• ११ असार २०८१, मङ्गलबार

अब उहाँको फोन कहिल्यै आउने छैन

blog

म अन्योलमा छु– कहाँबाट सुरु गरौँ लेख्न ? कसरी सुरु गरौँ ? साढे पाँच दशकभन्दा बढी समय निकट सम्बन्ध रहेका मेरा श्रद्धेय गुरुसँगका अनगन्ती सम्झनाहरू छन् मसँग । यो छोटो लेखमा सबै लेख्न सम्भव छैन । नेपाली साहित्यका विशिष्ट एवं अथक साधक, विशेषत नेपाली आख्यान साहित्यका धरोहर वरिष्ठ आख्यानकार मेरा आदरणीय गुरु सदा प्रेरणा दिइराख्ने मेरा मार्गदर्शक परशु प्रधानज्यूको ८० वर्षको उमेरमा गत २०८० चैत ५ गते भएको निधनले नेपाली साहित्यलाई अपूरणीय क्षति पुगेको छ । उहाँको महाप्रस्थानले म अत्यन्त मर्माहत भएको छु । बुवाआमाको निधनपछि फेरि एकपल्ट टुहुरो झैँ महसुस गरेको छु । 

साढे छ दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य साधनामा रहेर नेपाली साहित्यलाई महìवपूर्ण योगदान दिइरहनुभयो । उहाँ स्वयं एउटा संस्थाभै भइसक्नुभएको थियो । समालोचकहरू भन्ने गर्छन्– परशु प्रधानको नाम झिकिदिने हो भने नेपाली आख्यानको क्षेत्रमा ठुलो रिक्तता र अधुरोपन महसुस हुने छ सबैलाई । स्पष्टवादी, कर्मठ र साहित्य सेवामा सदा निष्ठावान् भई अनवरत रूपमा कलम चलाउनुभएका परशु सर सबैका प्रिय र आदरणीय व्यक्तित्व हुनुहुन्थ्यो ।

समय कति बलवान् हुन्छ, कति वेगवान् हुन्छ । हिजै जस्तो लाग्छ, परशु सरसँग पहिलो पटक भेट भएको । सायद विसं २०२२ सालतिर हुनु पर्छ । अहिले ठ्याक्क सम्झना भएन । यत्तिका वर्षहरू बितेको पत्तै भएन । म सानै थिएँ, सायद सात कक्षामा पढ्थेँ । मैले पढ्ने गरेको भोजपुर, कुलुङको वीरेन्द्र हाइस्कुलको प्रधानाध्यापक भएर परशु सर कुलुङ आउनु भयो । उहाँ राम्रो कवि पनि हो भनेर हामी विद्यार्थीलाई भनिएको थियो । मेरो बाल मस्तिष्कमा एउटा चित्र बन्यो परशु सरको । तर प्रत्यक्ष भेट्दा त मेरो त्यो काल्पनिक चित्रभन्दा अझ सुन्दर र भव्य व्यक्तित्व रहेछ उहाँको । खुसी भयौँ हामी सबै । दुर्गम ठाउँमा राम्रो शिक्षकको अभाव भइरहने त्यो जमानामा परशु सर प्रधानाध्यापक भएर आएपछि त्यो क्षेत्रमा शिक्षाको नयाँ ज्योति फैलिएको र नयाँ ऊर्जा प्राप्त भएको सबैले महसुस गरेका थिए । परशु सरको लगनशीलताको कारणबाट त्यो क्षेत्र पूरै प्रभावित भएको थियो । कुलुङमा बसुन्जेल उहाँले त्यो हाइस्कुलको विकासका लागि धेरै काम गर्नुभयो । शिक्षाको गुणस्तरमा उल्लेखनीय प्रगति भएको महसुस गरे सबैले । त्यसैले पनि परशु सरलाई सबैले आदर गर्थे र गर्दछन् । 

