• १५ जेठ २०८१, मङ्गलबार

महिलालाई गहुँ काट्ने चटारो

blog

बाजुराको बुढीगङ्गा नगरपालिका –९ सेरालवाडाका महिला सेराटाट्कामा गहुँ टिप्दै । तस्बिर सौजन्य : कौशल सेराला

शेरबहादुर सार्की
बाजुरा, वैशाख ७ गते ।

केटा : वैशाख गहुँ टिप्नु भनी पोइल बाईगई झुमा ।

लौन्यारी दि हेल पन वैशाखका उमा ।।

लौन्यारी (गहुँ काट्ने महिला) : आउन्या भया खेतमै आउनु नत उता बाइजाऊ ।

गहुँ टिप्ने चटारो पर्‍यो उमा पोली खाइजाऊ ।।

माथि उल्लेखित देउडा यहाँका छोरेटाहरूले वैशाखमा गहुँ लौन्यारीलाई उद्धृत गर्दै भन्ने गर्दछन् । यहाँ वैशाखको महिला गहुँ पाक्ने र त्यति बेला अलि उमा खाने (काँचो रहेको गहुँलाई आगोमा राखेर पोलेर खाने गहुँको बाला) चलन छ ।

यही उमा माग्ने गरी यहाँका केटाले गहुँ लौन्यारीलाई यो गीत गाएर उमा माग्ने गर्दछन् । लौन्यारीहरुले पनि उनीहरूलाई खेतबारीमा बोलाएर उमा काटिदिने गर्दछन् । यती मात्र होइन यहाँका महिलाहरू गहुँ टिप्ने बेलामा देउडा गीत समेत गाउने गर्दछन् । गहुँ टिप्दा लागेको थकाइ मेट्नका लागि गहुँ टिप्ने बेलामा गीत गाउने गरेको जुना सेरालाले बताउनुभयो ।

बाजुराका महिलाहरूलाई गहुँ काट्ने चटारो परेको छ । गत कात्तिक महिना छरेको गहुँ वैशाखमा पाक्न सुरु भएपछि यती बेला यहाँका महिलालाई गहुँ काट्ने चटारो परेको हो ।

असिना पानी परेर पाकेको गहुँ चुट्छ कि भन्ने डरले यती बेला यहाँका महिलाहरू बिहान दिउँसो गहुँ भित्र्याउने काममा निकै व्यस्त हुने गरेको स्थानीय महिला बताउँछन् ।

विगतका केही वर्षमा पाक्न थालेको गहुँ बाली यती बेला असिना पानीले चुटचाट पारेको थियो । यती बेला पनि त्यो असिना पानीले गहुँ झराउँछ की भन्ने डरले बिहान दिउँसो गहुँ भित्र्याउन निकै हतार भएको बुढीगङ्गा नगरपालिका–९ सेरालवाडाका स्थानीय महिला जुना सेरालाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कात्तिक लगाएको खेती वैशाखको पहिलो सातादेखि पाक्न थालेको छ । यो पाकेको बाली भित्र्याउनकै लागि यती बेला बिहान दिउँसो खेतमै व्यस्त हुने गरेका हुन्छौँ ।’’

तराईको जसो मेसिन भए गहुँ यहाँ गहुँ भित्र्याउन चाँडो हुन्थ्यो । हातले निगालको सरेटाको भरमा गहुँ टिप्दा निकै समय लाग्ने गरेको सेरालाले बताउनुभयो ।

बाजुराका महिलाहरूले हँसियाको भरमा गहुँ हातले टिप्ने गर्दछन् । अधिकांश महिला निगालाको सरेटाले (निगालाको दुई फिट जति लामो काठ) गहुँ समात्ने र त्यसपछि कम्मरमा राखेको आँसीले गहुँ काटेर डोकोमा राख्ने गर्दछन् ।

सहर बजारको जसो यहाँ गहुँ काट्ने मेसिन वा थ्रेसर छैनन् । यहाँका महिलाले गहुँ टिपेर घरमा ल्याउने र त्यसपछि ग्याब्री (गहुँ चुट्नका लागि काठबाट बनाए सामग्री) ले छुट्ने गर्दछन् ।

