• १५ जेठ २०८१, मङ्गलबार

सहिद परिवार र घाइतेलक्षित घुम्ती कोष परिचालन गरिएको छ

blog

गणेशकुमार केसी अध्यक्ष, त्रिवेणी गाउँपालिका

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका जाजरकोट भूकम्पले प्रभावित क्षेत्र हो । भूकम्पपछिको उद्धार, राहत, अस्थायी आवास निर्माणपछि पुनर्निर्माणका लागि कसरी अघि बढ्ने भन्ने विषय पालिकाको चुनौतीका रूपमा रहेको छ । त्रिवेणी गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित गणेशकुमार केसी हुनुहुन्छ । प्रस्तुत छ, अध्यक्ष केसीसँग गोरखापत्रका रुकुमपश्चिम मुसीकोट समाचारदाता राजु लामिछानेले गर्नुभएको कुराकानी : 

भूकम्पले तपाईंको पालिकामा के कति क्षति गरेको छ ? 

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले मानवीय क्षति नभए पनि भौतिक क्षति भएको छ । भूकम्पबाट यहाँका चार हजार नौ सय घरमा क्षति पुगेको छ । दुई हजार एक सय शौचालय र दुई हजार तीन सय वटा गोठ भत्किएका छन् । भूकम्पकै कारण ३९ वटा विद्यालय भवन चर्किएका छन् । पाँच वटा स्वास्थ्य चौकीमा क्षति पुगेको छ । भूकम्पले पुर्‍याएको भौतिक क्षतिको पुनर्निर्माणका लागि पालिकाले पहिलो प्राथमिकतासमेत दिएको छ ।

अस्थायी आवास र पुनर्बासको योजना के छ ?

भूकम्पपपछि लाभग्राही कायम गरेर पठाएका र जिल्ला विपत् व्यवस्थापन समितिबाट अस्थायी आवास निर्माणको पहिलो किस्ताको रकम पाएका अधिकांशले अस्थायी आवास बनाइसकेका छन् । अब दोस्रो किस्ताको काम सुरु भएको छ । पुनर्बासको सन्दर्भमा सङ्घीय सरकारबाट पुनर्निर्माण कार्यविधि र बजेटको आशामा बसेका छौँ । कतिपयले आफैँ पनि घर बनाउन सुरु गरिसकेका छन् । अधिकांश प्रभावित सरकारको कार्यविधि र सहयोगको पर्खाइमा छन् । 

तपाईं निर्वाचित भएपछि भएका उल्लेखनीय उपलब्धि के के छन् ?

हामीले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छौँ । विद्यालयका सबै अस्थायी दरबन्दीमा गाउँपालिकाको अनुदानमा शिक्षकको व्यवस्था गरेका छौँ । विद्यालयलाई टिनको छानामुक्त गर्ने अभियान अन्तर्गत २९ वटा नयाँ पक्की भवन निर्माण भएका छन् । यो अभियानले सार्थकता पाएको छ । विद्यालयमा पक्की शौचालय बनाएका छौँ । एउटा स्वास्थ्य चौकी भवन र चार वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन् । गाउँपालिकाको प्रशासकीय भवन र स्वास्थ्य भवन निर्माणाधीन छन् । सबै वडामा केन्द्रीय विद्युत् लाइन पुर्‍याएका छौँ  । सबै वडालाई सडक सञ्जालमा जोडेका छौँ  । आधारभूत रूपमा ९० प्रतिशत जनतालाई खानेपानीको सुविधा पुगेको छ । लक्षित वर्गलाई प्राथमिकतामा राखी योजनाको प्राथमिकीकरण गरेर काम गरिरहेका छौँ  ।

त्रिवेणी गाउँपालिका विगतको सशस्त्र जनयुद्धबाट पनि बढी प्रभावित क्षेत्र हो । द्वन्द्वकै जगमा बनेको यहाँको स्थानीय सरकारले द्वन्द्वपीडितको सवालमा के कसरी काम गरिरहेको छ ? 

