• १७ जेठ २०८१, बिहिबार

व्यासीहरूको “कुञ्जा” संस्कृति

blog

दार्चुला जिल्लाको उत्तरमा अवस्थित व्यास हिमालको काख र महाकाली नदीले बनाएको उपत्यकामा रहेको व्यास गाउँका बासिन्दालाई व्यासी भनिन्छ । विश्वकै महान् ग्रन्थ वेदका रचयिता कृष्ण द्वैपायन महर्षि वेदव्यासले यो हिमालमा बसेर ध्यान, तप, व्रत गरेकाले हिमालको नाम नै व्यास रहेको तथा त्यस क्षेत्रमा बसोबास गर्नेहरू व्यासी कहलाउन थालेको विश्वास गरिन्छ, यिनीहरूलाई सौका पनि भनिन्छ ।

दाचुर्लाका छाङ्रु, टिङ्कर, रपाङ, दुम्लिङ (दुगलिङ) र फुलचिम, राङ्थल, स्याङ्काङ क्षेत्रमा व्यासीको बाक्लो बसोबास छ । जिल्ला सदरमुकाम खलङ्गामा पनि केही व्यासीको बसोबास छ । भारतको अल्मोडा, चमोली, उत्तरकाशी जिल्लाका हिमाली र पहाडी क्षेत्रमा पनि व्यासी/सौकाहरूको बसोबास देखिन्छ । उतैबाट यिनीहरू नेपाल प्रवेश गरेका र यिनीहरू मङ्गोल प्रजातिमा पर्ने केही नेपालीलगायत भारतीय लेखकले अनुमान गरेका छन् तर यिनीहरूमा प्रचलित थर, पूजा विधि, संस्कृति, मुखाकृति, आँखा हेर्दा व्यासीहरू मङ्गोल सामाजिक–सांस्कृतिक अन्तर्क्रियाको प्रभावमा परेका खस हुन सक्ने अनुमान अन्य लेखकको छ ।

यिनीहरूले आफूलाई रँ (रङ) जाति बताउने गरेको राष्ट्रिय जनजाति विकास समितिद्वारा प्रकाशित पुस्तिकामा उल्लेख छ । सौकाहरूमा प्रचलित रोतवाल, लाला, तिङ्करी, कल्याल, बुढाथोकी, भण्डारी, जुद्वारी, गब्र्याल, बुद्धियाल र गुञ्याल जस्ता थरले यिनीहरू हिन्दु हुन् भन्ने प्रमाण दिन्छ तर घरअगाडि राखिने झण्डा बौद्ध आकार प्रकारका देखिन्छन् ।

पुरानो पुस्तामा दशैँ तिहार मनाउने प्रचलन थिएन तर दार्चुला सदरमुकातिर बस्ने यिनीहरूले दीपावली गर्ने र भौलो खेल्ने गरेका स्थानीय जानकार बताउँछन् । यिनीहरूमा मूर्ति पूजा हुँदैन । मन्दिरमा मूर्ति देखिँदैन तर ढुङ्गालाई देवता मानेर पूजा गर्छन् जसलाई कलिङ भनिन्छ । शुभकार्यमा सेता वस्त्र वा ध्वजा/खादा र भेडाको रौँ चढाउँछन् भने अशुभ कार्यमा कालो वस्त्र प्रयोग गरिन्छ ।

शुभकार्यमा उवा (हिमाली क्षेत्रमा पाइने गहुँजस्तो अन्न) बाट बनाइने दलाङ (पानीमा सातु मुछेर बनाइने डल्ला) प्रसाद चढाउनु पर्छ । साथै जाँड (बरछ्याङ) अनिवार्य हुन्छ । उवा/जौ पवित्र अन्न मानिने भएकाले यिनीहरू जौको अक्षता लगाउँछन् । यसैबाट पितृ र देवताको पूजा गरिन्छ । छाङ्रुका स्थानीयले गवला (नयाँ वर्ष) पर्व मुख्य चाडका रूपमा मनाउँछन् ।

पुराना देवताले कान कम सुन्ने किंवदन्ती अनुसार गवला पर्वमा व्यासीले थाल र झ्याली बजाउने गर्छन् । शान्ति कायम होस्, भगवान्ले सबैको रक्षा गरुन् भन्ने उद्देश्यले देउसीभैलो खेलेर यो पर्व मनाउने गरिन्छ । मन्दिरमा बोकाको बलि दिइन्छ र त्यसको पेट चिरेर कलेजो हेरी शुभ र अशुभ साइत पत्ता लगाउन सकिने विश्वास गर्छन् । विभिन्न हिमाल, पहाडको प्रतीकका रूपमा ‘सरसौ धुर्बुछी’ स्थापना गरी पूजा गर्ने चलन छ ।

व्यास, नमजुङ, अपि हिमाल (अपि दाङ), नम्पा, छिरिङ छेडा, द्विसिगोम्बु आदिको पूजा गरिने कुरा डा. हरिशचन्द्र भट्टले उल्लेख गरेका छन् । उनका अनुसार यसरी पूजा गर्दा फरक फरक गाउँलेले फरक फरक हिमालको पूजा गर्ने गर्दछन् । प्रकृति पूजक यिनीहरूले हिमाल, पहाड, पानी, रुख, ढुङ्गा, झरना, माटो, अन्न, पशु आदिको पूजा गर्छन् ।