हरेक शुव्रmबार हाइस्कुलमा कवि गोष्ठीको आयोजना गर्ने परम्परा सुरु भयो । म पनि सानैदेखि साहित्यमा अलि अलि अभिरुचि राख्ने गर्थें र हाइस्कुलको शुव्रmबारे कवि गोष्ठीमा भाग लिने गर्थें । परशु सरको आगमनपछि साहित्यमा मेरो अभिरुचि झन् झन् बढ्दै गयो । शुव्रmबारे कवि गोष्ठीमा प्रायः प्रथम हुने गर्थें म । अरुण नदीमा जूनको छाया परेको देखेर मैले जीवनमै पहिलो पटक ‘द मुन’ शीर्षकको कविता अङ्ग्रेजीमा लेखेको र त्यो होमवर्क कपीको कुनै पानामा परशु सरले देखेपछि यो केटासँग प्रतिभा छ भन्ने लागेर होला भनेर झन् प्रोत्साहित गर्नुभयो मलाई । सरबाट निरन्तर प्रेरणा प्राप्त हुने गथ्र्यो । त्यहाँको वातावरण नै साहित्यमय बन्न पुगेको थियो । 

परशु सरकै प्रेरणाले साथी दिनेश बस्नेत र म भएर एउटा हस्तलिखित भित्ते पत्रिका ‘गुराँस’ पनि निकाल्न थाल्यौँ । यसरी म मात्र होइन, सम्पूर्ण विद्यार्थीले आफ्नो लुकेको प्रतिभालाई देखाउने र प्रोत्साहित हुने अवसर प्राप्त भएको थियो त्यो बेला । केही समयपछि उहाँ कुलुङ छाडेर काठमाडौँतिर लाग्नुभयो । त्यो क्षण हामीलाई अत्यन्त पीडादायक रहेको थियो । तत्कालीन यातायात मन्त्री स्व. केदारमान व्यथितले उहाँलाई काठमाडौँ बोलाई साझा यातायातमा प्रशासकीय अधिकृतको जिम्मेवारी दिनुभएकाले उहाँले कुलुङ छाड्नुभएको थियो । कुलुङमा बसेर उहाँले थुप्रै रचनाहरू गर्नुभएको छ । खास गरी अरुण नदीले उहाँलाई मोहित नै बनाएको थियो, जो उहाँका रचनाहरूमा यत्रतत्र अनुभूत गर्न सकिन्छ । ‘सबै बिर्सिएका अनुहारहरू’ शीर्षकको उपन्यास उहाँले त्यहीँ बस्दा लेख्नुभएको उहाँ स्वयंले लेख्नु भएको छ । 

