• २ असार २०८१, आइतबार

सिँचाइमा विद्युतीकरण थालिएको छ

blog

कोशी प्रदेश अन्तर्गत सुनसरीका १२ स्थानीय तहमध्ये देवानगन्ज गाउँपालिका पनि एक हो । यस गाउँपालिका अन्तर्गत सात वटा वडा छन् । गाउँपालिकामा मेहता (कुशवाहा), यादव, मुसलमान, गडेरी, मुसहर, उराँव, धानुक, मलाह, बाँतर, तत्मा, पासवान, सुडी, थारू, तेली, नेवारलगायत करिब ४५ जातजातिको बसोबास छ । नेपालमा सबैभन्दा बढी मेहता (कुशवाहा) जातिको जनसङ्ख्या रहेको स्थानीय तहमध्ये यो एक हो । यो गाउँपालिकामा १० वटा भाषाभाषी बोलिन्छ । यो गाउँपालिका र छिमेकी देश भारतबिच ‘रोटीबेटी’ को असल सम्बन्ध रहे पनि खुला सीमानाका कारण केही प्रतिकूलता छन् । पछिल्लो निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित बेचनप्रसाद मेहतासँग गोरखापत्रका इनरुवा समाचारदाता जयकृष्ण यादवले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :

गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको करिब दुई वर्ष भयो । यो कार्यकाललाई तपाईंले कसरी मूल्याङ्कन गर्नुहुन्छ ? 

हामीले निर्वाचित भएर आएको दिनदेखि नै मतदाता, नागरिकसँग गरेको प्रतिबद्धता अनुसार काम गर्दै छौँ । गाउँपालिकामा कृषिका लागि उर्वरभूमि भएर पनि किसानले सिँचाइको अभाव झेल्नु परिरहेको छ । यसैलाई ध्यानमा राखेर सिँचाइको समस्या सधैँका लागि समाधान गरी कृषि क्षेत्रको क्रान्तिकारी रूपान्तरणका लागि काम थालेका छौँ । यसका लागि नेपाल विद्युत् प्राधिकरण र देवानगन्ज गाउँपालिकाको साझेदारीमा आर्थिक वर्ष २०७९/८० मा सुरु भई आव २०८१/८२ मा सम्पन्न हुने गरी करिब २५ करोड रुपियाँ लागतमा सिँचाइका लागि विद्युतीकरण आयोजना सञ्चालन भइरहेको छ । चालु आवमा मात्रै ३२४ किसानलाई विद्युुत् सिँचाइ मोटर वितरण गरिएको छ । 

तत्कालका लागि सिँचाइका लागि विद्युतीकरणसहित स्यालो ट्युबेल जडान गर्ने काम र पहिलादेखि अलपत्र डिप ट्युबेलमा पम्प जडान गरेर सञ्चालन गरेका छौँ । किसानका लागि उन्नत जातको तरकारीको बीज, धान, गहुँ र मकैलगायतका बिउबिजन वितरण गर्दै आएका छौँ । देवानगन्ज–२ मा १० श-याको अस्पताल निर्माण अन्तिम चरणमा पु-याइएको छ । विद्यालयमा शैक्षिक गुणस्तरका लागि भौतिक पूर्वाधार निर्माण, अनुगमन र शिक्षकको आन्तरिक सरुवाको काम, युवा स्वरोजगार कार्यक्रम, सडक बाटो विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । सीमावर्ती गाउँपालिका भएकाले भारतसँग सीमा जोडिएको बाटोमा कालोपत्रेसहितका आठ वटा परियोजना प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । 

स्थानीयवासीको स्वास्थ्य अवस्था र शिक्षामा सुधार गर्न के के काम गर्नुभएको छ ?

हामी नेतृत्वमा आएदेखि नै स्वास्थ्य चौकीमा नियमित सेवा सुरु गरी सरकारबाट उपलब्ध हुने औषधी निःशुल्क वितरण गर्ने कार्यलाई प्रभावकारी बनाएका छौँ । सात वटै वडाको स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाइमा जनशक्ति व्यवस्थापन गरिएको छ । गाउँमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर तीन जना जनशक्तिसहित सेवा सञ्चालन गरिएको छ । सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधारमा सुधार गर्नुका साथै नियमित पठनपाठनका लागि विद्यालयको नियमित अनुगमन गरिँदै आएको छ । यसबाहेक विद्यार्थीसँग अध्यक्ष कार्यक्रम चलाएर भेटघाट र समस्या बुझ्ने काम गरेको छु । केही सामुदायिक विद्यालयमा अङ्गे्रजी माध्यमबाट पठनपाठन सुरु गरिएको र नयाँ शैक्षिक सत्रबाट थप पाँच विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने तयारी भएको छ । 

भौतिक पूर्वाधार विकासका क्षेत्रमा के काम गर्नुभएको छ ?

