• १५ जेठ २०८१, मङ्गलबार

समाधिस्थलमा रुपियाँ फलाउँदै भारतीय नागरिक

blog

सिँचाइका लागि बगर बिचमा गाडिएका मोटरसहितको पम्पसेट । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, वैशाख ८ गते । बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकालाई जोड्ने सिधनियाघाटस्थित राप्ती नदी पुलको पूर्व–दक्षिणतर्फ नदीको बगर अहिले हरियाली भएको छ । 

नदी किनारमा रहेको सो बगरमा पहिले हिन्दु परम्पराअनुसार मानिसको मृत्यु भएपछि अन्तिम दाहसंस्कार गर्ने गरिन्थ्यो । हिउँदको समय नदी सानो भएर पुलको पश्चिम भागबाट बग्न थालेपछि भने अहिले दाहसंस्कार पश्चिमतिर गर्न थालिएको छ ।

बर्षाको समयमा भने नदी वारपार हुँदा अझै पनि पूर्व दक्षिणतर्फको सो घाटमा दाहसंस्कार गरिँदैआइएको छ । जता–जता नदी बग्छ उतै दाहसंस्कार गरिने गरिएको छ । केही महिना अघिसम्म बालुवा मात्र देखिने सो स्थानमा अहिले भने विभिन्न फलफुल तथा तरकारीजन्य विरुवाले गर्दा हरियाली भएको छ । 

अहिले सो जग्गामा रहरलाग्दा तर्भुज, फर्सी, खिरा, डरकक्री, बोडी तथा खर्बुजालगायतका विरुवाले हरियाली भएको मात्र नभएर लटरम्म फलहरु फलेका छन् । आँखाले समेत हेरेर भ्याउन नसकिने बिघौंको सो बगरको जग्गा त्यसै हरियाली भने भएको होइन । 

भारतीय नागरिकले केही महिनादेखि उराठलाग्दो सो बगरमा तरकारी तथा फलफुलजन्य वस्तुहरु उत्पादन गरेका हुन् । “गत डिसेम्बर महिनामा हामी यो बगरमा आयौं, बालुवा खोस्रिन थाल्यौं । बीउ लगाउन बालुवामा खाडल खन्न थाल्यौं ।” जिल्ला बागपथ तहिसल बडोथ कस्वाकोतना उत्तर प्रदेश भारतका ४० बर्षीय नागरिक साहेद अलिले भन्नुभयो, “हामीलाई यहाँका मान्छेले पागलसम्म भने, अहिले खुशी भएका छन् ।”

“मैले केही बर्षअघि पूर्वी नेपालको विराटनगरस्थित कोशी नदीको किनारमा रहेको बगरमा पनि यसैगरी फलफुल तथा तरकारी फलाएको छु, मलाई यो सम्बन्धी राम्रोसँग ज्ञान छ” अलिले भन्नुभयो, “म यहाँ आएको बेलामा बगर देखें, यहाँका स्थानीय मान्छेसँग कुरा गरें, जसको जग्गा हो उहाँहरुसँग कुरा गरेपछि उहाँहरुले हामीहरुलाई निःशुल्क जग्गा दिनुभयो, अनि खेती गर्न सुरु गरेका हौं ।”

अलि मात्र नभएर सो बगर क्षेत्रमा भारतकै ९ वटा परिवारले अहिले विभिन्न तरकारी तथा फलफूलजन्य खेती गरेका हुन् । बगर क्षेत्रमा अस्थायी घर निर्माण गरेर सबै परिवार त्यहाँ बस्दै आएका छन् । “म मात्र नभएर हाम्रै गाउँका ९ वटा परिवारका सदस्यहरु मिलेर खेती गरेका छौं, आफ्नो जग्गा छुट्याएका छौं, छुट्याइएको  जग्गामा अस्थायी घर बनाएर सपरिवार बस्दैआएका छौं ।” 


