logo
२०७७ असोज ६ मंगलवार

मनाइएन एकल घोडेजात्राः कानो हैन रक्स्याहा

राष्ट्रिय |
समाज |


2020-03-24-10758
फाइल फाेटाे - ललितपुरमा मनाइने घोडेजात्रा


सुभानु आचार्य

ललितपुर,  चैत ११ गते । चैत कृष्ण औँसी घोडेजात्रा पर्वका दिन पाटनमा आज घोडेजात्रा पर्व मनाइएन । मुलुक कोभिड–१९ को उच्च जोखिम रहेकाले सरकारले आजदेखि लकडाउनको घोषणा गरेसँगै पाटनमा उक्त जात्रा नमनाइएको हो ।    

सोमबार पाटन दरवार क्षेत्र परिसरमा अवस्थित भीमसेन मन्दिरमा पूजा गरी जात्रा नगर्ने निर्णय गरिएको बलखुटोल भीमसेन गुठी च्यो खलः का अध्यक्ष शङ्कर महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले लकडाउनको घोषणा गरेसँगै देशमा अघि बढेको सङ्कटलाई ध्यानमा राखी यस वर्ष घोडेजात्रा पर्व मनाएनौँ ।”    

विगत वर्षमा मङ्गलबजारबाट शुरु गरी बलखुटोल, च्यासल, भोल गणेश हुँदै बालकुमारी मन्दिर वरपर तीन पटक परिक्रमा गरी घोडा घुमाउने चलन रहेको महर्जनले जानकारी दिनुभयो । यसअघि भनिँदै आएको कानो घोडा कुदाउने नभई नेपाली सेना क्याभलरी शाखाबाट ल्याइएको दुवै सद्दे आँखा भएकै घोडालाई रक्सी खुवाएर नगर परिक्रमा गरिने महानगरवासीले बताए ।    
यो जात्रा मनाउनाको किंवदन्ती काठमाडौंँ इटुबहालबाट शुरु हुन्छः इटुबहालका एक व्यापारी केशचन्द्र सारै जुवाडे थिए ।

उनले जुवामा सबै सम्पत्ति हारे । एक दिन उनी दिदीको घर गए । दिदीले उनलाई भाइ आयो भनी मीठा परिकार सुनको थालमा खान दिइन् । केशचन्द्र फटाफट खाना खाएर थाल बोकी जुवा खेल्न हिँडे । उनले सुनको थाल जुवामा हारे । फेरि दिदीको घर गए । दिदीले सो पटक चाँदीको थालमा खाना खान दिइन् । केशचन्द्र खाना खाएर त्यो थाल पनि बोकी जुवा खेल्न फेरि हिँडे । उनले चाँँदीको थाल पनि हारे । फेरि तेस्रो पटक दिदीको घर गए ।

दिदीले विभिन्न परिकार पकाएर भुइँमा पस्किन् । दिदीले भुइँमा खाना खान दिएको देखेर केशचन्द्र खाना नखाई कपडामा पोको पारेर फाल्न हिँडे । बाटामा स्वयम्भू आएपछि उनी थकाइ लागेर एक रुखमुनि बस्दाबस्दै निदाए । उनी निदाएपछि रुखका परेवाले त्यो पोको खोलेर सबै भात खाए । केशचन्द्र उठेपछि ती परेवाले उनका अगाडि सुनका फूल खसाले । ओहो “यति धेरै सुनका फूल” भनी केशचन्द्रले टिप्न खोज्दा उठाउन सकेनन् ।    

त्यसैबेला केशचन्द्रले एक ‘गुरुमापा’ नामक राक्षस आएको देखे । गुरुमापाले केशचन्द्रलाई खाने कुरा ग¥यो । केशचन्द्र ज्यादै बाठो भएकाले उसलाई आफ्नो घर जान फकाए । केशचन्द्रले “ घर गएपछि एउटा सिङ्गो राँगो र तीन मुरी चामलको भात दिन्छु” भने । राक्षस उनको पछिपछि आयो । केशचन्द्रले एउटा राँगो र तीन मुरी चामलको भात दिएपछि खाई गुरुमापा तीन दिनसम्म निदायो । फेरि उसले तीन दिनपछि त्यत्ति नै खानेकुरा माग्यो । केशचन्द्रले दिए ।

गुरुमापा खाएर निदायो । यसैगरी अर्काे तीन दिनमा उठेर उसले फेरि खान माग्दा गाउँलेले थाहा पाए । आफू र बालबालिकालाई जोखिम रहेको देखी केशचन्द्रलाई राक्षस अन्तै लान आग्रह गरे । केशचन्द्रले राक्षसलाई टुँडिखेलको खरीका रुखमा लगेर लुकाएर राखे । यो कुरा चूडामणि बन्धुद्वारा लिखित ‘घोडेजात्रा’ कृतिमा उल्लेख छ ।    

यसपछि गुरुमापाले शहर पसी दुःख दिन थाल्यो । दुःख दिँदै जाने क्रममा त्यससलाई घोडाको टापले मार्ने कुरा अघि बढ्यो । एक दिन गुरुमापा खाएर निदाएको बेला घोडाको टापले कुल्चिएर मुर्छा पारी टुकुचामा लगेर गाडियो । त्यस बेलादेखि गुरुमापा जीवित नै छ भन्ने कुरा काठमाडौंँ र पाटनका नेवारवासीमा विश्वास रहेको ७२ वर्षी सूर्यमान डङ्गोलले जानकारी दिनुभयो ।

“यो जीवित रहेको राक्षस पुनः आएर दुःख देला भनी प्रत्येक वर्ष काठमाडौंँमा घोडेजात्रा मनाउँदै जाने क्रममा ललितपुरवासीले पनि मनोरञ्जनका लागि एकल घोडा घुमाउने गरेका हुन्”, डङ्गोलले भन्नुभयो, “नेपाल संवत् ५८० तथा विसं १५१६ मा अमर मल्लका पालादेखि ललितपुरमा घोडा घुमाउने परम्परा रहेको हो ।”    

नगर परिक्रमापछि घोडा चढ्ने व्यक्तिलाई बालकुमारी मन्दिरको दायाँ राखेर पानसुपारी दिई बिदावारी गरी जात्रा समापन गरिन्थ्यो । उक्त एकल घोडा घुमाउने चलन पाटनमा मात्र थियो । सिंहदरबारको नेपाली सेना क्याभलरी शाखाबाट घोडा ल्याउने चलन रहेको घोडेजात्रा गुठीका सल्लाहकार बाबुकाजी महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडांैँ उपत्यकामा जस्तो पाटनमा सामूहिक रुपमा घोडा दौडाएर जात्रा गर्ने परम्परा यहाँ रहेको थिएन ।”    

पाटनको बलखुटोलमा मनाइने उक्त घोडेजात्रामा मङ्गलबजारको मूलचोकमा केहीबेर घोडा राखी त्यसपछि बलखुटोलको खम्बामा बाँधेर पूजाआजा गरेपछि घुमाउने चलन थियो । आजकै दिन पाटनको बालकुमारीको जात्रा पनि हुने गथ्र्यो । यो जात्रा पनि नमनाइएको पाटनका महर्जनले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?