• ११ असार २०८१, मङ्गलबार

सडक पूर्वाधार पहिलो प्राथमिकतामा

blog

सिलिचोङ गाउँपालिका सङ्खुवासभाको दुर्गम पालिकामध्ये एक हो । जिल्ला सदरमुकाम खाँदबारीबाट उत्तरी क्षेत्रमा रहेको यो पालिकालाई अरुण नदीले छुट्याएको छ । यो पालिकामा भोजपुरको साल्पासिलिछो गाउँपालिका र सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको सिमाना जोडिएको छ । जनगणना–२०७८ अनुसार १० हजार २१७ जनसङ्ख्या रहेको यस गाउँपालिकामा २०८० को स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार भूपालराज मेवाहाङ अध्यक्ष पदमा निर्वाचन हुनुभएको थियो । उहाँसँग गोरखापत्र दैनिकका सङ्खुवासभा समाचारदाता ध्यान कुलुङले गर्नुभएको कुराकानी :

तपाईंले स्थानीय सरकारको प्रमुखका रूपमा नेतृत्व गर्न थाल्नुभएको दुई वर्ष पुग्न लाग्यो । यो अवधिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

स्थानीय तहको जिम्मेवारीमा नरहँदा सोचिएका योजनाहरू वा घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता पूरा गर्न सकस नै हुने रहेछ । सीमित स्रोतसाधनबाट नागरिकका असीमित चाहना पूरा गर्न त्यति सहज नहुने रहेछ । आन्तरिक आयस्रोत खासै छैन, माथिल्लो सरकारबाट प्राप्त अनुदान रकमहरू पर्याप्त नहुने रहेछ । तैपनि हामीले सकेसम्म पालिकाको आवश्यकतालाई प्राथमिकीकरण गरेर काम गरिरहेका छौँ ।

पालिकाको आन्तरिक आम्दानीको स्रोत चाहिँ के के हो र कति सङ्कलन हुन्छ ?

मुख्य त एकीकृत सम्पत्ति कर नै हो । त्यसबाहेक सिफारिस दस्तुर, थोरै थोरै निकासी कर हो । फेरि हामीले त्यस्तो ठुलो दररेट पनि राखेका छैनौँ । वार्षिक करिब ५० लाख रुपियाँ मात्र सङ्कलन हुन्छ । 

यहाँका नागरिकको जीवनस्तर उकास्ने के कस्ता कार्यक्रम गरिरहनुभएको छ ?

हाम्रो पालिका भौगोलिक हिसाबले भोटखोला गाउँपालिकापछिको दुर्गम पालिका हो । भोटखोलालाई राष्ट्रिय राजमार्ग र राष्ट्रिय आयोजनाहरूले छुने भएकाले छिटै परिवर्तन हुन्छ । यो पालिका अनकन्टार जस्तो भएको छ । अरुण नदीले छुट्याएकाले सडक सञ्जाल राम्रो छैन । त्यही भएर हाम्रो अधिकांश लगानी सडकमा छ । सडक राम्रो भए थुप्रै क्षेत्रको विकासको सम्भावना हुन्छ । पालिकाभित्रका सडकको अवस्था भने राम्रै छ । निर्बाध रूपमा सवारी सञ्चालन हुन्छ । सानादेखि ठुला खोला र खोल्सी धेरै भएकाले पुलहरूको निर्माण भने गर्न जरुरी छ । दुई  वटा खोलामा पक्की पुल निर्माण गरिरहेका छौँ । यता सङ्खुवाखोलामा बेली ब्रिज निर्माण गरिरहेका छौँ । बुधबारेस्थित सिसुवाखोलामा पक्की पुल बनाउँदै छौँ । यसबाहेक पनि तीन चार वटा पुल बनाउनुपर्ने छ । ती पुल बनेपछि स्थानीयलाई धेरै सहज हुने छ । जीविकोपार्जनमा समेत सहयोग पुग्ने छ ।  

आर्थिक विकास र जीविकोपार्जनका कार्यक्रमहरू के गरिरहनुभएको छ ?

हाम्रो पालिका अल्लोको अघोषित ‘जोन’ नै हो । यहाँको अल्लो उत्पादन जिल्ला, देश हुँदै विदेशसमेत निर्यात हुन्छ । त्यसैले अल्लो व्यवसायीलाई तालिम प्रदान गर्दै आएका छौँ । उहाँहरूको व्यवसाय प्रवर्धन गर्ने कार्यव्रmमहरू निरन्तर रूपमा चलाउँदै आएका छौँ । हाम्रो मान्तेवा गाउँको सुन्तला निकै उच्च कोटीको छ । यहाँको सुन्तलाको स्वाद जिल्लामा निकै चर्चा हुन्छ ।  

मान्तेवालाई सुन्तला पकेटकै रूपमा विस्तार गरिरहेका छौँ । त्यसका लागि नर्सरी व्यवस्थापन जस्ता कार्यव्रmममार्फत कृषकलाई खेतीतर्फ अकर्षित गर्न सहयोग पनि उपलब्ध गराउँदै आएका छौँ । यसबाहेक विभिन्न युवाका लागि कृषि कार्यव्रmममार्फत अनुदान दिएर व्यावसायिक बनाउने प्रयास गरेका छौँ ।

सिलिचोङ प्राकृतिक स्रोतसाधनले धनी भए पनि पर्याप्त रूपमा लाभ लिन सकेको छैन नि ?

