• २ असार २०८१, आइतबार

कतारी राजाको भ्रमण फलदायी

blog

– डा.नरेशविक्रम ढकाल, कतारका लागि नेपाली राजदूत । तस्बिर : केशब गुरुङ, गोरखापत्र अनलाइन

कतारका अमिर शेख बिन हमाद अल थानीले नेपालको दुईदिने राजकीय भ्रमण गर्नुभयो । भ्रमणका क्रममा नेपाल र कतारबिचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने गरी दुई देशका उच्च नेतृत्वबिच महत्त्वपूर्ण वार्ता भयो । वार्ता फलदायी भएको विश्वास राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यक्त गर्नुभयो । भ्रमणको उपलब्धि, दुई देशबिचको अबको सम्बन्धलगायत विविध विषयमा कतारका लागि नेपालका राजदूत डा. ढकालसँग गोरखापत्रका लागि चाँदनी हमालले गर्नुभएको कुराकानीको सम्पादित अंश :


लामो समयदेखि नेपाल र कतारबिच उच्चस्तरीय भ्रमण भएको थिएन । कतारका अमिरको यो भ्रमणको महत्त्व र भ्रमणबाट भएको उपलब्धिलाई यहाँले कसरी हेर्नुभएको छ ?

अरब देशहरूबाट पहिलो पटक ‘हेड अफ दी स्टेट’ को नेपाल भ्रमण आफैँमा ऐतिहासिक छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा यो भ्रमण भएको हो । यो भ्रमणलाई कतारको तर्फबाट पनि महìव दिइएको महसुस मैले गरेको छु । लामो समयदेखि अमिरको भ्रमण गराउने प्रयास भइरहेको थियो, राजदूतको नाताले मैले पनि निरन्तर प्रयास गरेँ । अमिरको नेपालको राजकीय भ्रमण सफल भएको छ ।


यसअघि श्रम गन्तव्यको सम्बन्धमा मात्र नेपाल–कतार सम्बन्ध सीमित भएको भनिन्थ्यो, सम्बन्धको दायरा फराकिलो पार्न दुई देशका उच्च नेतृत्वबिचको भेटमा कस्ता विषयले प्राथमिकता पाए ? 

विशेष गरी यो उच्चस्तरीय भ्रमणको अवसरलाई हामीले चार पक्षबाट हेरेका छौँ । पहिलो, भ्रमणले इतिहास रच्न सफल भएको छ । दोस्रो, नेपाल र कतारबिचको सम्बन्धलाई अझ सबल बनाउन नेपालबाट कतारमा गएर काम गरिरहेका नेपाली दाजुभाइ दिदीबहिनीको महत्वपूर्ण भूमिका छ । त्यसले गर्दा कतार सरकार र कतारका जनताको तर्फबाट नेपाली जनताको जहिले पनि प्रशंसा गरेको पाउँछौँ । पछिल्लो अभिलेख अनुसार कतारमा तीन लाख ६४ हजार ४८९ जना नेपाली नागरिक कार्यरत छन् । 

नेपालमा प्रशस्त लगानीका सम्भावना छन् । यहाँ एग्रिकल्चर, हाइड्रो, टुरिजम र एयरपोर्टको पनि सम्भावना धेरै छ । धेरै सम्भाव्यता छन् । यी सम्भाव्यताका विषयलाई हाम्रो राष्ट्रपति र प्रधानमन्त्रीले उच्च प्राथमिकताका साथ उठाउनुभएको छ । यसलाई नेपालको समृद्धिको साझेदारीका रूपमा अगाडि बढाउन एउटा उच्चस्तरीय समिति बनाइने भएको छ । कुन कुन क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्ने विषयको अध्ययन गर्ने भन्ने महत्वपूर्ण समझदारी बनेको छ । 


हमासले इजरायलमा आक्रमण गरेपछि त्यहाँ नेपाली विद्यार्थी विपिन जोशी हराइरहनुभएको छ । राष्ट्रपति तथा प्रधानमन्त्रीबाट पनि कतारका अमिरको भ्रमणका क्रममा त्यसबारे चासो व्यक्त भएको छ । यस सन्दर्भमा कतारले विपिनको रिहाइका लागि निर्वाह गर्न सक्ने भूमिका कस्तो हुन सक्ला ? 

