• १७ जेठ २०८१, बिहिबार

रेडियम गर्ल्स

blog

एक शताब्दीपहिले अँध्यारोमा चम्किने घडीहरू अत्यन्त सम्मोहक अपूर्व वस्तु थिए । विशेष खालको चम्किलो रङले ढाकिएको घडीको ‘डायल’ चम्किरहन्थ्यो र त्यसलाई सौर्य प्रकाशले ‘चार्ज’ गर्नु आवश्यक थिएन । यो सब जादु जस्तो थियो ।

यी घडीको उत्पादन गर्ने एक प्रथम उद्योग सन् १९१६ मा अमेरिकाको न्युजर्जीमा सञ्चालनमा आयो । यस उद्योगले ७० जना महिलालाई काममा राख्यो, अमेरिकामा यस्ता कैयौँ उद्योगमा काममा लगाइएका हजारौँ महिलामध्ये यो पहिलो समूह थियो । त्यतिबेला यसलाई एउटा राम्रो ज्याला पाइने आकर्षक जागिर मानियो ।

सानो ‘डायल’ मा रङ लगाउनु पर्ने मिहिन कामका लागि महिलालाई आफ्ना ओठद्वारा ‘ब्रस’ लाई तिखो पार्न निर्देशन थियो तर उनीहरू अनभिज्ञ थिए । मुस्किलले २० वर्षपहिले मात्र पत्ता लगाइएको एक रेडियोधर्मी तत्व रेडियम रङमा मिसाइएका कारणले गर्दा घडी चम्किने हो । रेडियमका सबै विशेषता अझैसम्म बुझ्न सकिएको थिएन । ती महिलाले हरेकपटक जसो ओठमा ‘ब्रस’ ल्याउँदा रेडियमको थोरै मात्रा अन्जानमा निल्दथे ।

घडीको ‘डायल’ रेडियम रङले तयार पार्नु महिलाका लागि आकर्षक जागिर त छँदै थियो, उनीहरूले तीन गुणा बढी ज्याला पनि पाउँथे । रेडियम रङ सुरक्षित रहेको बताइयो तर यो झुटो थियो । यतिसम्म कि रेडियम खोज गर्ने मेरी क्युरीसमेत प्रयोगशालामा रेडियममा परीक्षण गर्दा विकिरणले जलेकी थिइन् । रेडियम विषाक्तताले धेरै मानिसको मृत्यु भएको थियो । यही कारण रेडियम कम्पनीमा काम गर्ने अधिकांश मानिसले प्रयोगशालामा रेडियममा काम गर्दा ‘लेड एप्रोन’ लगाउने र हात्ती दाँतले बनाइएका चिम्टा प्रयोग गर्दथे तर ‘डायल’ पेन्टरहरूलाई यस्तो खालको सुरक्षा व्यवस्था गरिएको थिएन र उनीहरूलाई जोखिमको जानकारी पनि दिइएन ।ती महिला ‘रेडियम गर्ल्स’ कहलिए ।

नोबेल पुरस्कार विजेता मेरी क्युरी र उनका पति पियरे क्युरीद्वारा सन् १८९८ मा रेडियम खोज गरिएको थियो । खोज गरिएलगत्तै रेडियमलाई क्यान्सर उपचारको एक माध्यम बनाइयो ।

‘द रेडियम गल्र्स’ की लेखिका केट मुरले फोन अन्तर्वार्तामा भनिन्, “किनभने यो सफल थियो । यो केही गरी एक सर्वशक्तिशाली स्वास्थ्य ‘टनिक’ बन्यो । जसरी आज हामी भिटामिन्स खान्छौँ त्यसरी नै खाइन्थ्यो । मानिसहरू यसको शक्तिले मोहित नै भए ।”

यो एक उन्माद नै बन्यो । दैनिक प्रयोगमा आउने कैयौँ उत्पादनमा  रेडियम एक मिसाइने वस्तु बन्न पुग्यो । मन्जनदेखि सौन्दर्य प्रसाधन तथा खाद्यवस्तु र पेय पदार्थमा समेत रेडियम हालिन थालियो । यस्तै एक उत्पादन थियो ‘रेडिथोर’ । थोरै मात्रामा रेडिमय मिसाइएको ‘डिस्टिल वाटर’ थियो ‘रेडिथोर’ । यसको प्रचार यसरी गरियो : ‘जिउँदै मरेकाको एक उपचार’ र ‘अनन्त प्रशनन्ता’ । यसले वात रोगदेखि सन्धिशोधसम्म कैयौँ रोगको सटिक उपचार गर्ने दाबी गरिएको थियो ।

