• १७ जेठ २०८१, बिहिबार

‘सबै सुकुमवासीका लागि घर बनाइसक्ने योजना छ’

blog

सङ्खुवासभाका १० स्थानीय तहमध्ये एक पाँचखपन नगरपालिकाको जनसङ्ख्या १६ हजार ३४८ रहेको छ । यस नगरपालिकाका लागि दोस्रो स्थानीय तहको निर्वाचनबाट विपिन राई नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका उहाँ सो पदमा दोस्रो पटक निर्वाचित हुनुभएको हो । दुई कार्यकालकै नेतृत्व अनुभव समेट्नुभएका नगर प्रमुख राईसँग गोरखापत्रका सङ्खुवासभा समाचारदाता ध्यान कुलुङले गर्नुभएको कुराकानी :

पहिलो र दोस्रो कार्यकालमा के भिन्नता छ ?

पहिलो कार्यकालमा दोस्रोभन्दा बढी उत्साह हुन्थ्यो । केही गर्नु पर्छ भन्ने हुटहुटी पनि बढी नै थियो । अझ त्योभन्दा पनि ठुलो चाहिँ चुनौतीको पहाड हुन्थ्यो । शून्य अवस्थाबाट काम गर्नु पर्दा पहिलो कार्यकालको पहिलो वर्ष त कानुन बनाउँदै ठिक्क भयो । वडादेखि पालिकासम्मको प्रशासनिक कार्यालय व्यवस्थापन आफैँले गर्नु प-यो । 

तर पहिलो कार्यकालमा जे गरियो त्यो शून्यबाट भएकाले थुप्रै देखिने कार्य भए । जस्तै सडक पूर्वाधार थिएन, सबै वडामा पु-यायौँ । विद्युतीकरण, स्वास्थ्य, शिक्षा, सरसफाइलगायतमा गरिएको कार्यबाट नागरिक प्रत्यक्ष लाभान्वित भए । त्यही भएर चारैतिरबाट वाहवाही पायौँ । सायद त्यसैको बलमा जनताले दोस्रो कार्यकालका लागि पनि सेवा गर्ने अवसर दिनुभयो । 

दोस्रो कार्यकालमा चाहिँ अगाडि गरिएका कतिपय योजना, कार्यक्रमको निरन्तरता, स्तरोन्नतिलगायतमा नै आधाजसो समय र बजेट खर्चिनुपर्ने भएकाले बाहिरबाट हेर्दा अघिल्लो जस्तो उल्लासपूर्ण नदेखिँदो रहेछ । यस अवस्थामा वास्तविक कुरा नबुझ्नेले गतिमा सुस्तता आएको आरोप लगाउँछन् तर हामीले काम चाहिँ अघिल्लो कार्यकालभन्दा पनि बढी सुझबुझ र अनुभवसहित गरिरहेकै हुन्छौँ । 

नगरपालिकाको समृद्धिका लागि के कस्ता योजना तथा कार्यक्रमलाई प्राथमिकतामा राख्नुभएको छ ?

हाम्रो नगरपालिकाको पहिलो समस्या नै खानेपानीको हो । खानेपानी नभएकै कारण बसाइ सर्नेहरूको सङ्ख्या पनि थुप्रै थियो । यही समस्यालाई समाधान गर्न विभिन्न दातृनिकायसँगको साझेदारीमा बृहत् खानेपानी आयोजना सञ्चालन गरेका छौँ । मुख्य गरी गोर्खा वेलफेयर ट्रस्टले यो परियोजना सञ्चालन गर्नका लागि ठुलो सहयोग गरेको छ । यस आयोजनाबाट वडा नम्बर ४, ५, ६ र ७ मा खानेपानी पु-याएका छौँ । यो आयोजना अन्तर्गतको काम अहिले पनि जारी छ । 

हामी आउँदा जम्मा तीन वटा स्वास्थ्य चौकी थिए । अहिले नौ वटै वडामा पर्याप्त जनशक्ति र औषधी उपकरणसहितको सेवा पु-याएका छौँ । कतिपय वडामा त चार वटासम्म स्वास्थ्य एकाइ राखिदिएका छौँ । बढीमा एक घण्टाको दुरीमा स्वास्थ्य सेवा पु-याउने हाम्रो प्रयास हो । अहिले पालिकास्तरमा १० श-याको अस्पताल सञ्चालनको तयारीमा छौँ । अस्पताल भवन धमाधम निर्माण भइरहेको छ । निर्माण सम्पन्नलगत्तै चिकित्सक नेतृत्वको स्वास्थ्यकर्मीबाट पालिकामा नै सेवा नियमित गर्छौं । 

सडक पूर्वाधार कस्तो छ ?

हामी आउँदा वाना, बिहीबारे बजारलगायतका मुख्य मुख्य ठाउँमा कच्ची सडक खनिएको थियो । वडातिर त सडकको नाम निशाना केही थिएन । अहिले त प्रत्येक वडाको पनि टोल टोलमा सडक पहुँच पु-याएका छौँ । बजार क्षेत्र र जिल्ला सदरमुकाम जोड्ने सडकको कालोपत्रे अहिले भइरहेको छ । उता छिमेकी पालिकाको बाह्रबिसे बजार जाने सडकको पनि कालोपत्रे गर्ने काम सुरु भएको छ । जे काम गरे पनि पहिलो आवश्यकता सडक नै रहेछ । त्यसैले सडकमा बढी बजेट खर्च गरेका छौँ ।

कृषि क्षेत्रमा चाहिँ के गरिरहनुभएको छ ?

