• ११ असार २०८१, मङ्गलबार

तरकारीमा विषादी प्रयोग सचेतनाको अभाव

blog

काठमाडौँ, वैशाख २५ गते । तरकारीमा प्रयोग हुने विषादीका बारेमा धेरैलाई चेतना छैन भने कतिपयलाई त्यसका बारेमा जानकारी पनि नरहेको पाइएको छ । 

तरकारीमा जथाभाबी विषादी प्रयोगले आमउपभोक्तामा जोखिम बढ्दै गएको र त्यसले कतिपयको ज्यान पनि जाने गरेको विभिन्न अध्ययनले देखाएको छ । 

सन् २०२१ मा क्लिनिकल टक्सियोलोजी जर्नलमा प्रकाशित इन्टेन्सनल पेस्टिसाइड पोइजनिङ एन्ड पेस्टिसाइड सुसाइड इन नेपाल अध्ययन अनुसार तराई क्षेत्रमा विषादी दुरुपयोग ठुलो सङ्कट उत्पन्न भइसकेको र यहाँ प्रतिएक लाखमध्ये २५१ जनाले कृषि क्षेत्रमा उपयोग हुने विषादी खाएर आत्महत्या गरेको अध्ययनले देखाएको छ ।

त्यति नै मात्रामा तरकारीमा जथाभाबी विषादी प्रयोगले ज्यान जाने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक डा. ध्रुव भट्टराईले बताउनुभयो । बालीमा कीटाणु तथा विभिन्न रोगका लागि विषादी प्रयोग गर्नु पर्छ तर त्यसको मात्रामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । 

बालीका वैज्ञानिक तथा त्यससँग सम्बन्धित व्यक्तिसँग सल्लाह लिएर विषादी प्रयोग ग¥यो भने केही पनि हुँदैन तर सचेतनाका अभावमा किसानले जथाभाबी विषादी प्रयोग गरेका कारण यो चुनौतीका रूपमा आएको उहाँले बताउनुभयो । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको अध्ययन अनुसार तीन हजार ३६ वडाका बासिन्दा तरकारी बालीमा प्रयोग हुने विषादीका बारेमा आशिंक जानकारी रहेको बताएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशका छ हजार ३६ वडामा अध्ययन गरेको थियो । 

ती वडामध्ये ६०.५ प्रतिशत बसिन्दालाई विषादीका बारेमा आंशिक रूपमा मात्र जानकारी रहेको पाइएको छ । अध्ययन गरिएको वडामध्ये १०.७ प्रतिशत अर्थात् ६४६ वडाका बासिन्दालाई विषादी प्रयोगका बारेमा जानकारी नरहेको पाइएको छ । प्रदेशगत रूपमा तुलना गर्दा सबैभन्दा बढी विषादी प्रयोगमा सचेत बासिन्दा गण्डकी प्रदेशमा रहेका छन् । त्यहाँ ३६.८ प्रतिशत बासिन्दा सचेत रहेका छन् भने बागमती प्रदेशमा ३६.४ प्रतिशत रहेका छन् । यसैगरी लुम्बिनी प्रदेशका वडामध्ये ३०.८ र कर्णाली प्रदेशका वडामध्ये ३०.८ प्रतिशत वडाका बसिन्दाहरू तरकारी बालीमा प्रयोग गरिने विषादीका बारेमा सचेत रहेको तथ्याङ्क कार्यालयले जनाएको छ । 

त्यस्तै कोशी प्रदेशमा २७.४ प्रतिशत, मधेश प्रदेशमा २१.२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा २०.७ प्रतिशत वडाका बासिन्दा औषधी प्रयोगका बारेमा सचेत रहेको पाइएको छ ।  

तथ्याङ्क कार्यालयले गरेको अध्ययन अनुसार दुई हजार ५५९ वडाका बासिन्दाले कृषि कार्यबाट निस्केको फोहोर जलाएर नष्ट गर्ने गरेको पाइएको छ । जुन अध्ययन गरेको वडामध्येको ४२.४ प्रतिशत हो । यस्तै कम्पोस्ट मल बनाएर कृषि फोहोर व्यवस्थापन गर्ने वडा सङ्ख्या एक हजार ४१३ अर्थात् २३.४ प्रतिशत छ । एक हजार ६१ वडामा फोहोर गाडेर व्यवस्थापन गर्ने गरेको पाइएको छ ।