यसलाई म दुई पक्षबाट विश्लेषण गर्न चाहन्छु । पहिलो, हामीले नेपालको तर्फबाट यो भिजिटभन्दा पहिले नै दूतावासकै पहलमा विपिन जोशीको हुलियासहित लिखित रूपमा कतारको परराष्ट्र मन्त्रालयमार्फत सहजीकरणका लागि त्यहाँबाट आग्रह गरेका थियौँ । तत्पश्चात् दोहा फोरमको कार्यक्रमकै सेरोफेरोमा तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले त्यहाँका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, अन्य दुई जना परराष्ट्र राज्यमन्त्रीसहितको साइड मिटिङ गर्नुभयो । 

दोस्रो, कतारका अमिर शेख थानीको भ्रमण सँगसँगै राष्ट्रपति तथा प्रधानमन्त्रीले विपिनको रिहाइको विषयलाई उच्च प्राथमिकताका साथ उठाउनुभयो । कतारबाट अमिरको नेतृत्वमा आएको टोलीले पनि यसलाई उच्च प्राथमिकता दिने गरी नोट गरेको छ । ‘लर्न एन्ड अर्न’ का लागि गएका विद्यार्थी त्यहाँ गएर जोखिममा पर्नु हाम्रा लागि दुःखद हो । हिजो मात्र पनि मैले विपिनका बुवाआमालाई भेटेको छु । कतारका तर्फबाट जुन समन्वयात्मक भूमिका छ, त्यसको परिणाम सकारात्मक आउने हाम्रो अपेक्षा छ । अब कसैको रिहाइ हुने भयो भने विपिनको पनि हुने छ । 


अमिरको भ्रमणले कतारको नेपालप्रतिको दृष्टिकोणमा केही फरकपन ल्याउन सक्यो कि सकेन ? 

अवश्य, यो भ्रमणले पुरानो दृष्टिकोणमा फरक पारेको छ । यहाँ दुई वटा कुरा छ । हामीले कतारलाई ‘अनस्किल लेबर’ पठाउँदा पनि उसले सहज रूपमा लिएको थियो । कतारलाई पनि अब दक्ष जनशक्ति चाहिएको छ । नेपाल सरकारको तर्फबाट जुन कुरा राखिएको छ, त्यसलाई कतार सरकारले सकारात्मक ढङ्गले लिएको हामीले बुझेका छौँ । आगामी दिनमा दक्ष जनशक्ति कतारतिर लैजाने अवस्था बन्ने छ । हामीले आफूलाई केही सुधार गर्नुपर्ने अवस्था भने छ । 

सिटिइभिटीका स्टाफ नर्सलाई युकेमा राखेको हामीले पढ्न पायौँ । त्रिभुवन विश्वविद्यालयको त्यही मापदण्ड पुगेको छ भन्छ तर सिटिइभिटीकोमा त्यसको ‘क्रेडिट आवर’ नपुगेको भन्ने कतारको गुनासो छ । त्यो देशको आवश्यकता के हो, अर्को देशमा जाँदै छौँ भने तत्तत् देशको आवश्यकता के हो र कुन लेबरको आवश्यकता हो, त्यसलाई सप्लाई गर्न सक्छौँ कि सक्दैनौँ भन्ने खालको तयारी हुनु पर्छ भन्ने छ । 


प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर शेख थानीबिचको भेटपछि भएका सम्झौताले नयाँ साझेदारीको पहलमा कत्तिको सघाउला ?

दुई देशबिच महत्वपूर्ण समझदारी भएका छन् । यो देशको दीर्घकालीन हित र साझेदारीका लागि महत्वपूर्ण छ । राष्ट्रिय समाचार समिति र कतार न्युज एजेन्सीबिच समाचार आदानप्रदान गर्नेसम्बन्धी गरिएको सम्झौता छ । दुई देशका सञ्चारकर्मीबिचको त्यो सम्झौता महìवपूर्ण देखिन्छ । त्यस्तै शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानका लागि अर्को सम्झौता महत्वपूर्ण छ । लगानी साझेदारीका लागि प्राइभेट सेक्टरको दुई वटा सम्झौतामा समझदारी भई हस्ताक्षर हुनु आफैँमा धेरै ठुलो कुरा हैन । त्यसलाई कार्यान्वयनको पक्षबाट हेर्दा नेपाल सरकारको सम्बन्धित मन्त्रालय, निकाय वा क्षेत्रले त्यससँग सम्बन्धित प्रस्ताव डिजाइन गर्ने, सम्बन्धित क्षेत्रबाट ती प्रस्ताव स्कीकृत गराएर पठाउने हो । त्यसपछि मात्रै हामीले दूतावासका तर्फबाट तत् मन्त्रालय र निकायसँग नेगोसिएसन गर्नु पर्छ । यो मोडेलमा जान सक्यौँ भने सबै सम्झौता कार्यान्वयनमा जान्छन् । यसले नेपाललाई दीर्घकालीन हिसाबले फाइदा गर्छ । 

नेपाल र कतार दुवैको चासोका रूपमा लगानी सुरक्षासम्बन्धी सम्झौता थियो । त्यो सम्झौता किन हुन सकेन ?

