• ११ असार २०८१, मङ्गलबार

सिँजा साम्राज्य र नेपाली भाषा

blog

नेपाल राष्ट्रको भूमिमा विगतमा कस्ता कस्ता साम्राज्य उदय र अस्त भए, कस्ता पराक्रमी योद्धा यस भूखण्डमा उत्पन्न भएका थिए, समाजलाई यसको जानकारी पूर्ण छैन । भारतवर्षमा बलियो केन्द्रीय सत्ता नभएका बेलामा अरब, तुर्क, मध्यएसियासमेतका मुस्लिम आक्रमणकारीले भारतमा आक्रमण गरी भारतका असङ्गठित हिन्दु, बौद्ध राज्य नष्ट गरी भएभरको सम्पत्ति लुटेर लैजाने र निरीह हिन्दु, बौद्ध जनताको कत्लेआम गरिदिने र ठुलो सङ्ख्यामा गुलाम बनाई आफ्नो देशमा लैजाने तथा कतिपय जनतालाई मुस्लिम धर्ममा ल्याई आफ्नो मतको विस्तार गर्न उनीहरू आफ्नो हक अधिकार सम्झने गर्दथे । जुनबेला मुस्लिम आक्रणकारीले भारतमा आतङ्क मच्चाइराखेका थिए र कुनै कुनै आक्रमणकारीले भारतमा आफ्नो शासन सत्ता स्थापना पनि गरिसकेका थिए । त्यसबेला कर्णाली प्रदेशमा रहेको पाल राजाहरूको शासन समाप्त गरी पश्चिम तिब्बत खारी प्रदेशबाट आएका राजा नागराजले जुम्ला क्षेत्रको लामाथडा सिँजा धाममा राजधानी बनाई शासन चलाएका थिए । जुन कुरा उनका उत्तराधिकारी क्रमका राजा पृथ्वीमल्लले निर्माण गराएको विसं १४१४ को दुल्लुस्थित कीर्तिस्तम्भमा– “श्री नागराजले खारी प्रदेशबाट आई सेजापुरीको स्थिति सम्हाल्नु भयो” लेखिएको छ । यस प्रकार जुम्ला सेंजापुरीमा राजधानी बनाई राज्य स्थापित गर्ने खस बौद्ध राजा नागराज अथवा नागदेवका छैठौँ पुस्ताका राजा क्राचल्लदेव (ई १२०९–२३) का शासन कालमा राजा क्राचल्लदेवले पहिलो पटक सन् १२२३ इ. मा कुर्माचल (कुमाउँ) राज्यमा विजय प्राप्त गरेको इतिहास छ । युगको हेरफेरले मात्र हो, एउटा विशेष राज्यलाई सकारात्मक या नकारात्मक दृष्टिकोणले अध्ययन गर्न अङ्कित गरेको एउटा विशेषण मात्र हो । यदि होइन भने इतिहास के हो ?

कुमाउको एकरुद्र बालेश्वरमा रहेको ताम्रपत्रमा परमभट्टारक महाराजाधिराज परमेश्वर श्रीमान् क्राचल्लदेवले आफ्ना मातहत १० जना मण्डलेश्वर र २ जना राजासमेतको उपस्थितिमा वंगज ब्राह्मण भट्ट नारायणलाई चार किल्ला सिमाना तोकी योगक्षेत्रका लागि भूमि दान गरिदिएको बेहोरा उल्लेख गरिएको छ । यस प्रकार राजा क्राचल्लदेवले पहिलो पटक सन् १२२३ ई. मा विजय प्राप्त गरी उक्त ताम्रपत्रमा आफ्नो प्रशस्तिसहित विजयगाथा र भूमि दानको विवरण लेखाएका थिए । 

