• २ असार २०८१, आइतबार

विदेश पलायनको क्रम रोक्न जरुरी छ

blog

रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका धार्मिक पर्यटनका हिसाबले राम्रो सम्भावना बोकेको गाउँपालिका हो । कर्णाली प्रदेशकै पर्यटकीय स्थल स्यार्पुताल, दुधिलचौर तीर्थधाम, पिपलको मेलगैरी, झारमारेलगायतका चर्चित पर्यटकीय स्थान यही गाउँपालिकामा छन् । दुई वर्षअघि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट जनककुमार बाँठामगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाले गरेका मुख्य काम, भइरहेका गतिविधि, चुनौती, सम्भावना र आगामी योजनाबारे गोरखापत्रका मुसीकोट समाचारदाता राजु लामिछानेले गर्नुभएको कुराकानीको सारसङ्क्षेप : 

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको करिब दुई वर्ष पुग्न थाल्यो । यस अवधिमा गरेका उल्लेख्य काम के के हुन् ? 

निर्वाचित भएपछि हामीले पूर्वाधार व्यवस्थापनसँगै सेवा प्रवाह सहज र सरल बनाउन प्राथमिकता दिएर काम गरेका छौँ । यो अवधिमा हामीले सबै वडा कार्यालयमा सौर्य ऊर्जा जडान, इन्टरनेट सुविधा र अनलाइनमा आधारित भएर सफ्टवेयरमार्फत राजस्व सङ्कलन, सबै विद्यालयमा विद्युत् र इन्टरनेट सेवा, सबै कार्यालयमा ई हाजिरी सेवा सञ्चालन गरेका छौँ । 

गाउँमै योजना सम्झौता गरेर प्रभावकारी रूपमा कार्यान्वयन गर्नेलगायतका काम सुरु गरेका छौँ । विपत्का घटनापछि पीडितलाई तत्कालै राहत वितरण गरिने पद्धति विकास गरेका छौँ । सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको बैङ्क खातामै जान्छ । छिनखेतमा गाउँपालिका अस्पताल सञ्चालनको तयारी अवस्थामा पुगेका छौँ । स्वास्थ्यचौकीहरूमा औषधी अभाव हुन दिएका छैनौँ । प्रसूतिगृहको स्तरोन्नति गरेका छौँ । यी सबै कामले गाउँपालिकाभित्रका सेवाग्राहीलाई सहज भएको छ । 

यस अवधिमा के कस्ता चुनौती आइपरे र ती चुनौतीलाई कसरी समाधान गर्ने गरिएको छ ?

भूगोलको हिसाबले यो गाउँपालिका दुर्गम जस्तो लाग्छ ।  भौगोलिक विकटता त छँदै छ, अर्काेतिर पर्याप्त बजेट हुँदैन । आएको बजेट कार्यान्वयन गर्न सक्ने गरी जनशक्ति छैन । बजेट र जनशक्ति अभाव, विपत्का घटना हुँदाहुँदै गाउँघरमा चरम बेरोजगारी छ । जनताका माग र हाम्रो क्षमताबिच अन्तर छ । तर पनि बस्तीस्तरका आवश्यकतालाई प्राथमिकीकरण गरेर योजना निर्माण गरी तिनको प्रभावकारी कार्यान्वयन गर्ने गरेका छौँ । बेरोजगारी समस्या समाधान कसरी गर्ने भन्ने चिन्ता छ । पुराना बाँकी काम सम्पन्न गर्ने, जनताका आवश्यकताकै सेरोफेरामा योजना बनाउने, कार्यान्वयन गर्ने काम भइरहेका छन् । सरोकारवाला सबै पक्षसँग नियमित सहकार्य र समन्वय गरी विषयगत क्षेत्रका विकासका कामलाई अघि बढाएका छौँ । भूकम्प र आगलागीले यो गाउँपालिकामा बढी क्षति गरेको छ । माथिल्ला सरकारसँग मिलेर अस्थायी आवास निर्माण र राहतका काम गरिरहेका छौँ । 

कृषि, पर्यटन, धार्मिक स्थलहरूको विकास र प्रवर्धनका लागि के के काम भइरहेका छन् ?  