म पनि एसएलसी सकेर काठमाडौँ आएँ– विसं २०२७ सालको सुरुतिर । म छिटोभन्दा छिटो उहाँलाई भेट्न चाहन्थेँ तर यत्रो विशाल काठमाडौँमा सजिलै भेट्न कहाँ सम्भव थियो र । न उहाँको फोन नम्बर थाहा छ, न अफिस, न बस्नुभएको ठाउँ । एक दिन असनतिर घुम्दै गर्दा अचानक परशु सरलाई भेटेपछि मेरो खुसीको सीमा रहेन । सरले मलाई वसन्तपुर नजिकै मरु दक्षसालको उहाँको डेरामा लानुभयो । हालखबर सोध्नुभो । कल्पना म्याडम (वरिष्ठ बाल साहित्यकार कल्पना प्रधान) सँग पनि भेट्न पाएँ । चिया खाजा खाएर त्यो दिन छुट्टिएँ म । केही समयपछि उहाँ बसेकै घरको एउटा बेडरुम र भान्सा कोठा भाडामा मिलाइ दिनुभयो, म मेरा साथीहरू गुरुप्रसाद राई र स्व. नरबहादुर बुढाथोकी तीनै जना त्यहाँ बस्न थाल्यौँ । हामी तीनै जना उहाँका विद्यार्थी थियौँ । काठमाडौँमा उहाँको अभिभावकत्व, मार्गदर्शन, माया र स्नेह हामीले पाइ नै रह्यौँ । मेरो साहित्यिक अभिरुचिका कारणबाट काठमाडौँमा थुप्रै साहित्यिक सभा समारोहमा भाग लिने र थुप्रै साहित्यकार, कलाकारहरूसँग चिनजान एवं सङ्गत गर्ने सुअवसर पाएँ । मरु दक्षसालको त्यही घरमा पनि थुप्रै साहित्यकार आइ नै रहन्थे । तीमध्ये कविताराम, हरिश बमजन, हरि अधिकारी, ध्रुव सापकोटा, शैलेन्द्र साकार, रमेश श्रेष्ठ, आदि आदि । साहित्यकार काशीनाथ तमोट पनि त्यही घरमा बस्नुहुन्थ्यो । जीवनमा थुप्रै सङ्घर्षहरू गर्दै ओराली, उकालीहरू भोग्दै सरकारका महìवपूर्ण ओहदाहरूमा रहँदा रहँदै पनि स्वेच्छाले जागिरे जीवनबाट राजीनामा गरी केही वर्ष विराटनगरमा रहेर सव्रिmय साहित्यिक जीवन व्यतित गर्नुभयो । विराटनगरमा हुँदा वाणी प्रकाशनको स्थापना गरी सोको माध्यमबाट उहाँले साहित्यको क्षेत्रमा पु¥याउनुभएको विशिष्ट योगदान सबैमा विदितै छ । हाल निकै वर्षदेखि काठमाडौँ बस्न थाल्नुभएको थियो । 

उहाँ प्रयोगवादी साहित्यकार हुनुहुन्थ्यो । नयाँ नयाँ प्रयोग गर्न रुचाउने । नेपाली साहित्यमा ‘रचना गर्भ’ को सुरुवात गर्ने श्रेय उहाँलाई नै जान्छ । साथै नेपालमा साहित्यिक कृतिहरूको ‘विमोचन’ गराउने परम्परा पनि उहाँले नै सुरु गराउनुभएको थियो । डा. ऋषि बरालको एउटा कृति बागबजार, काठमाडौँको एउटा होटल (राम दाइको होटल) मा उहाँकै पहलमा विमोचन गरिएको थियो । कथाहरूको शृङ्खलालाई औपन्यासिक रूप दिँदै कथोपन्यास पनि उहाँले नै सुरु गरेको मानिन्छ ।

उहाँले थुप्रै कालजयी कृतिहरू नेपाली साहित्यलाई दिनुभएको छ । उहाँका रचनाहरू पढ्दा जुन फ्लो पाठकले पाउँछन्– नदी बगे जस्तो सललल्ल, पढौँ पढौँ लाग्ने । सरल र कवितात्मक । छाड्नै मन नलाग्ने, पाठकलाई तानि राख्ने । क्लिष्टता कतै छैन, वास्तविकतामा आधारित, नेपाली माटोमा आधारित रचना छन् उहाँका । उहाँ कुशल सङ्गठक पनि हुनुहुन्थ्यो । नेपाल स्रष्टा समाजको स्थापनाका व्रmममा उहाँले अभिभावकका रूपमा हामीलाई मार्गदर्शन गरिरहनुभयो र स्थापनाकालदेखि नै सल्लाहकार भई पछि प्रमुख सल्लाहकारका रूपमा रहनुभयो । त्यसका लागि नेपाल स्रष्टा समाजका हामी सबै आभारी छौँ । वाणी प्रकाशन, वाशु शशी स्मृति परिषद्लगायत अन्य धेरै संस्थामा नेतृत्वदायी भूमिकामा रही महìवपूर्ण योगदान पु-याउनुभएको थियो । 