तत्कालीन भारतवर्षमा आक्रमण गरी विजय प्राप्त गरिरहेका विदेशी आक्रमणकारी मुस्लिम राज्यहरूमा समेत क्राचल्लदेवको नाम चलेको होला । भारतवर्ष पूरै जितिसकेपछि विश्व विजय गर्ने प्रयोजनका लागि मुहम्मद बिन तुगलक (सन् १३२५–५१) सुल्तानले त्यस बेलाको प्रसिद्ध शक्तिशाली पहाडी राज्य जुम्ली सिँजा साम्राज्यमाथि विजय प्राप्त गर्ने उद्देश्यले दस हजार घोडसवार हतियार बन्द सेना सिँजा साम्राज्यको राजधानी जुम्ला सिँजापुरीतर्फ पठाएको थियो तर पहाडी मार्गमा घोडाहरूका लागि आवश्यक बाटो नभएकाले बाटो बनाउँदै घोडसवार सेनालाई अगाडि बढाउनुपर्ने भएको र ती हजारौँ सैनिक र घोडाहरूका लागि भोजन र चारासमेत जुटाउनुपर्ने भएकाले यस कामले गर्दा सम्भवतः ढिलो हुन गई वर्षात्को मौसम सुरु भई सेनालाई अगाडि बढाउन कठिनाइ भएको थियो ।

आफ्नो राजधानीमाथि आक्रमण गर्न सुल्तानको सेना आइरहेको थाहा पाई आक्रमणकारी शत्रुहरूलाई परास्त गर्न सिँजा चल्लमल्ल साम्राज्यको सर्व गामिनी बाहिनी नामले प्रख्यात शक्तिशाली लडाकु सेनाले शत्रुहरूलाई बिच बाटैमा रोकी पहाडी टाकुराहरूबाट ढुङ्गामुढा बर्साई र शस्त्रास्त्रद्वारा शत्रु सेनामाथि आक्रमण गरी नष्ट गरिदिए । यसपछि आक्रमणकारी मुस्लिम सेनामध्ये केही घोडसवारहरू सुल्तान मुहम्मद तुगलकलाई यस असफलताको, हारको दुःखद समाचार सुनाउन दिल्ली पुगेका थिए भन्ने कुरो इतिहासमा लेखिएको छ । यस सम्बन्धमा प्राप्त इतिहास अनुसार सुल्तान मुहम्मद तुगलकले पहाडी राज्य सिँजा साम्रज्यलाई दबाउने योजना बनाएका थिए । यो साँचो हो सुल्तानलाई पहाडी राजा क्राचल्लदेवलाई जित्ने अभियानमा धेरै हानि सहनुप-यो ।

पहाडी राज्य सिँजा साम्राज्यमा आक्रमण गर्ने कामना सुल्तान मुहम्मद तुगलकलाई सैनिक र आर्थिक दुवै क्षति भयो । इतिहासमा वर्णन भए अनुसार मुहम्मद तुगलकको यो आक्रमण क्राचल्लमाथि गरिएको थियो । जुन भारत र चीनको मध्यवर्ती राज्य थियो । मुहम्मद तुगलकले चीनमाथि आक्रमण गर्न चाहेर बाटोमा परेको सिँजालाई निसाना बनाएको थियो । यस अभियानमा सुल्तानलाई पैले केही सफलता मिले पनि वर्षा ऋतुको आगमनका कारण पहाडी राजाले सुल्तानका सेनालाई यति भारी क्षति पु-यायो कि युद्धक्षेत्रमा पठाइएका कैयौँ हजार सैनिकमध्ये केवल दस अश्वारोही मात्र यस दुःखद पराजयको सूचना दिन दिल्ली फर्कन सके भनी इतिहासकार वदापूनिले लेखेका छन् । सुल्तानले भने– पहाडी राज्य सिँजा साम्राज्य अजेय छ । कसैले भने– हाम्रा कैयौँ हजार सैनिक मारिए ।

मुहम्मद तुगलकको सिँजा साम्राज्यमा आक्रमणको अभियान सन् १३३५ तिरको हो । हुन सक्छ महाकाली नदीको उद्गम क्षेत्रतिर सुल्तानका सेनालाई रोकेर क्राचल्लदेवका सेना विजयी भएको । यो सत्य हो मुहम्मद तुगलकले पहाडी राज्य सिँजाका विरुद्ध आक्रमण गर्न सेना पठाएका थिए । मुहम्मद तुगलकले क्राचल्लदेवको पहाडी राज्य जित्ने इरादा गरेका थिए । जुन भारत र चीनको मध्यमा पर्दछ । थाहा भए अनुसार कुमाउँ गढवाल भेगका पहाडीहरूलाई दिल्ली सुल्तानको अधिपत्यमा ल्याउने कामका लागि सन् १३३७–३८ मा एउटा ठुलो सैनिक टुकडी पठाइएको थियो । प्रथम आक्रमण सफल रह्यो परन्तु जब वर्षा ऋतुको आरम्भ भयो आव्रmमणकारीलाई धेरै हानि उठाउनुप-यो । सेनाका सारा सामान पहाडीहरूले लुटेर लगे । यो लडाइँ पहाडी भूगोलको ज्ञान नभएका कारणले पनि हार बेहोर्नुपरेको हो । अरूको भूमिमा गएर आक्रमण गर्नु सजिलो होइन । यस कारण त सुल्तानका सेना एक एक गर्दै बिस्तारै बिस्तारै मारिँदै थिए ।