यो सम्झौता निकै महत्वपूर्ण थियो । यो नेपालमा हुन गइरहेको लगानी सम्मेलनसँग सम्बन्धित छ । यसैलाई ध्यानमा राखेर कतारमा केही बैठक पनि आयोजना गरियो । कुनै पनि लगानीकर्ताको लगानी सुरक्षित होस् । त्यो लगानीको प्रतिफल आफ्नो देशमा लैजान सकौँ । लगानीसहित काम गरिरहँदा कुनै किसिमको बन्द, आन्दोलन, हडताल आदि इत्यादि नहोस् भन्ने खालको अपेक्षा उनीहरूसँग रहेको छ । अर्कोतिर लगानी सुरक्षाकै लागि एउटा हस्ताक्षर होस् भन्ने अपेक्षा कतारको थियो । डकुमेन्टेसनको हिसाबले नेपालको तर्फबट पनि तयारी थियो तर त्यसलाई हतारमा हामीले साइन गर्नका लागि मात्र टुङ्ग्याउनुभन्दा फलदायी हुने हिसाबले पछि थप छलफल गरौँ भनेर मात्र थाती राखिएको हो । त्यो मेरो कार्यकालमै गराउन सकिन्छ भन्ने विश्वास छ । 

दुई देशबिचको श्रम सम्झौताको पुनरवलोकन गर्ने पक्ष पनि ओझेलमै परेको देखियो । त्यसका लागि तयारी नपुगेको हो ?

यो सम्झौता गर्नुपर्ने थियो । अहिलेसम्म नेपालबाट लिगल रूपमा महिला कामदार अथवा घरमा काम गर्ने मान्छे पठाएका छैनौँ । यस पटक त्यसैमा इन्क्लुड गरेर डोमेस्टिक वर्करको कुरा सम्झौतामा राख्नुपर्ने भयो । उताको तर्फबाट उठाइएको विषयवस्तु हो । हाम्रो तर्फबाट लामो समयपछि हामीले पुनः एग्रिमेन्ट गर्दै छौँ । अहिले मार्केट भ्यालु धेरै माथि पुगिसक्यो । त्यसबेला कायम गरिएको बेसिक सेलरी अथवा अरू सुविधा परिमार्जन गर्नु पर्छ भन्यौँ । सबै कुरालाई एउटै प्याकेजमा राखेर हामीले हस्ताक्षर गर्ने वातावरण बनाउनु पर्छ भनेर दुवै पक्षबाट लाग्यौँ । यद्यपि समय अभावको कारण सकेनौँ  । सबैलाई समान तलब दिन कतारले लेबर कानुनमै परिवर्तन गर्नु पर्छ । छलफल गर्ने विषयमा हाम्रा आफ्ना खालका अडान रहे । यद्यपि यो दुवै देशको आवश्यकता भएकाले छलफलमा ल्याएर टुङ्गो लगाउने छौँ ।

धेरै नेपाली कतारको जेलमा छन् । दुई देशको श्रम तथा सुपुर्दगी कानुन अन्तर्गत रहेका खालीपनको सम्बोधन कसरी होला ?

त्यहाँ जेलमा पुग्ने र अरू कानुनी झन्झट छन् । त्यसको मुख्य कारण भनेको नेपालमै हुँदा राम्रोसँग प्रशिक्षण नपाउनु हो । कतिपय एयरपोर्टबाट सिधै त्यहाँ जाने गर्छन् । अनि त्यहाँको कानुनी प्रक्रिया के के छन् भन्ने कुरा थाहा नपाउनेलगायतका समस्या छन् । यहाँ हामीले सामान्य रूपमा लिएका कुरा त्यहाँ पुगेपछि जटिल हुन्छन् । त्यो जटिलता यहाँबाट जाने बेला मानिसले बुझेकै हुँदैन । अर्कोतिर जेलमा गएका विषयलाई केही हदसम्म भए पनि सम्बोधन गर्न नेपालको महान्यायाधिवक्ताको कार्यालय र त्यहाँको सरकारी अभियोजनको कार्यालयबिचमा यसै पटक सम्झौता भएको छ । यसपछि सम्भवतः हामी कतिपय कैदीबन्दीको अवस्था हेरेर त्यहाँबाट नेपालमा सार्ने खालको छलफलको कुरा पनि आन्तरिक हिसाबले अगाडि बढेको छ । 

कतारमा नेपाली कामदारका समस्या समाधान गर्न दूतावासले कसरी काम गरिरहेको छ ?