उहाँले भन्नुभयो, “सबै परिवारका गरी हामी अहिले ६५–७० जना जति छौं, आ–आफ्नो भागमा परेको जग्गामा आफ्नै परिवारले खेती गरेका छौं ।” सुरुमा मल, इन्जन, वोरिङ, पाइप, औषधी छिट्ने मेशिनल गायतका आवश्यक उपकरण तथा औजार माग्न स्थानीय वडाहरु र कृषि कार्यालयमा पनि गयौं, तर नेपाली नागरिक र फर्म हुनुपर्ने भनिएपछि सबै आफ्नै लगानीमा काम गर्न सुरु गरेका छौं” अलिले भन्नुभयो ।

उहाँका अनुसार बगरमा ठाउँ–ठाउँमा दर्जनौं पम्पसेट राखेर डिजलबाट पम्पसेट चलाएर मोटरको व्यवस्था गरी सिँचाइका लागि पानी निकालिएको छ । खिरा, फर्सी लगायतका वस्तुहरु उत्पादन भइसकेका कारण स्थानीयहरु त्यही गएर किन्ने गरेका छन् । तर्भुज अबको दुई साताभित्र बिक्रीका लागि तयार हुने अलिले बताउनुभयो ।

अलिका अनुसार उत्पादन भएको तर्भुज बिक्रीका लागि दाङ, सुर्खेत तथा काठमाडौंका व्यापारीसँग कुराकानी भइसकेको छ । “दाङ, सुर्खेत र काठमाडौंका व्यापारीसँग हाम्रो कुराकानी भइसकेको छ, बिक्रीका लागि टेन्सन छैन, उहाँहरु यहीँ आएर उठाउनुहुन्छ ।” 

उनीहरुले खेती गरिरहेको बगर क्षेत्र व्यक्तिहरुको नाममा रहे पनि नदीका कारण त्यहाँ कुनै खेतीपाती नगरिएको स्थानीय सर्भेसकुमार यादवले भन्नुभयो । “म लगायत गाउँका धेरै मानिसको नाममा त्यहाँ जग्गा छ, तर बर्षामा जताततै भरिन्छ, हिउँदमा बालुवा नै बालुवाको बगर हुन्छ । केही उब्जाउ पनि नहुने भएपछि त्यतिकै थियो ।” यादवले भन्नुभयो, “भारतीय नागरिक सोधखोज गर्दै मकहाँ आएर हामीलाई जग्गा दिनुस्, हामी तरकारी तथा फलफुल खेती गर्छौ भने, त्यस्तो बगरमा के उब्जाउ गर्लान् लाग्यो अनि ‘हुन्छ’ गर भन्दिएँ, अहिले मज्जाले फल फलाएका छन् ।”

राप्ती नदीको पूर्व भागतिर डुडुवा गाउँपालिकाको वडा १, २, ३ र ४ को केही भागहरु रहेको वडा ४ का अध्यक्ष सगीर खाँले बताउनुभयो । “राप्तीपारी हाम्रो पालिकाका १, २, ३ र ४ का केही भागहरु पर्दछन् । भारतीयहरुले खेती गरेको जग्गा ४ नम्बरमा पर्छ, त्यस्तो बालुवामा खेती गरेका छन् । जग्गावालाले पनि खेती गर्न छाडेको ठाउँमा उनीहरुले फलफुल र तरकारी फलाइसके ।”   

दाहसंस्कार गरिने सो बगर क्षेत्रमा अहिलेसम्म कुनै खेती नदेखेका स्थानीयले अलिसहित उक्त गाउँका ९ वटा परिवार त्यही बगरमा बसेर तरकारी तथा फलफुलजन्य खेती उब्जाउ गर्न थालेपछि खुशी छन् । नेपालमा केही काम छैन, रोजगारी छैन भन्दै दैनिक सयौंको संख्यामा विदेश जाने युवाहरुका लागि भारतीय नागरिकको यो काम गतिलो झापड हो ।