शालिग्राम नेपाल
चितवन, असार १३ गते । भरतपुर महानगरपालिकाले पश्चिम चितवनको शारदानगरमा १५ शैयाको कोभिड अस्पताल स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
दुइ हप्ता अगाडि मात्रै पश्चिम चितवनको शिवनगरमा १५ शैयाको आफ्नै अस्पताल स्थापना गरेको थियो । शारदानगरमा रहेको स्वास्थ्य केन्द्रलाई स्तर वृद्धि गरी आफ्नै १५ शैयाको कोभिड अस्पताल स्थापना गरेको हो । अस्पतालमा आयोजित एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहालले अस्पतालको उद्घाटन गर्नुभयो ।
पश्चिम चितवनको केन्द्र समेत पर्ने भरतपुर महानगर १९ को शारदानगरमा महानगरले आफ्नै अस्पताल स्थापना गर्न पाउँदा निकै खुसी लागेको महानगरका प्रमुख दाहालले बताउनुभयो । अहिले चार जना डाक्टर र अन्य स्टाफ नर्स र अरु कर्मचारीहरूबाट यहाँ सेवा दिन थालिएको छ ।
अहिले कोरोना अस्पतालका रुपमा स्थापना गरे पनि यो अस्पताल महानगरले स्थायी अस्पतालका रुपमा विकास गर्ने र यसले पश्चिम चितवनका स्थानीयलाई धेरै लाभ हुने दाहालको भनाइ छ ।
स्वास्थ्य केन्द्रको परिसरमा रहेको ५४ सालमा निर्माण भएको पूरानो भवनमा अहिले अस्पताल सञ्चालन गरिएको छ । आगामी दिनमा भौतिक संरचना निर्माणका लागि केन्द्र सरकारसंग पनि आफूहरुले पहल गर्ने र यो अस्पताललाई सबै हिसावले सुविधा सम्पन्न बनाएर लैजाने प्रमुख दाहालले बताउनुभयो । शिवनगरमा पनि १५ बेडको अस्पताल स्थापना भएको र अहिले कोरोना संक्रमित १४ जनाले त्यहाँ सेवा लिइरहेको दाहालको भनाइ थियो ।