उहाँ प्रायः लेखनमै सव्रिmय रहने, जुझारु, हक्की र निडर स्वभावका हुनुहुन्थ्यो । पञ्चायतकालमा खोटाङको प्रमुख जिल्ला अधिकारी हुँदा ‘डल्ले खोला’ जस्तो कथा लेखेर चर्चित हुनुभएको थियो । तत्कालीन समयमा प्रशासनको महìवपूर्ण पदमा बसेर पनि त्यो बेला हुने गरेका भ्रष्टाचारबारे कथा लेख्न सक्नु चानचुने कुरा होइन । मलाई जीवनका हरेक मोडमा मार्गदर्शन गर्नुभयो । मलाई मानस पुत्र नै भन्ने गर्नु हुन्थ्यो, कति ठाउँमा लेख्नु पनि भएको छ । म पनि उहाँलाई अभिभावककै रूपमा मान्थेँ । सारै माया गर्नुहुन्थ्यो मलाई । मैले आफ्नो जीवनमा धेरै कुरा उहाँबाट सिकेको छु । धेरै प्रेरणा पाएको छु । मेरो प्रेरणाको स्रोत नै उहाँ नै हो । 

गत चैत ६ गते उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा चितामा जलिरहँदा धुवाँको मुस्लोसँगै मेरो मन पनि उडिरहेको थियो । मेरो मन पनि भित्रभित्रै जलिरहेको थियो । तर व्यक्त गर्न सक्दिनथेँ । उहाँलाई पहिलो पटक भेटेका क्षणदेखि अन्तिम समयका क्षणहरू सिनेमाको रिल झैँ एक एक गरी मेरो मनमा आइरहेका थिए, मलाई अत्यन्त पीडा महसुस भइरहेको थियो । 

उहाँ प्रत्येक दिन जस्तो मलाई फोन गर्नु हुन्थ्यो र हालखबर सोध्नुहुन्थ्यो, कुनै कुनै दिन त दुई पटक पनि । साहित्यिक खबर र गतिविधिहरू बारे पनि चासो राख्नुहुन्थ्यो । सम्झेर कस्तो पीडा हुन्छ । मलाई यत्तिको माया गर्ने आदरणीय गुरुको फोन अब कहिल्यै आउने छैन । म जागिरबाट निवृत्त भएपछि काठमाडौँमा एउटा साहित्यिक संस्था स्थापना गर्ने परिकल्पना मैले गरेको थिएँ । त्यसबारे परशु सरसँग सल्लाह लिन गएँ । उहाँले बडो सकारात्मक रूपमा लिनुभयो र सल्लाह, सुझावहरू दिनुभयो । हामी केही साहित्यकार जुट्यौँ र नेपाल स्रष्टा समाजको स्थापना ग¥यौँ । परिकल्पनाकार भएकाले पवन बाबु नै अध्यक्ष हुँदा राम्रो हुन्छ भन्नुभयो तर मैले मानिनँ । म महासचिवमा बसेर अरू कसैलाई अध्यक्ष बनाऔँ भनेर मैले भनेपछि उहाँले शैलेन्द्र साकार दाइको नाम प्रस्ताव गर्नुभयो । 

म महासचिव भई बसेर संस्थाको विकासमा लाग्न चाहन्थेँ, संस्थालाई उठाउन चाहन्थेँ । परशु सरलाई सल्लाहकारमा बसिदिन आग्रह ग¥यौँ । उहाँले मान्नुभयो र जीवनको अन्तिम क्षणसम्म प्रमुख सल्लाहकारका रूपमा हामीलाई सल्लाह, सुझाव र अभिभावकत्व प्रदान गरिरहनु भयो । उहाँको निधनले मैले त साहित्यिक अभिभावक गुमाएँ नै, नेपाल स्रष्टा समाजले आफ्ना प्रमुख सल्लाहकार गुमायो र नेपाली साहित्यले पनि एक जना विशिष्ट साधक गुमायो ।