हो, हाम्रो पालिकामा प्राकृतिक स्रोतसाधन प्रशस्तै छन् । वन पैदावार, जडीबुटी, खोलानाला प्रशस्तै छन् । जडीबुटीलगायतका वनजन्य उत्पादन समुचित रूपमा प्रयोग गर्न नसकिए पनि स्थानीय खोलाहरूबाट विद्युत् निकाल्ने कार्य सुरु भइसकेको छैन । ठुला लगानीको क्षेत्रमा पालिकाले लगानी गर्न सक्दैन । लगानीकर्तालाई आकर्षित गरेर त्यसबाट लाभ लिने मात्र रहेछ । त्यसैले सङ्खुवाखोलाको तीन वटा जलविद्युत् आयोजनामध्ये माथिल्लो सङ्खुवाखोला जलविद्युत् आयोजनाको काम सुरु भइसकेको छ । तल्लो सङ्खुवा र सिसुवाखोला जलविद्युत् आयोजनाको पनि चरणबद्ध तरिकाले काम भइरहेको छ । लगानीकर्तालाई हामीले सक्ने खालको सहयोग गर्ने र त्यस आयोजनाबाट लाभ लिने नीति लिएका छौँ ।

पालिकाको शिक्षा र स्वास्थ्यको स्थिति चाहिँ कस्तो छ ?

यहाँको स्वास्थ्य सेवा प्रवाह राम्रो छ भन्नेमा हामी दाबी गर्छाैं । विगत दुई वर्ष त हामी जिल्लामै स्वास्थ्य सेवा प्रवाहमा प्रथम भएका थियौँ । हामीले प्रत्येक वडाको पनि टोल टोलमा स्वास्थ्यकर्मी खटाएर गाउँबाटै सेवा उपलब्ध गराउने व्यवस्था गरेका छौँ । पालिकास्तरमा प्राथमिक स्वास्थ्य केन्द्रमार्फत चिकित्सकको नेतृत्वमा स्वास्थ्य सेवा दिइरहेका छौँ । हाम्रो स्वास्थ्य केन्द्रमा एक्सरे, ल्याब, आँखा उपचार सेवालगायतका सेवा छन् । गर्भवतीका लागि घुम्ती भिडियो एक्सरे सेवा दिइरहेका छौँ । शिक्षातर्फ विद्यार्थी सङ्ख्या बर्सेनि घट्दो छ । हरेक वर्ष सो विद्यालयलाई घटुवा गर्नुपर्ने बाध्यता छ । गाउँस्तरमै विद्यार्थी रोक्न नसक्नु हाम्रो मात्र समस्या हो जस्तो लाग्दैन । यसबारे सबै पक्षले गम्भीर भएर सोच्ने बेला भएको छ ।

स्थानीय सरकार सञ्चालनका मुख्य चुनौती चाहिँ के के महसुस गर्नुभयो ?

सबैभन्दा ठुलो समस्या भनेको छोटो समयमा सीमित बजेटबाट धेरै विकासको चाहना पूरा गर्नुपर्ने नै हो । जनताले के सोच्छन् भने मेरो गाउँमा एकै पटक ठुलो बजेट परोस् र तत्कालै देखिने विकास होस् तर त्यो सम्भव छैन । एक त हरेक वर्ष अनुदान बजेट घट्दो छ । 

अर्को आन्तरिक आयस्रोत अत्यन्तै सीमित छ । त्यसैले जनताको अपेक्षा अनुसार काम गर्न सकिएको छैन । ससर्त अनुदानमा आउने कतिपय कार्यव्रmम कार्यान्वयनमा निकै चुनौती देखिन्छ । नेपालको भूगोल, समाज, हावापानी ठाउँ अनुसार फरक छ । तर कार्यविधि एउटै छ । जस्तै तराईको क्षेत्रमा कार्यान्वयन गर्न सकिने सोही प्रकृतिको कार्यव्रmम हिमाली जिल्लामा उपयुक्त नहुन सक्छ । यस्ता कुराहरू नीतिनिर्माताहरूले ख्याल गरे राम्रो हुने थियो । 

तपाईंको कार्यकाल सकिँदा पालिकामा के के परिवर्तन हुने छ ?

मेरो कार्य अवधि अझै तीन वर्ष बाँकी छ । हाम्रो पालिका प्रवेश गर्न अरुण नदी पार गर्नु पर्छ । त्यहाँ पुल अहिलेसम्म पनि बन्न सकेको छैन । त्यसका लागि हामीले पहल गरिरहेका छौँ । यो हाम्रो पहुँचको विषय नभएकाले माथिल्लो निकायमा घच्घच्याउने काम भइरहेको छ । सम्भवतः त्यो पुलको निर्माण कार्य हुने छ । हाम्रो पालिकाभित्र हाल दुई स्थानमा पक्की पुल निर्माण भइरहेको छ, त्यो सम्पन्न हुने छ । 

केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार सम्पन्न हुने छ । दूरसञ्चार सेवाका लागि बालाको रमितेमा भएको टावरबाहेक ताम्कुमा अर्को टावर राख्ने तयारी गरिरहेका छौँ । स्थानीय सरकारले गर्न सक्ने न्यूनतम काम प्रायः सबै भइसकेको हुने छ ।