हामी निर्वाचित भएर आएपछि  देवानगन्ज–१ वडा कार्यालय भवन निर्माण गरेका छौँ । पालिकाभित्रका आठ वटा विद्यालय भवन निर्माण भएका छन् । सात वटै वडामा गरेर आठ किलोमिटर सडक कालोपत्रे भएको छ । पहिलो वर्षमा १० करोड रुपियाँ लगानीमा प्रत्येक किसानको खेतमा पुग्ने गरी तीन वटा वडामा विद्युतीकरणको काम भएको छ । देवानगन्जको विभिन्न वडामा १५ किलोमिटर ग्राभेल सडक निर्माण पूरा गरेका छौँ ।  

तपाईंले गर्व गर्नलायकका के के काम गर्नुभयो । 

मैले कृषि क्षेत्रको विकासका लागि गरेको काम साँच्चै गर्व गर्नलायक छ । विगतमा भूमिगत पम्पसेटको माध्यमबाट सिँचाइ गर्दा किसानले प्रतिघण्टा तीन सयदेखि चार सय रुपियाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो । 

अहिले हामीले थालेको विद्युतीकरणका कारण किसानले प्रतिघण्टा २० देखि ३० रुपियाँमा सिँचाइ गर्न पाएका छन् । यसबाट किसानले निकै राहत महसुस गरेका छन् । मेरो प्रमुख प्राथमिकतामा कृषि, शिक्षा, स्वास्थ्य, कृषिमा आधारित युवा स्वरोजगार, मानवीय विकास हुन् । त्यस्तै किसानका लागि शीतभण्डार (कोल्ड स्टोर) निर्माण कार्यको सुरुवात भइसकेको छ । पालिकाका कामकारबाही पारदर्शी बनाउन समय समयमा सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण कार्यव्रmमको माध्यमबाट पृष्ठपोषण लिने र सूचना अनलाइनका माध्यमबाट सार्वजनिक गर्दै आएका छौँ । हामी आएदेखि सुशासनको प्रत्याभूति दिनकै लागि पालिका बैठकको निर्णय सार्वजनिक गर्ने गरेका छौँ । प्रत्येक वडा र स्वास्थ्य चौकी तथा विद्यालयमा ई हाजिरीको व्यवस्थासहित सिसिटिभीका माध्यमबाट गाउँपालिकाबाटै निगरानी गर्दै आएका छौँ । यसबाट अनुशासन कायम गर्ने काम भएको छ । 

पालिकामा विकासका के कस्ता चुनौती देखिएका छन् ? 

काम गर्ने क्राममा नागरिकको साथ र सहयोग पूर्ण रूपमा रहे पनि दलगत व्यवस्था भएकाले हाम्रो समाजमा राम्रो कामको पनि विरोध गर्ने संस्कार नै बसिसकेको छ । सडक विस्तार गर्दा सुकुमवासीको नाममा हुकुमवासी बाधक रहेको र बजार व्यवस्थापन गर्ने काममा विभिन्न किसिमबाट दलले बाधा अवरोध गर्ने गरेका छन् । शैक्षिक सुधार गर्ने र सिकाइ आदानप्रदानका लागि शिक्षकको गाउँपालिकाभित्रैको एक विद्यालयबाट अर्को विद्यालयमा आन्तरिक सरुवा गर्दा पनि कुनै पार्टीले झन्डा नै बोकेर विरोध जनाएको अवस्था छ । यी र यस्तै कामले केही चुनौती देखिएका छन् तर हामीले जनताको कामका लागि बाधा अवरोध चिर्दै अगाडि बढ्दै छौँ । 

पालिकाका लागि सङ्घ र प्रदेश सरकारबाट के कस्तो सहयोग पाउनुभएको छ ? 

सङ्घ र प्रदेशबाट पाउने अपेक्षा अनुसारको सहयोग नपाए पनि विद्यालय भवन र अस्पताल निर्माण तथा विद्युतीकरणमा सहयोग र सुविधा पाएका छौँ । 

अब बाँकी अवधिमा के कस्ता काम गर्ने योजना छ ? 

बाँकी अवधिमा निर्माणाधीन अस्पताल सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरी शैक्षिक गुणस्तरमा सुधार गरिने छ । वडा कार्यालयको भवन निर्माण सम्पन्न गर्ने, विद्युतीय सिँचाइ बढाउने र कृषि उत्पादनको बिव्रmीवितरणका लागि बजार व्यवस्थापनलाई आउँदा वर्षमा प्राथमिकतामा राखेर काम गर्ने छौँ ।