्थी एक रुख अभियान

शिक्षा |
प्रदेश |


एक विद्यार्थी एक रुख अभियान


महोत्तरी,असार १३ गते । कोरोना सन्त्रासले विद्यालय नखुलेको समयमा जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका विद्यार्थीले ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका छन् ।

चुरे संरक्षणको विषय र वनजङ्गलको कुरा जोडिएर जताततै बहस बढिरहेका बेला प्रत्येक विद्यार्थीले आफ्नो घरआँगनमा कमसेकम एउटा फलपूmलको बिरुवा रोपेर हुर्काउनै पर्ने ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका हुन् । विद्यार्थीको यो अभियानमा जनसहयोगी युवा सञ्जाल बर्दिबासले डिभिजन वन कार्यालय महोत्तरीसँग समन्वय गरेर फलफूलका बिरुवा उपलब्ध गराएको छ ।

असारको दोस्रो साता प्रारम्भसँगै पशुपतिनगरका प्रत्येकजसो घरआँगन र करेसाबारीमा सञ्चालन गरिएको यो अभियानअन्तर्गत पहिलो चरणमा ५०० बिरुवा रोपिएका छन् । अहिले आँप, लिचीलगायतका बिरुवा रोपिएका विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताउनुभयो । चुनौती बन्दै गएको चुरे र वन संरक्षणको मुद्दामा विद्यार्थीको यो अभियानसँगै नयाँ विषयले प्रवेश पाउने विद्यालय नजिकैका बासिन्दा तथा अभिभावक अमृतकुमार महतो बताउनुहुन्छ । “अभियानको अभिष्ट विद्यार्थीले एउटा बिरुवा रोपेर हुर्काउनुमा मात्र सीमित छैन”, विद्यालयको भौतिक र शैक्षिक अभियानमा जोडिँदै आउनुभएका महतोले भन्नुभयो, “जनजनलाई रुखबिरुवा र प्रकृति संरक्षणबारे सचेत र सजग गराउने पनि अभियानको उद्देश्य छ ।”

शैक्षिक, भौतिक अवस्था बिग्रँदै गएको विद्यालयमा गत वर्षको प्रारम्भदेखि नै महतोसहितका अभिभावकले विद्यालय केन्द्रित शैक्षिक जागरण सञ्चालन गर्दै आएका छन् । यस क्रममा विभिन्न निकायलाई घचघच्याएर भौतिक विकास गर्नेदेखि शिक्षक र अभिभावकलाई विद्यार्थीको पठनपाठन व्यवस्थापनमा जिम्मेवार बनाउने विषय समेटिएको छ । निरन्तरको प्रयत्नले अब विद्यालयको भवन, कक्षाकोठा, अन्य भौतिक पूर्वाधार (डेस्क, बेन्च, पुस्तकालय, कम्प्युटर कक्षा र सहायक शैक्षिक सामग्री) अब्बल बन्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजतन महतो बताउनुहुन्छ ।

विद्यालय परिसरमा जनसहयोगी युवा सञ्जाल बर्दिबासले गतवर्ष थालेको बालउद्यान निर्माणको काम पनि अब अन्तिम चरणमा पुगेको छ । विद्यालयको भौतिक व्यवस्थापनसँग जोडेर गतवर्ष थालिएको बालउद्यान निर्माण कार्यसँगै तयार भएका नयाँ भवन, खेल मैदान र विद्यालय परिसर प्रवेश गरेलगत्तै लहलहाउँदा हुर्कँदै गरेका बिरुवाले विद्यालयले जुनी फेरेको स्पष्ट देखिन थालिएको पशुपतिनगरकै सामाजिक, राजनीतिक कार्यकर्ता सुरजसिंह कुशवाहा बताउनुहुन्छ ।

‘युवाको एकता, देशको सफलता’ भन्ने नाराका साथ अहिले थालिएको ‘एक विद्यार्थी, एक रुख’ अभियान हरित अभियानकै एक अंश रहेको सञ्जालको निष्कर्ष छ । “हामी विद्यार्थीको मस्तिष्कमा अहिलेदेखि नै व्यावहारिकरूपमै प्रकृति र रुख बिरुवाप्रति प्रेम भर्न चाहान्छौँ”, अभियानको समन्वयकर्ता सञ्जालका गोविन्द महतो भन्नुहुन्छ, “यो अभियानमा विद्यार्थीको बिरुवा रोप्न, त्यसको स्याहार, सम्भार गर्न जिम्मेवारी जोडिएको हुँदा रुखबिरुवाको महत्वबारे उनीहरु अझ थप जिज्ञासु बन्नेछन् ।”

विद्यालयका विद्यार्थीको यो अभियानमा निरन्तर सहयोग रहने डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । “हामी विद्यार्थीलाई आवश्यक बिरुवा र प्राविधिक सल्लाह दिइरहनेछौँ”, डिभिजन प्रमुख विनोदकुमार सिंहले भन्नुभयो ।

बस्तीमा विद्यार्थीले थालेका यो अभियानबारे अभिभावकको सकारात्मक चासो बढेको छ । आफूले रोप्न लगेको बिरुवा रोप्न, मल हाल्न र घेराबेरा बनाउन अभिभावकले सहयोग गरेको विद्यार्थीले बताएका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?