बाजुराको बुढीगङ्गा त्रिवेणी लगायतका नगरपालिकामा गहुँ वैशाखको पहिलो हप्तामै पाक्न सुरु हुन्छ भने जिल्लाको पूर्वी उत्तर क्षेत्रमा भने वैशाखको अन्तिम र जेठको पहिलो हप्ताबाट मात्र पाक्छ ।

बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र छेडेदह लगायतका विभिन्न ठाउँमा गहुँ खेती राम्रो हुन्छ ।

जिल्लाको पूर्विउत्तर क्षेत्रमा खोलाको किनार तथा सिँचाइ सुविधा सम्पन्न भएको ठाउँमा गहुँ राम्रो फल्ने गरेको भए पनि भिरालो तथा पाखो ठाउँमा भने कम उत्पादन हुन्छ ।

तल्लो क्षेत्रको बडिमालिका, गौमुल र छेडेदह लगायतका ठाउँमा प्राय स्थानीय जातको गहुँ लगाउने भएकोले त्यो ठाउँमा पनि गहुँ उत्पादन कम हुन्छ ।

बाजुराको त्रिवेणी नगरपालिकाको ढलाली, पन्ताली, तोली र बुढीगङ्गा नगरपालिको ब्रहतोला, नुवाघर, सायल भमक बजार, बायल राखेत देवलसैन सेराटाट्का, झण्डारगाउँ, नुवाकोट र सिगाडा लगायतका स्थानीय महिलालाई यती बेला गहुँ टिप्ने चटारो परेको छ ।

यहाँका किसानले मङ्सिर गहुँ लगाउने र वैशाखको पहिलो हप्ताबाट काट्न सुरु गर्दछन् । बाजुरा वैशाख जेठमा असिना पानी पर्ने गरेकोले यती बेला किसानलाई पाकेको गहुँ त्यो बाट कसरी बचाउनु भन्ने चिन्ता छ ।

जिल्लाका केही ठाउँमा वैशाख सुरुवात सँगै गहुँ बाली पाक्न सुरु भएता पनि हिमाली क्षेत्रका बुढीनन्दा हिमाली, स्वामिकार्तिक जगनाथ गाउँपालिका केही ठाउँमा भने वैशाखको अन्तिम जेठको पहिलो साताबाट पाक्न सुरु हुन्छ ।

यहाँ किसानले पछिल्लो समय पासाङ्लामु, डब्लु के बाह्र सय चौध, डाँफेमुनाल  र स्वर्गद्वारी जातको गहुँ लगाउँछन् । अधिकांश किसानले भने उही पुरानो स्थानीय जातको नै गहुँ लगाउने गरेका छन् ।

बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिन भएपनि यसमध्ये २२ हजार हेक्टर खेती गोप्य जमिन रहेको छ । यो मध्य पाँच हजार दुई सय ३५ हेक्टर जमिन मात्र वर्ष भरीमा सिँचाइ हुने गरेको छ ।

गहुँ हिउँदे बाली भएकोले हिउँदमा वर्षा भएन भने उत्पादन घट्छ वर्षा भएमा उत्पादन बढ्छ । पछिल्लो समय यहाँका किसानले उन्नत जातको गहुँको बीउको प्रयोग गर्नाले पनि बाजुरामा गहुँ उत्पादनमा वृद्धि हुँदै हुने गरेको छ ।

बाजुरामा कुल खेती गरिएको क्षेत्रफलको २० प्रतिशत मात्रै जमिनमा सिँचाइको सुविधा छ । भने ८० प्रतिशत जमिनमा अहिले पनि आकाशे पानीको भरमा खेती हुने गरेको छ ।

जिल्लाको उत्पादन बढाई खाद्य सुरक्षामा टेवा पुर्‍याउन सिँचाइको क्षेत्र विस्तार गर्न निकै आवश्यक रहेको छ ।

बाजुरामा १० हजार ४६० हेक्टरमा क्षेत्रफलमा गहुँ खेती गरिन्छ भने सो जमिनबाट १७ हजार ७८२ मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।