• १७ जेठ २०८१, बिहिबार

सुरुङमार्ग पूर्वाधार

blog

मुलुकको आर्थिक समृद्धि हासिल गर्न सबैभन्दा महत्वपूर्ण मानिएको सडक सञ्जाल निर्माणमा केही वर्षयता उल्लेखनीय प्रगति हुन थालेको छ । पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) पछि निर्माण प्रारम्भ गरिएका मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम हुलाकी मार्ग र पूर्व–पश्चिम रेलवे विस्तारका काम भइरहेका छन् । यसै गरी उत्तर–दक्षिण सडकका साथै अन्य धेरै सडक निर्माण गरिएर सडक सञ्जाललाई पहिलो प्राथमिकतामा राखेर सरकारले पूर्वाधार विकासमा गति दिएको छ । यसै क्रममा सडकका अनेक स्वरूप सुरुङमार्ग, अन्डरपास र फ्लाइओभरको चरणमा समेत प्रवेश गर्नुले अबको केही वर्षमा नेपालको सडक यातायात थप सहज हुने छ । यसै सन्दर्भमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिइएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार सुरुङभित्रै आयोजना गरिएको विशेष समारोहमा विद्युतीय ‘स्विच’ थिचेर अन्तिम विस्फोट गराउनुभएपछि सुरुङ वारपार छिचोलिएको छ । 

विसं २०७६ कात्तिकदेखि यो सुरुङमार्गको निर्माण थालिएको हो । सडक पूर्वाधारमा निकै महत्वका साथ हेरिएको सुरुङमार्गले मुलुकको यातायातका क्षेत्रमा उल्लेखनीय प्रगति भएको मान्न सकिन्छ । सुरुङ छिचोलिएकोमा खुसी व्यक्त प्रधानमन्त्री प्रचण्डले नेपाल पूर्वाधार विकासको नयाँ चरणमा प्रवेश गरेको स्पष्ट पार्नुभयो । उहाँले नागढुङ्गा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने भन्दै सुरुङमार्ग निर्माणमा सहयोग गर्दै आएको मित्रराष्ट्र जापान सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ । मुलुकको भौगोलिक बनोटका आधारमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माण समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको विकासमा महत्वपूर्ण सहयोग गर्दै आएको मित्रराष्ट्र जापानका राजदूत किकुटा युटाकाले नागढुङ्गा सुरुङमार्ग छिचोलिएसँगै नेपालको भविष्यको नयाँ बिहानीको ढोका खुलेको धारणा व्यक्त गर्नुभयो ।

सुरुङमार्गको मुख्य सुरुङको लम्बाइ दुई हजार ६८८ मिटर र आपत्कालीन सुरुङको लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ । सुरुङ छिचोलिए पनि आयोजनाको कुल भौतिक प्रगति भने ७३ प्रतिशत मात्र हुन सकेको छ । तीन वटा अन्डरपास, चार वटा कल्भर्ट, तीन वटा पुल, एउटा ओभरपास र फ्लाइओभर गरी कुल १२ वटा संरचना एकसाथ निर्माण भइरहेको छ । चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको हुने यस सुरुङमार्गको बिचमा डेढ मिटर चौडाइको विभाजक (मेडियन) र आधा आधा मिटरको दुई वटा पेटी निर्माण हुने भएका छन् । सुरुङ खन्ने काम सम्पन्न भए पनि सञ्चालनमा आउन भने अझै करिब एक वर्ष लाग्ने छ । आयोजनाको कुल लागत २२ अर्ब रुपियाँ रहेकोमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का तर्फबाट १५ अर्ब ८० करोड र नेपाल सरकारका तर्फबाट चार अर्ब ८० करोड रुपियाँ उपलब्ध गराइएको हो । स्थानीयको अवरोधका साथै कोरोना सङ्क्रमणका कारण पनि काममा बाधा पुगेर निर्धारित समयमा पूरा नभएकोप्रति पनि पाठका रूपमा लिनुपर्ने हुन्छ ।

त्यसो त मुलुकमा यसभन्दा पहिले पनि सुरुङमार्ग निर्माण भएको इतिहास कायम छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा १९७५ सालमा हेटौँडा र अमलेखगन्जलाई सडकले जोड्न चुरे पहाडमा सुरुङ निर्माण गरिएको थियो । सुरुङमार्गको डिजाइन नेपालका पहिलो इन्जिनियर कर्णेल डिल्लीजङ्ग थापाले गर्नुभएको थियो । उक्त सुरुङमार्गको बयान गर्दै उसबेला बनाइएको गीत ‘हाम्रा राजा क्या अक्कलदारी, ल्याए मोटर चुरेमा भ्वाङ पारी’ बुढापाकाले अद्यापि गाउने गरेको सुनिन्छ । यो सुरुङमा २०१६ सालसम्म गाडी चल्ने गरेको धेरैको भनाइ छ । २००७ सालमा अमलेखगन्ज पुगेका स्विस भूगर्भविद् डा. टोनी हेगनले सुरुङमार्ग देखेर आफू आश्चर्यमा परेको भन्दै एसियाकै पहिलो मानव निर्मित सुरुङमार्ग भएको उल्लेख गर्नुले सुरुङको ऐतिहासिकता झल्काउँछ ।

भौगोलिक अवस्थाको जटिलताका कारण अन्य धेरै स्थानमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको पाइएको छ । कतिपय स्थानमा पहिरो झरेर सडक अवरुद्ध भइरहने अवस्था छ भने अक्करे भिरलाई छिचोल्न पनि सुरुङमार्ग नै उपयुक्त हुने प्राविधिकको भनाइ छ । मुलुकमा सम्भावना देखिएका १७ स्थानमा सुरुङमार्गको पहिचान गरी भौगर्भिक अध्ययन कार्य भइरहेको विदित हुन्छ । सुरुङमार्गले सवारी चाप कम हुनुका साथै दुरी छोटिएर समय, इन्धन र सवारीका पार्टपुर्जाको आयु वृद्धि हुने स्पष्ट छ । स्वदेशी सिप र प्रविधि प्रयोग गरेर निर्माण गर्ने हो भने घुमाउरो सडकभन्दा सुरुङमार्गको लागत ज्यादा नपर्ने विज्ञहरूको भनाइ मननीय हुन आउँछ ।