जर्जटाउन विश्वविद्यालयमा कार्यरत एक विकिरण विशेषज्ञ तथा ‘स्ट्रेन्ज ग्लो : द स्टोरी अफ रेडिएसन’ का लेखक टिमोथी योर्गेन्सनले भनेका छन्, “रेडियोधर्मिताले ऊर्जा निस्कन्छ भन्ने जानकारी मानिससँग थियो । उनीहरूले वास्ता गरेनन् त्यस्तो केही ऊर्जा आफ्नो शरीरमा हाल्दा त्यो कत्ति पो हानिकारक होला र । शरीरमा ऊर्जाको कमी भएर बिरामी भएको ठानिएका कुनै पनि समस्यामा रेडियमका उत्पादन प्रयोग गरिन्थ्यो– थकानको आमसमस्यादेखि नपुंशकतासम्म ।”

रोगको उपचारमा रामवाण हुनु त बेग्लै कुरा रेडियम एक अत्यन्त घातक तत्व थियो । एक प्रयोगकर्ता अमेरिकी धनाढ्य तथा खेलाडी एबेन बायर्सले हरेक दिन एक सिसी ‘रेडिथोर’ वर्षौं पिए र सन् १९३२ मा त्यसैले उनको मृत्यु भयो । उनको मृत्यु सम्बन्धमा वाल स्ट्रिट जर्नलमा प्रकाशित सामग्रीमा लेखिएको थियो, “रेडियम पानीले तबसम्म राम्रो काम गर्‍यो जबसम्म उनको बङ्गारा खुस्किएर झरेन ।”

एक मन्द विष

“जब निलिन्छ रेडियम विशेष रूपमा शरीरलाई खतरनाक हुन्छ । रासायनिक रूपमा यसले क्याल्सियमसरह व्यवहार देखाउँछ,” भन्छन्, योर्गेन्सन शरीरले हड्डी बनाउन क्याल्सियम प्रयोग गर्छ, निलिएको रेडियमलाई शरीरले गल्तीले क्याल्सियम ठान्छ र हड्डीमा गएर मिसिन्छ । यस कारण रेडियम निल्नुको मुख्य स्वास्थ्य जोखिम भनेको रेडियमले हुने अस्थिक्षय (बोन नेक्रोसिस) र हड्डीको क्यान्सर हो । यो अवस्था कति चाँडै विकसित हुन्छ भन्ने कुरा रेडियमको मात्रामा भर पर्छ तर ‘रेडियम गर्ल्स’ प्रभावित भएको उच्च मात्रा जति हो भने त केही वर्ष मात्र लाग्छ यस्तो अवस्था विकसित हुन ।

आफ्नो ओठमा रेडियमयुक्त रङमा चोपिएको ‘ब्रस’ लगाउँदा ‘रेडियम गर्ल्स’ ठूलो जोखिममा थिए– उनीहरू यस्तो जोखिम लिन किन तयार भए ? किनभने ‘ब्रस’ को टुप्पो तिखो बनाउन यो सजिलो उपाय थियो । तिखो पारिएको ‘ब्रस’ ले घडीका साना अक्षर स्पष्ट र आकर्षक रूपमा लेख्न सकिन्थ्यो ।

तर ‘रेडियम गल्र्स’ ले आँखा चिम्लेर यो जोखिम उठाएका चाहिँ होइनन् । उनीहरूले “यो रङ हामीलाई खतरनाक त छैन ?” भनी प्रश्न सोधेका थिए तर कम्पनीका मेनेजरले रङ सुरक्षित रहेको बताए । त्यतिबेला कम्पनीको अस्तित्व रेडियमयुक्त रङमा निर्भर रहेकाले मेनेजरको यस्तो जवाफ आउनु स्पष्ट नै थियो ।

जतिबेला चम्किने घडी सन् १९२० को दशकमा व्यापक प्रचलनमा आए, विश्व पहिले नै रेडियोधर्मिताको जोखिमका बारेमा सचेत भइसकेको थियो तर विकिरण विषाक्तताले तत्काल असर नदेखाउने भएकाले कुनै एक श्रमिकमा लक्षण विकास हुन वर्षौं लाग्यो ।


मुरका अनुसार हामीले रेडियम खतरनाक हो भन्ने थाहा पाएको एक शताब्दी भइसकेको छ र यसको उच्च मात्राले मानव तन्तु नष्ट गर्दछ तर यसले रातो रक्तकोषको मात्रा बढ्न भूमिका खेलेर स्वास्थ्य सुधारिएको भ्रम दिन्छ तर दीर्घकालीन रूपमा यसले मन्द विषको काम गर्दछ ।

वास्तवमा ‘रेडियम गर्ल्स’ नौलो चामत्कारिक औषधिमा काम गरिरहेकाले आफूहरू स्वस्थ भइरहेको विश्वासमा थिए । त्यतिबेला त्यो विश्वको सर्वाधिक महँगो वस्तु थियो र आजको मुद्रासँग तुलना गर्दा प्रतिग्रामको २२ लाख अमेरिकी डलर पर्दथ्यो । यस नोकरीको आकर्षण बढ्दै जाँदा काम गर्ने महिलालाई उनीहरूको शहरको टेलिफोन डाइरेक्टरीमा समेत नाम समावेश गरी कलाकारका रूपमा सूचीबद्ध गरिएको थियो । यो काम कतिसम्म आकर्षक भयो भने उनीहरू आफ्ना दिदीबहिनी र साथीहरूलाई समेत यसमा लाग्न प्रोत्साहित गर्न थालेका थिए ।