हाम्रो हरेक आवश्यकता पूर्ति गर्न पैसा अनिवार्य छ । पालिकावासीको आर्थिक स्तर कसरी उकास्ने भन्नेबारेमा पनि व्यापक छलफल ग-यौँ । आयआर्जनका लागि अन्नबालीसँगै नगदेबाली लगाउने र पालिकाले कृषकका लागि सहुलियत कार्यक्रम ल्याउने निर्णय गरियो र विभिन्न नगदेबालीका कार्यक्रम पनि ल्यायौँ । सुन्तला, कागती, एभोकाडोलगायतका बिरुवा वितरण गरेर उत्पादन पनि सुरु भएको थियो तर दुःखको कुरा बाँदरले सखाप पार्ने रहेछ । त्यही भएर बाँदरलगायत जङ्गली जनावरले नष्ट नगर्ने खालको कफी खेती र जापनिज कटुसको सम्भाव्यता अध्ययन गरिरहेका छौँ । प्राविधिक अध्ययन गरेर पालिकालाई नै कफी उत्पादन क्षेत्र बनाउने सोच छ ।

स्थानीय सरकार सञ्चालनका समस्या र चुनौती के के पाउनुभयो ?

स्थानीय सरकार भनेको घरदैलोको सरकार भएकाले जनता सिधै ठोकिन आइपुग्छन् । विकास निर्माणदेखि विपत्सम्मको समस्या र अपेक्षा लिएर आउँछन् तर हाम्रो स्रोत भने अत्यन्तै न्यून हुन्छ । माथिल्लो सरकारबाट आउने बजेट घट्दै गइरहेको छ । स्थानीय आयस्रोत निकै कम छ । यो अवस्थामा जनताको माग र पूर्ति अत्यन्तै चुनौतीपूर्ण छ । हामीले नगर सभाबाट प्राथमिकताको सूचीमा राखेर माथिल्लो निकायमा माग गरी पठाएको योजना आउँदै आउँदैन तर पालिकालाई थाहा नभएको योजना आएर भुक्तानीसमेत लिइसकेको पालिकालाई आधिकारिक जानकारी हुँदैन ! 

मातहतका कार्यालयमा सुशासन कायम गर्न के कस्ता नीति लिनुभएको छ ?

सुशासनको कुरा गर्नुभयो, हाम्रो नगरपालिका सुशासनसहितको सेवा प्रदायक कार्यालय कमै छ जस्तो लाग्छ । हाम्रो कार्यालय प्रमुखदेखि वडासम्मका सबै कर्मचारी लगनशील भएर काम गर्नुहुन्छ । नबुझेका कुरा राम्ररी बुझाउने र प्रव्रिmया नपुगेको विषय सम्बन्धितलाई लेखेर दिन भनेको छौँ ।

अन्य स्थानीय तहभन्दा फरक केही गरेको छु जस्तो लाग्छ ?

अरूभन्दा त्यस्तो ठुलै काम त के होला र ? तर अन्य पालिकाले हालसम्म पनि नगरेको एउटा काम चाहिँ छ । जिल्लाका अन्य स्थानीय तहले सुकुमवासीको पहिचानसमेत गरिसकेको छैनन् होला तर हामीले २३ परिवार सुकुमवासीलाई लालपुर्जा दिएर पनि घर बनाउने काम सुरु गरिसकेका छौँ । आउने आर्थिक वर्षभित्र सबै घर निर्माण गरिसक्ने योजना छ । घडेरीका लागि मूल सडकले छोएको जग्गा दिएका छौँ । बजार, विद्यालय, स्वास्थ्य चौकीनजिकैको जग्गा दिएर घडेरी तयार गरिसकेका छौँ । यस वर्ष नौ वटा घर बन्दैछन् । यो काम सुकुमवासी आयोगको पूर्ण सहयोगबाट सम्भव भएको हो ।

तपाईको कार्यकालको अन्त्य हुँदा तपाईको नगरपालिका कस्तो हुने छ ?

मेरो कार्य अवधि तीन वर्ष जति बाँकी छ । मेरो कार्यकाल सकिँदा सबै वडामा बाह्रै महिना सहज रूपमा एम्बुलेन्सलगायतका सवारीसाधन सञ्चालन हुन सक्ने सडक सञ्जाल बन्ने छ भने मुख्य क्षेत्र जोड्ने सडक कालोपत्रे भएको हुने छ । सबै कुना कन्दरासम्म विद्युत् पुग्ने छ । १० श-याको अस्पतालबाट चिकित्सकले हाम्रा नागरिकलाई सेवा दिइरहेका हुने छन् । बहुबर्से खेतीबाट कृषकले आर्थिक आम्दानी लिन थाल्ने छन् ।