• १७ जेठ २०८१, बिहिबार

कृत्रिम प्रकाशका कारण सङ्कटमा चरा

blog

काठमाडौँ, वैशाख ७ गते । अहिले गाउँ होस् या सहर, सडक होस् वा घर, होटल वा रिसोर्ट जताततै बत्ती राखेर झिलिमिली पार्ने होड नै चलेको छ । व्यापार वृद्धिका लागि उज्यालो र झिलिमिली बनाउने आमप्रचलन छ । यसले मानिसलाई सजिलो बनाए पनि चरा र जीवजन्तुलाई भने बाँच्नै मुस्किल बनाएको छ । 

अझ शान्त ठाउँ भन्दै जङ्गल र नदी किनारामा रिसोर्ट बनाउने र आसपासका रुखलाई आकर्षक बनाउन कृत्रिम बत्ती बाल्दा आकर्षण देखिए पनि चराका लागि ती पासो जस्तै बनेका छन् । राजमार्गका छेउमा राखिएका सडकबत्तीसँगै रुखमा अनावश्यक रूपमा राखिएका झिलिमिलीले सानादेखि ठुला प्रजातिका चरालाई असर पारेको छ । त्यसतर्फ राज्यबाट चासो हुन नसकेको यस क्षेत्रमा आबद्ध खोजकर्ताले बताएका छन् । 

नेपाल पन्छी संरक्षण सङ्घका वरिष्ठ अनुसन्धान अधिकृत मोहनविक्रम श्रेष्ठले रातमा हुने प्रकाश प्रदूषणले चरामा वंशाणुगत गुणमा नै असर पारिरहेको विचार व्यक्त गर्नुभयो । मानिससँग नजिक भएर घरका प्वाल, टुँडाल र गोठमा बस्ने भँगेरा र लाटोकोसेरोको सङ्ख्यामा कमी आउनुका पछाडि प्रकाश प्रदूषणले मुख्य भूमिका खेलेको श्रेष्ठको दाबी छ । 

रातको समयमा कृत्रिम उज्यालोकै कारण चराले दिन र रात छुट्याउन नसक्ने भएकाले तिनीहरूको बसाइमा समस्या हुने गरेको हो । कृत्रिम प्रकाशले चराको उठ्ने, खाना खोज्ने र आराम गर्ने समयमा परिर्वतन गराउन थालेको छ । जसका कारण समय नहुँदै चरा सक्रिय बन्न थालेको उहाँले बताउनुभयो । कृत्रिम प्रकाशका कारणले चराको प्रजनन दरलाई बिथोलेको छ । 

उहाँका अनुसार घाम झुल्किनुअघि उठ्ने र अस्ताएपछि आराम गर्ने चराको वंशाणुगत गुणलाई कृत्रिम प्रकाशले नराम्रोसँग असर पारेको छ । 

विश्वमा ११ हजार प्रजातिका चरा छन् । नेपालमा मात्रै ८९४ प्रजातिका चरा पाइन्छ । चराको कुल प्रजातिमध्ये ४० प्रतिशत नियमित रूपमा ऋतु अनुसार एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ सर्ने गुण बोकेकाले बसाइँ सर्ने गर्छन् । 

धेरै चराले नेपाललाई ट्रान्जिट बनाएर बसाइँ सर्ने गरेका छन् । नेपालको उडानमार्ग (सेन्टर एसियन फ्लाई वे र इस्ट अस्टे«लियन फ्लाइ वे) मा पर्ने उहाँले जानकारी दिनुभयो । 

कृत्रिम उज्यालोका कारण बसाइँसराइ गर्ने चरा सङ्कटमा पर्दै गएको श्रेष्ठले दाबी गर्नुभयो । चराको प्रजनन आहारको सहज उपलब्धता हुने समयमा हुने गर्छ । चराले दिन र रात छुट्याउन नसक्दा कतिपय चराको प्रजनन समय अघि सर्न थालेको उहाँले बताउनुभयो । 

प्रशस्त आहार पाउन नसकी चराको प्रजनन र बच्चा हुर्काउने सफलता दर कम हुँदै गएकाले त्यसतर्फ ध्यान पुर्‍याउन आवश्यक रहेको उहाँले बताउनुभयो । चरा अनुसन्धानकर्ता नकुल भुसालले ७० प्रतिशत स्तनधारी जनावर रातमा आहारविहार, हिँडडुल र प्रजननका लागि सक्रिय हुन्छन् भने दिनमा लुकेर बस्ने गरेको बताउनुभयो । दिनभर आहारको खोजी र शक्ति सञ्चयमा बिताउने चरा रातमा उड्दा शत्रुको जोखिम कम हुनुका साथै जुन र ताराले उडानमार्ग पहिल्याउन सहयोगी भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । 

रातमा तापक्रम कम हुने र वायुमण्डल पनि स्थिर हुँदा चरालाई उडान गर्न सजिलो हुने खोजबाट पत्ता लागेको छ । बाज, चिल, गिद्ध जस्ता सिकारी चरा दिनमा बसाइँसराइ गर्ने हुँदा त्यस्ता सिकारी चराबाट बच्न साना फिस्टे, चाँचर, पानीचरा गितारु रातमा बसाइँसराइ सर्ने गरे पनि कृत्रिम उज्यालोले यो चक्रलाई बिथोलेको भुसालले जानकारी दिनुभयो । 

रातको समयमा चरा चहकिलो बत्तीतर्फ आकर्षित भएर त्यता जाँदा आफ्नो बाटो बिराउने, हराउने, ठोक्किने मात्र होइन, बासस्थानभन्दा गलत ठाउँमा पुग्ने गरेका छन् । बसाइँसराइ गर्ने चराले आफ्नो गन्तव्यसम्म पुग्न सहारा लिने नदी, भौगोलिक शृङ्खला र चुम्बकीय दिशाको सही पहिचानमा समेत उज्यालोले अलमल्याउने गरेको अध्ययनमा देखिन्छ । विश्वमा चराबारे लामो समयदेखि अध्ययन भए पनि नेपालमा भने उल्लेख्य मात्रामा चराबारे अध्ययन हुन सकेको छैन । 

नेपालमा चरासम्बन्धी अध्ययन र अनुसन्धान उल्लेख्यनीय नभए पनि चराले बसाइँ सर्ने क्रममा गरेको यात्रालाई स्याटलाइटमार्फत अनुसन्धान भएका पनि छन् । वन मन्त्रालय अन्तर्गतको वन विभाग र वन्यजन्तु विभागले गिद्ध प्रजातिको चरामा स्याटलाइट प्रणालीबाट अनुगमन गरेको छ । यद्यपि सरकारी निकायबाट प्रकाश प्रदूषणका कारण हुने क्षतिबारे बृहत् अध्ययन र अनुसन्धान भने हुन सकेको छैन ।