यसमा हाम्रा विभिन्न शाखा छन् । पासपोर्ट र भिसा हेर्ने एउटा शाखा छ । अर्को लेबर शाखा छ । उताको शाखा र यताको डेपुटी चिफ अफ मिसनसँगको समन्वयमा काम हुन्छ । लेबरको समस्यामा समयमा तलब नपाउने, नेपालबाट अवैधानिक रूपमा कसैले पठाइदिने, त्यहाँ पुगेर काम नपाउने, कतिपयलाई त्यहाँबाट कम्पनीले फेरि अर्को देशमा पठाइदिने गर्छ । यहाँबाट एउटा खालको श्रम स्वीकृति लिएर गएको हुन्छ, उता कतार जस्तै अर्को मुलुकमा लैजान्छ । त्यो पनि अवैधानिक हुने गर्छ । त्यो समस्याका बारेमा सबैभन्दा पहिले तल्लो डेस्कमा निवेदन पर्छ । जसको कम्पनी हो, उसलाई समस्या समाधानका लागि फोनबाट कुरा गर्छौं । त्यहीँ बोलाएर कुरा पनि गर्छौं । सिस्टममा काम हुने भएकाले अरू कामदार लैजानुअघि पहिलेका समस्या समाधान गर्नुपर्ने बाध्यकारी हुन्छ । कम्पनीको टिमले जुन किसिमले सेवासुविधा दिनुपर्ने हो, त्यो दिन सकेन भने त्यहाँको श्रम कानुनले कुनै पनि ढङ्गले भुक्तानी दिने व्यवस्था गरेको छ । अन्तिम विकल्प भनेको श्रम अदालत छ । कामका लागि गएको श्रम स्वीकृति छ, सम्झौता सबै हुँदा पनि नपाएको प्रमाणित भयो भने डिपोजिट गरेको रकम, त्यसले नपुगेमा सरकारले आफ्नै रकमबाटसमेत क्षतिपूर्ति दिन सक्ने व्यवस्था कानुनमा छ । हामी चाहन्छौँ, नेपाली कामदारको २४ घण्टे बिमा होस् । त्यहाँ वर्किङ आवरको आधारमा बिमा छ । जे भए पनि कामको सिलसिलामा ऊ यहाँ आएको हो, त्यसैले उसको फुल टाइम इन्स्योरेन्स हुनु पर्छ भन्ने विषय उठाउँदै आएका छौँ । 

कतारका नागरिक नेपालमा पर्यटकका रूपमा निकै न्युन आउने गरेका छन् । कतारीलाई पर्यटकका रूपमा भित्र्याउने यहाँका के कस्ता योजना छन् ?

त्यहाँको रोयल फेमिलीबाट एक जनाले सगरमाथा चढिसक्नुभएको छ । अरू पनि सगरमाथा र अन्य हिमालको छेउ आएको र घुमेको कुरा अवगत नै छ । कतारका अमिरको भ्रमणले त्यहाँका नागरिकको दृष्टिकोणमा ठुलो परिवर्तन ल्याउँछ । राजाले पनि घुमेको छ भने त्यहाँ हामी जानुपर्ने रहेछ भन्ने सन्देश भ्रमणले दिएको छ । कतारबाट बाज चरालाई बोकेर नेपाल घुमाउन ल्याउन चाहन्छन् । त्यसका लागि नेपालबाट भिसा जारी भएको छ । 

नेपालले कतारबाट के कस्तो पाठ सिकेर देशमा समृद्धि भित्र्याउन सक्ला ? 

कतारबाट नेपालले सिक्नुपर्ने पहिलो कुरा भिजनयुक्त नेतृत्वको विषय हो । त्यो भिजनलाई कार्यान्वयन गर्ने क्रममा टिम त्यस्तै किसिमको बनाउन सक्नु पर्छ । त्यो टिमको भिजन, मिसन र गोललाई परिणाममा पु¥याउन ब्युरोक्रेसीले पनि इमानदारीपूर्वक काम गर्नु पर्छ । जनताले पनि माथिल्लो तह वा नेतालाई मात्र दोष दिने होइन, आफूले पनि देशप्रति गर्नुपर्ने काम, कर्तव्य र अधिकार के हो, त्यो पूरा गर्नुप¥यो । अर्को कतारमा बालुवा मात्रै भएकाले रुख, बिरुवा, तरकारी, हरियालीको महत्व ठुलो छ । हाम्रो देशमा जहाँ फाल्यो त्यही उम्रन्छ । त्यसैले महìव कम भएको हो । त्यो महत्त्व बुझ्नु पर्छ । छिटो आर्थिक वृद्धि मात्र ठुलो कुरा हैन । दिगो विकास महत्वपूर्ण हो । सञ्चार माध्यमले पनि सकारात्मक सन्देशलाई बढी ध्यान दिनु पर्छ ।