• २ असार २०८१, आइतबार

औषधी नपाउने अवस्थाको अन्त्य गरेका छौँ

blog

टोपबहादुर बिसी अध्यक्ष, गुराँस गाउँपालिका

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकासँग भौगोलिक सीमा जोडिएको गुराँस गाउँपालिकामा साबिकका वराह, सेरी, गोगनपानी, पिलाडी, लालीकाँडा गाउँ विकास समितिलाई सामेल गरिएको छ । व्यावसायिक आलु तथा तरकारी उत्पादनका लागि गुराँस गाउँपालिका प्रख्यात छ । हिउँदको समयमा गुराँस फुलेर पालिकाका अधिकांश स्थान ढकमक्क हुन्छन् । यस पालिकाबाट नेपालगन्जका दृश्यसमेत देखिने भएकाले दृश्यावलोकनका लागि पर्यटक आउने गर्छन् । पालिकाको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का टोपबहादुर बिसी हुनुहुन्छ । प्रस्तुत छ, अध्यक्ष बिसीसँग गोरखापत्रका दैलेख समाचारदाता कमल शर्माले गर्नुभएको कुराकानी :

  दुई वर्षको यस कार्यावधिमा उल्लेखनीय के के काम गर्नुभयो ? 

स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । स्थानीय सरकारसँग नागरिकका असीमित आशा छन् । हामीले नागरिकको चाहना र निर्वाचनको समयमा जनताका बिचमा गरेको प्रतिबद्धता अनुसार काम गरिरहेको छौँ । खास गरी गाउँपालिकाका कामलाई सुशासनमैत्री बनाउने, जनमुखी प्रशासन सञ्चालन गर्ने र भौतिक, सामाजिक तथा आर्थिक विकाससँग सम्बन्धित काम हामीले गरिरहेका छौँ । हामी निर्वाचन भएको करिब दुई वर्ष पुग्न लाग्यो । यो समयमा पहिलो वर्ष हामीले स्थानीय सरकार सञ्चालन, आधारभूत आवश्यकताको पहिचान र कर्मचारी व्यवस्थापन र नागरिकलाई प्रभावकारी सेवा कसरी दिन सकिन्छ भन्नेमा नै रह्यो । तथापि, गाउँपालिकाको केन्द्रबाट सेवा प्रवाह गर्न कठिन अवस्थामा नागरिकलाई घरदैलोमै सेवा दिने सामाजिक सुरक्षा भत्ता घरदैलोमा वितरण, योजना सम्झौता, स्वास्थ्य शिविर र गाउँपालिकाले गर्ने हरेक कामको समीक्षा वडामै गएर गर्ने कामको सुरुवात ग¥यौँ । निर्वाचित हुनासाथ पहिलो वर्ष कर्मचारी एवं कार्यालय व्यवस्थापनको विषयलाई बहाना बनाएर निरन्तर कार्यालय घेराउ, आक्रमण, तोडफोड र हामीमाथि भएको साङ्घातिक हमलाका कारण गुराँस गाउँपालिकामा गोली नै चल्यो । त्यसका बाबजुद हामीले छ महिनासम्म राम्रोसँग काम गर्न सकेनौँ । गाउँपालिकामा माथि तोडफोड गर्नेलाई कारबाही नगरी अदालत पुग्यौँ र अदालतबाट गाउँपालिकाले गरेको निर्णयलाई नै सदर गरेपछि विवाद समाधान भयो । 

 करार कर्मचारी हटाएपछि आन्दोलनसमेत भयो । गोलीसम्म चल्यो । अहिले गाउँपालिकामा करार कर्मचारी राख्नुभएको छ वा छैन ?

गाउँपालिकामा कार्यरत करार कर्मचारी र तत्कालीन जिल्ला विकास समितिबाट खटाएका कर्मचारीको करार सम्झौता नवीकरण नगरेका कारण आन्दोलन भएको थियो । त्यसलाई राजनीतिकरणसमेत गरियो तर अवस्था फरक थियो । सेवा करारमा कर्मचारी राख्न नपाउने होइन । हाम्रो आन्तरिक आम्दानीको अवस्था हेरेर पालिकाले कार्यालय र कर्मचारीको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण गरेर मात्र सेवा करारमा कर्मचारी राख्नुपर्ने हो । त्यो पनि प्रतिस्पर्धाको आधारमा तर हाम्रोमा पहिला यी मैले भनेका कुनै काम भएका थिएनन् । अहिले हामीले पनि सेवा करारमा कर्मचारी राखेका छौँ । ओएनएम सर्वेक्षण गरेर, प्रतिस्पर्धाका आधारमा र कार्यालयमा आवश्यकताका आधारमा मात्र राखेका छौँ ।    

 पूर्वाधारको क्षेत्रमा गाउँपालिकाले के के काम गरेको छ ? 

पूर्वाधारको क्षेत्रमा गाउँपालिकाले दुई वर्षमा धेरै काम गरेको छ । नागरिकलाई सेवा दिनसमेत कठिन भएको अवस्थामा हामी निर्वाचित भएपछि नयाँ सुविधासम्पन्न भवन निर्माण गरी गाउँपालिकाको सेवा दिएका छौँ । साथै चार वटा वडा कार्यलयका भवन निर्माण गरेका छौँ । त्योसँगै गाउँपालिकाका विद्यालयको पुनर्निर्माण सबै वडामा पुग्ने सडक मर्मतलगायत काम गरेका छौँ । हाम्रो पालिकाका सबै वडामा सडक पुगेको अवस्था छ । नयाँ ट्र्याक खोल्नुपर्ने छैन । हामीले सडक मर्मतका नाममा बर्सेनि एक करोडभन्दा बढी खर्च गर्नुपर्ने अवस्था भएका कारण हामीले गाउँपालिका आफैँले सडकको मर्मत गर्नका लागि आवश्यक पर्ने डोजर लोडर खरिद गरेका छौँ । 

 कृषिका लागि उपयुक्त स्थान गुराँस हो । गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि के काम गरिरहेको छ ?