झुल्नेटा बजारनजिक रहेको ‘धुमभिर’ मा १३ करोड रुपियाँको लगानीमा जनयुद्ध सङ्ग्रहालय बनाउन सुरु गरेका छौँ । यसका साथै वडा नं. १, ४, ५, ७, ८ र १० मा सहिद पार्क निर्माण गरेका छौँ । वडा नं. ४ मा सहिदको सालिक निर्माण गर्दै छौँ । यी कार्यले सहिदको योगदानलाई सदा सम्मानित बनाउने आशा गरेका छौँ । यहाँका सबै सहिदलाई सरकारले राष्ट्रिय सहिद घोषणा गरेको छ । विगतमा राज्यले प्रतिसहिद परिवार १० लाख रुपियाँका दरले राहत दिइसकेको छ । गत वर्षदेखि हामीले कर्णाली प्रदेश सरकारको सहयोगमा सहिद परिवार र घाइतेलाई मासिक दुई हजार रुपियाँ उपलब्ध गराउन थालेका छौँ । हामीले सहिद परिवार र घाइतेलाई लक्ष्य गरी ९९ लाख रुपियाँको घुम्ती कोष बनाएर परिचालन गरेका छौँ । विगतमा नमुना बस्ती कार्यक्रम सुरु गरिएको खारालगायतका क्षेत्रलाई लक्ष्य गरी त्रिवेणी चक्रपथ योजना विस्तार गर्ने योजना तय गरेका छौँ  । घाइते तथा सहिद परिवारको सम्मान, उपचारमा सहजीकरणलगायतका कामलाई प्राथमिकता पनि दिएका छौँ । 

गाउँपालिकाले भोगिरहेका चुनौती र समाधानका योजना के छन् ? 

हामीले यहाँको भौगोलिक विकटतासँगै योजनामा आवश्यक बजेट अभावलाई खेपिरहेका छौँ । जनताका माग र आशा बढी छन् । सबैलाई एकसाथ पूरा गर्न स्रोतसाधन अभाव छ । उत्पादनमार्फत आर्थिक समृिद्ध हासिल गर्नलाई उपयुक्त बजारको अभाव छ । विकासमा चेतनास्तर समान हुन सकिरहेका छैन । बेला बेलामा आउने महामारी तथा विपत्ले क्रमिक विकासको कामलाई अवरुद्ध गर्ने गरेका छन् । यी तमाम चुनौती चिर्दै माग भएका योजनाको प्राथमिकीरण गर्ने, उत्पादनलाई बजारीकरणसँग जोड्ने, सकारात्मक सोच र विकास योजनाप्रति अपनत्व बढाउने योजना बनाउन आवश्यक छ । स्थानीय सरकारलाई घरआँगनको सरकारका रूपमा अनुभूति दिलाउन लागिपरेका छौँ । 

विकास योजना र बजेटको सवालमा तीन तहका सरकारबिचमा कत्तिको समन्वय हुन्छ ? 

हाम्रो तहबाट आवश्यकता अनुसार समन्वय गरिरहेका छौँ । विकासका काममा दोहोरोपन हुन पाएको छैन । ठुला योजना सञ्चालनमा माथिल्ला सरकारकै भर पर्नुपर्ने अवस्था छ । प्रदेश र सङ्घीय सरकारसँग हामीले निरन्तर सहकार्य र समन्वय गरेर काम गरिरहेका छाँै । 

गाउँपालिकामा अबका प्राथमिकता के के छन् ? 

गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा बढी लगाव छ । कृषिमा आधुनिकीकरण र स्वरोजगारीलाई प्राथमिकता दिएका छौँ । वडास्तरका सबै टोलमा खोलिएका सडक ग्राभेल गर्ने सोच छ । गाउँका सबै कुनामा विद्युत् सेवा विस्तार हुने छन् । हाम्रो पालिकामा निर्माण भएकोे चिस्यान केन्द्र र अदुवा प्रशोधन उद्योग सञ्चालन गरेर उत्पादनको बजारीकरणमा सहयोग गर्ने छौँ । विद्यालयलाई टिनका छानामुक्त र छानामुक्त जनताका घरलाई खरका छानामुक्त बनाउने अभियान अन्तिम चरणमा रहेकाले चाँडै पूरा गर्ने छौँ ।