पकेट क्षेत्र निर्धारण गरेर किसान र कृषिका काम भइरहेका छन् । हामीले गाउँमै केही गरौँ भन्नेलाई अनुदान सहयोग, सिपमूलक तालिम, उपकरणमा सहयोग, स्थानीय उत्पादनलाई बजारीकरण, आयआर्जनमा सहजीकरण, पकेट क्षेत्रलक्षित कार्यक्रम, ब्लक विकास कार्यक्रम सञ्चालन गरिरहेका छौँ । सिँचाइ आयोजना निर्माण गरिरहेका छौँ । यहाँका पर्यटकीय सम्भावना बोकेका स्यार्पुताललगायतका पर्यटकीय तथा धार्मिक स्थलको संरक्षण, प्रचार र प्रवर्धनमा जोड दिएका छौँँ । यी स्थानमा घुम्न आउनेको सहज आवासका लागि होमस्टे सञ्चालन भएका छन् । यसले गर्दा यहाँ आउने पर्यटक बढ्न थालेका छन् । 

काम गर्ने दौरानमा प्रदेश र सङ्घीय सरकारसँग समन्वय कत्तिको भइरहेको छ ? 

सङ्घीयता सफल पार्न तीनै तहका सरकारबिच नजिकको सम्बन्ध हुनुपर्ने हो तर त्यसमा समन्वय अभाव देखिन्छ । यसै कारण पनि कतिपय योजनामा दोहोरोपनको समस्या छ । ससाना योजना पनि प्रदेश र सङ्घबाट वितरण भएका छन् । स्थानीय सरकारसँग समन्वय गरेर योजना निर्माण र बजेट वितरण गर्दा परिणाममुखी काम हुने निश्चित छ तर त्यो दिशामा काम भइरहेको छैन । सहकार्य र समन्वय दोहोरो हुन जरुरी छ । वास्तवमा विकास गर्ने हो भने तीनै तहका सरकारबिच नजिकको सम्बन्ध हुनु जरुरी छ । 

गाउँघरबाट बेरोजगार युवा बिदेसिने क्रम रोकिएको छैन । युवालाई गाउँघरमै राख्न सक्ने केही योजना बनाउनुभएको छ ? 

यो कुरा एकदमै साँचो हो । गाउँघरबाट दिनप्रतिदिन युवा विदेश पलायन हुने क्रम बढिरहेको छ । युवा पलायनको असर सबै क्षेत्रमा परिरहेको छ । प्रत्यक्ष रूपमा कृषि उत्पादन घटिरहेको छ । यो दुःखद पक्ष हो । युवा विदेश पलायनको समस्या निकै विकराल छ । अवैधानिक बाटो भएर लाखौँ रुपियाँ खर्च गरेर विभिन्न देशमा पुग्ने लहर चलेको छ । हरेक घरबाट अमेरिका पुग्नेहरू बढिरहेका छन् । यो समस्या रोक्न स्थानीय सरकारको योजनाले मात्रै सम्भव देखिँदैन । यो त सिङ्गो देशकै समस्या हो । सबै मिलेर स्वदेशमै केही गर्न सक्ने वातावरण र अवसरका लागि गम्भीर हुन जरुरी छ । पालिका र जिल्लास्तरमा पनि थुप्रै सम्भावना छन् । व्यावसायिक कृषि, सिपमूलक र प्राविधिक शिक्षा, स्वरोजगारमूलक योजना सञ्चालन गरेर युवालाई गाउँमै रोजगारी दिन सकियो भने यो समस्या केही हदसम्म कम हुन सक्थ्यो । हामी यी कुरामा गम्भीर भएर लागिरहेका छौँ । 

गाउँपालिकाले आउँदा दिनमा के कस्ता योजनालाई प्राथमिकता राखेर काम गर्ने योजना बनाइरहेको छ ?

यहाँका बासिन्दाका समस्या, दुःख तथा उनीहरूको चाहनालाई सधैँ आत्मसात् गर्दै म अघि बढेको छु । योजनामा जनताको सहभागिता तथा अपनत्व भएमा मात्र विकास गुणात्मक हुन्छ भन्नेमा हामी जानकार छौँ । यहाँका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, सबै घरमा खानेपानीको सुविधा, सिँचाइयोग्य र स्रोत भएका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा, वडा र स्वास्थ्य कार्यालयसँगै सामुदायिक विद्यालयमा भवन निर्माणलगायतका कामलाई प्राथमिकता दिने योजना बनाएका छाैँ । स्वरोजगार र सिपमूलक तथा प्राविधिक शिक्षामा जोड दिन तिनलाई आगामी योजनामा समेट्ने प्रयास गर्ने छौँ ।