हाम्रो प्रमुख पेसा कृषि हो । कृषि पेसालाई व्यवस्थित गरेको खण्डमा मात्र आयआर्जन गर्न सकिन्छ भन्ने मूल उद्देश्य राखेर गुराँस गाउँपालिकाले चालु आर्थिक वर्षमा धेरै बजेट कृषि क्षेत्रमा विनियोजन गरेका थियौँ  । अहिले गाउँपालिकाका कृषि र पशु शाखाले व्यावसायिक रूपमा कृषि तथा पशुपालन फार्म सञ्चालन गरिरहेका छन् । अहिले तपाईं गाउँमा जानुभयो भने हाम्रा कर्मचारी कृषककै खेतबारी र गोठमा भेट्न सक्नुहुन्छ । हामीले यस अवधिमा हामीले गुराँस कृषि विकास तथा अनुसन्धान केन्द्रको स्थापना गरेका छौँ । यस केन्द्रबाट उल्लेख्य आन्तरिक राजस्वसमेत आम्दानी गरेको छौँ । करिब ५० प्रतिशत व्यावसायिक किसानलाई कृषि क्षेत्रमा सेवा प्रवाह गरेका छौँ र यस वर्ष सबै किसानको विगतभन्दा उल्लेख्य आम्दानीसमेत भएको छ । विगतमा कृषि अनुदानका नाममा भएको बेथिति नियन्त्रण गरेका छौँ । नियन्त्रण मात्र होइन विगतको करोडाँै रकम असुली गरेर कृषि क्षेत्रमै लगाउँदै छौँ । करिब १५० जना २०–३० वर्षका युवा किसानलाई तालिम दिएका छौँ । ‘ग्रिन जब र ग्रिन’ कर्णाली जस्ता कार्यक्रम सञ्चालन गरेका छौँ । कृषिजन्य उद्यमलाई प्रोत्साहन गर्न ‘एक वडा एक कृषि उद्योग’ जस्ता विभिन्न रोजगारमूलक प्रभावकारी कार्यक्रम सञ्चालन गरेका छौँ । त्यसले गर्दा युवा विदेश पलायन रोक्न महत्वपूर्ण काम गरेको छ तर हाम्रोमा समस्या भनेको त्यसको बजारीकरणको छ । सुर्खेत नेपालगन्जसम्म तरकारी निर्यात गरे पनि भारतबाट आउने तरकारीका कारण किसानले उत्पादन गरेको तरकारीले मूल्य नपाउने अवस्था अझै छ । 

 शिक्षाको गुणस्तर सुधारका लागि गाउँपालिकाले के के काम गरिरहेको छ ?

शिक्षा क्षेत्रमा पञ्चवर्षीय शैक्षिक गुरुयोजना तयारी गरी कार्यान्वयनमा रहेको छ । अध्यक्ष शैक्षिक सुधार कार्यक्रममार्फत युवा, शिक्षा तथा खेलकुदका कार्यक्रम भइरहेका छन् । हाम्रो मौलिकता तथा यहाँको सम्भावनाको आधारमा व्यापक छलफल गरी स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा समेत आइसकेको छ । यसको आधारमा कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तकसमेत लेखन कार्य सम्पन्न भइसकेको छ । त्यो मात्र होइन गाउँपालिकाको शिक्षाको गुणस्तर सुधारका लागि नियमित अनुगमन, शिक्षकको उपस्थिति र बालबालिकाका अभिभावकसमेत आफ्नो बालबालिका विद्यालय गए नगएको हेर्ने अभियानसमेत चलाएका छौँ । त्योसँगै शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र जिम्मेवारीबारे अभिमुखीकरण गर्ने, स्थानीय पाठ्यक्रम र पुस्तक निर्माण गर्ने, भौतिक संरचना बनाउने, विद्यालय कामकाज र प्रशासनिक कार्य र विशेष गरी शिक्षालाई प्रविधिमैत्री बनाउने, शिक्षा क्षेत्रको फजुल खर्च घटाउने काम गरेका छौँ । 

 स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले के के काम गरेको छ ?

स्वास्थ्य क्षेत्रमा अभाव भएको जनशक्तिलाई विधिवत् ढङ्गबाट व्यवस्थापन गरेका छौँ  । पालिकाभर सबै स्थानमा स्वास्थ्य संस्था प्रभावकारी रूपमा सञ्चालन भएका छन् । पालिकाको आफ्नै स्रोतबाट पाँच शय्याको अस्पताल सञ्चालन भएको छ । जसमा हालै मात्र सुविधायुक्त ल्याब सेवासमेत करिब २४ घण्टा आंशिक सेवासमेत एमबिबिस डाक्टरको व्यवस्था र आयुर्वेद सेवा केन्द्रको समेत प्रभावकारी रूपमा सञ्चालन गरेका छाँै । यसबिच नियमित रूपमा भिडियो एक्सरेसमेतको नियमित गर्भवती स्वास्थ्य जाँच, स्वास्थ्य शिविर, परामर्शको नियमित सेवा प्रवाह गरेका छौँ । विगतमा पूर्ण रूपमा घाटामा सञ्चालन भएको अस्पतालबाट विगत छ महिनादेखि नियमित सेवासहित राजस्व आम्दानी गर्न थालेको छ । त्यो मात्र नभएर नागरिकलाई स्वास्थ्य संस्थामा गएपछि औषधी नपाउने अवस्थाको अन्त्य गरेका छौँ ।