राप्लाका सौका/व्यासीले कुल देवताका रूपमा नमजुङको पूजा गर्ने देखिन्छ । जसलाई उनीहरू बोन्पो/बोन धर्मका विशिष्ट देवता मान्दछन् । यिनीहरूको रहनसहन बोन र बुद्ध तथा हिन्दु धर्मसँग  मिश्रित छ । द्यौला पर्व सबैतिरका व्यासी/सौकाले धुमधामसँग मनाउँछन् । यस जातिमा किर्जीदाम, धवला, सिकब्जे चाँड, मिलोथेमो किपाङ पर्व, नमजुङ बढानी र व्यासऋषि जस्ता चाडपर्व प्रचलित छ । झारफुक लामीझाँक्रीलाई प्राथमिक स्वास्थ्य सेवाका रूपमा पनि लिन्छन् । मानिस बिरामी परे उसो धाहदै (वैद्यबा) कहाँ जाने र उनैले औषधि दिने चलन छ तर अहिले आधुनिक उपचार सेवाको प्रभाव बढ्दो छ ।

यिनीहरूको मातृभाषा (सौका भाषा) निकै समृद्ध छ । सौका भाषामा १२ औँ शताब्दीतिर स्थानीय गुफा तथा ढुङ्गामा लेखिएका पाठ्सामग्री पाइएका छन् । वर्ण भने देवनागरी नै हो । सौका भाषा भोट बर्मेली परिवारमा पर्ने र मगर भाषासँग केही हदसम्म मिल्ने भाषाशास्त्रीले बताएका छन् । २०७८ सालको जनगणना अनुसार व्यासीको जनसङ्ख्या पाँच हजार ७१८ छ ।

बसाइँसराइ व्यासी/सौकाहरूको संस्कृति नै हो । व्यासी/सौकाहरू वर्षमा दुई पटक बसाइँसराइ गर्छन् । जसलाई उनीहरू ‘कुञ्जा’ सर्ने भन्छन् तर सदरमुकातिर बसेका यिनीहरू स्थायी रूपले नै बसोबास गर्न थालेका छन् । हिमाली क्षेत्रमा चिसो बढेपछि कोही जिल्ला सदरमुकाम खलङ्गा र केही भारतको पिथौरागढ, धारचुलातिर जान्छन् । यिनीहरूको आफ्नै भूमि, भूभाग तथा भाषा, परम्परागत संस्था, प्रथाजनित कानुन अभ्यासमा भए पनि ती क्रमशः हराउँदै छन् ।

व्यासी/सौकाको मुख्य पेशा व्यापार, कृषि तथा पशुपालन हो । उवा र नप्पल, जौ, आलु, फापर मुख्य खेती हुन् । उपत्यका र नदी किनारमा धान खेती पनि गर्छन् । व्यापारका लागि मुख्यतः चीनको स्वशासित क्षेत्र तिब्बत, ताक्लाकोट तथा नेपालका विभिन्न शहर बस्ती र भारतको धारचुलातिर यिनीहरू निर्भर छन् । च्याङ्ग्रा, चौँरी, भेडा, बाख्रा, घोडा, खच्चर पाल्ने यिनीहरूले कतिपय जनावरलाई ढुवानीको साधनका रूपमा पनि प्रयोग गर्छन् ।

नेपालबाट जडीबुटी र तयारी खाद्यान्न तिब्बत लैजाने र उताबाट नुन, कपडा, कम्बल, जुत्ता, ऊन, व्यापारिक सामान ल्याउने गर्छन्  । तिब्बतबाट च्याङ्ग्रा ल्याएर नेपालका भित्री भागसम्म पुर्‍याएर बेच्ने गरेका छन् । आर्थिक रूपमा यिनीहरू सम्पन्न देखिन्छन् । महिलाले गलैँचा, मोजा, चुटका, पङ्खी (पाछ्यौरी/सल) गलबन्दी, टोपी बुन्ने, कपडाका जुत्ता बनाउने र बेच्ने गर्दछन् । महिलाले मोती, मुगा, पैसाको माला, पोते, चुरा र चाँदी वा सिल्भरको काँडे बाला लगाउँछन् ।

कपडाको जुत्ता (बब्बै), डोचा, बख्खु, पटुका लगाउँछन् । महिलाले टाउकोबाट पछाडि लर्काएर पछ्यौरी (च्युक्ति) लगाउँछन् । महिलामा च्युङ्वाला पहिरन लोकप्रिय छ । अविवाहित महिलाले झगुला वा गाग्री तथा कम्मरबन्द ज्युज्याङ लगाउँछन् ।

पुरुषले ऊनको टोपी लगाउँछन् । लामो जामा, कम्मरमा ज्युज्याङ अर्थात् कमरबन्द, टाउकामा बेल्ठूलो (फेटा) कम्मरभन्दा तल मैजु (सुरुवाल) र खुट्टामा बाँखै (ऊनीको जुत्ता) लगाउने चलन छ ।  यिनीहरू कानमा कुण्डल र हातमा कडा (बाला) लगाउँछन् । पोशाक प्रायः ऊनबाट बनाइएका हुन्छन् । 

–त्रिभुवनचन्द्र वाग्ले