जब रङको मिश्रण बनाइन्थ्यो त्यसबाट खतरनाक रेडियोधर्मी धुलो वायुमा फैलिएर महिलाको कपाल र लुगामा पुग्ने गथ्र्यो, यो एक भयङ्कर दुष्प्रभाव थियो । त्यतिबेलाका महिलालाई यस दुष्प्रभावको कुनै ज्ञान थिएन । बरु उनीहरू यसलाई मन पराउँथे र कारखानामा काम गर्दा आफूले राम्रो लुगा लगाउने गरेको कुरा गर्दथे ।

रेडियम बङ्गारा

सन् १९२० को दशकको आरम्भिक दिनमा केही ‘रेडियम गर्ल्स’ मा लक्षण विकास हुन थाल्यो । थकान लाग्ने र दाँत चिलाउने लक्षण सुरुमा देखियो । यसबाट पहिलो मृत्यु सन् १९२२ मा भयो । लगातार एक वर्षसम्म पीडा सहन गरेर २२ वर्षकी मोली मागियाको मृत्यु भएको थियो । यद्यपि मृत्यु प्रमाणपत्रमा गल्तीले भिरिङ्गीका कारण उनको मृत्यु भएको उल्लेख गरियो तर यथार्थमा उनी ‘रेडियम जँ’ समस्याबाट ग्रसित थिइन् । उनको तल्लो बङ्गारा यतिसम्म खिइसकेको थियो कि चिकित्सकले सामान्य प्रयासबाट त्यसलाई बाहिर निकालेका थिए । रेडियमले उनको बङ्गारा छियाछिया परेर प्वालैप्वाल पार्दा पनि उनी केही समय जीवित रहिन् ।

तैपनि त्यस कम्पनीको स्वामित्व भएको युनाइटेड स्टेट रेडियम कर्पोरेसनलाई यस विषयमा कुनै कारबाही अगाडि बढाउन दुई वर्ष लाग्यो । त्यो पनि श्रमिकको स्वास्थ्यका बारेमा नभएर कम्पनीको घट्दो व्यापारमा बढी केन्द्रित हुने गरी स्वतन्त्र छानबिन आयोग गठन गरिएको थियो ।

न्युजर्जीको मूल उद्योगमा काम गर्ने एक श्रमिक ग्रेसी फ्रायरले सन् १९२५ मा मुद्दा हाल्ने निर्णय गरिन् तर आफूलाई सहयोग गर्न चाहने वकिल खोज्न नै उनलाई दुई वर्ष लाग्यो । सन् १९२७ मा उनले अन्ततः आफ्ना चार अन्य सहकर्मीसहित मुद्दा दायर गरिन् । यस कदमले विश्वका समाचारपत्रमा ठूलो महत्व पायो ।

सन् १९२८ मा यस मुद्दाको फैसला महिलाको पक्षमा आयो । जुन व्यावसायिक जोखिम कानुन निर्माणमा कोसेढुङ्गा भयो । त्यतिबेलासम्म रेडियमको खतरा सतहमा आइसकेको थियो । ओठले ‘ब्रस’ तिखो पार्ने विधि बन्द गरियो र श्रमिकलाई सुरक्षा सामग्री दिइन थालियो । मुद्दा हाल्ने महिला बढ्न थाले र रेडियम कम्पनीहरूले कैयौँ पटक अपिल गरे तर सन् १९३९ मा अमेरिकाको सर्वोच्च अदालतले अन्तिम अपिल खारेज गरिदियो ।

रेडियम विकिरणको प्रभावमा परेर पनि बाँचेका श्रमिकले क्षतिपूर्ति पाए तथा मृत्यु प्रमाणपत्रमा मृत्युको सही कारण उल्लेख गरिन थालियो । त्यसपछि रेडियम रङलाई समेत प्रयोगमा ल्याउन छाडियो र सन् १९६८ यता घडीमा रेडियम रङ प्रयोग गर्न बन्द गरियो ।

रेडियम निलेर कति महिलाको स्वास्थ्यमा समस्या आयो स्पष्ट तथ्याङ्क छैन तर हजारौँ महिला हुन सक्छन् । यसको प्रभावले जीवनको उत्तराद्र्धमा क्यान्सर जस्तो प्राणघातक रोगसमेत लाग्न सक्ने भएकाले प्रभावित महिलाको सङ्ख्या यत्तिकै अनुमान गर्न सकिन्न ।

रेडियमको अर्धआयु नै १६ सय वर्ष हुने भएकाले यो एक पटक महिलाको शरीरमा पुग्नुको अर्थ सधैँका लागि त्यहाँ छ भनी बुझ्नु पर्छ । 

–उमेश ओझाद्वारा सिएनएन र अन्य स्रोतबाट अनुवादित र सम्पादित ।