यस असफलताका बाबजुद मुहम्मद तुगलकको अभियानको उद्देश्य पुरा भएको थियो । चारैतिर विजय गर्दै आएको सुल्तान तुगलकको सेना भसक्कै सखाप पारेर आत्मबल खसालिदिए जस्तो लाग्छ । दसौँ हजारमा दस जना मात्र फिर्ता । इतिहासका किताबमा छापिएको कुरा अहिले पढ्दा पनि आश्चर्य लाग्छ । इतिहासकार राम्रा हुन्छन् र त उहिलेका कुरा अहिले पनि जस्ताको तस्तै पढ्न पाइन्छ– कसैसँग नडराएर लोभ लालचमा नपरी लेखिएको इतिहास । तुगलकको सेना नराम्ररी पराजित भएको कुरा भारतीय इतिहासकारले मुस्लिम लेखकहरूका कथनलाई समावेश गरी इतिहास लेखे । इटालिएन विद्वान् गुइसेप टुच्ची र लेभायले भने लद्दाखदेखि गढवालसम्म र उत्तर तिब्बत पश्चिम कोरबारी प्रदेशदेखि दक्षिण तराईको भूभागसम्म विजय गरी शासन गर्ने खस चल्लमल्ल राजाहरूको सिँजा साम्राज्यलाई न्याय गर्न सकेनन् । सिँजा लोक कथामा मात्रै होइन, नेपालीको हृदयग्राही बनाउनुपर्छ । सिँजाका सिर्जना अहिले धेरैजसो हराइसकेका छन् । अब हराउन नपाओस् । हामी नेपाली आफ्नो पनमा गर्व गर्न सिकेका छैनौँ– संस्कार जस्तै इतिहास हराउँदै जाने छ । कति भाग्यमानी भन्लान् केहीले इतिहासै नभएका देशलाई– हामीले नासिनबाट सिँजा सभ्यता प्रतीकका रूपमा जोगाउनु पर्छ । सिँजा साम्राज्यको जीवन्त इतिहास कसैले झुटो लेख्दैमा झुटो हुँदैन । हो यसको इतिहास नखोज्नु, सिँजा सभ्यतामा ध्यान नदिनु एउटा ठुलो भूल र अक्षम्य अपराध भन्लान्, यसर्थ भविष्यसँग डराउनु पर्छ ।

कुनै पनि तानाशाहहरूको पराजय उनका कृपापात्रहरूले पूर्ण रूपेण लेख्न नसक्ने भएकाले सङ्क्षिप्त रूपमा भए पनि दिल्लीका सुल्तान मुहम्मद तुगलकको यस युद्धमा भएको ठुलो पराजयको विवरण नलेखे पनि त ती मुस्लिम आव्रmमणकारीहरूले सिँजा साम्राज्यमाथि विजय प्राप्त गरे न जुम्ली सिँजा राज्यले सुल्तानलाई कर तिर्ने गरेको प्रमाण नै छ । 

यस युद्धको समयमा सिँजा साम्राज्यका अधिपति राजा पुण्यमल्ल अथवा उनका सुपुत्र राजा पृथ्वीमल्ल थिए । सारा भारतवर्षलाई जिती गुलाम बनाउन खोज्ने आव्रmमणकारी सुल्तान मुहम्मद बिन तुगलाकलाई भारी पराजय दिन सक्ने जुम्ली सिँजा साम्राज्यका चल्लमल्ल राजाहरू र त्यहाँका वीर योद्धा सैनिकको सम्मान शब्दमा भए पनि हामीले गर्नु पर्छ । यही विरताको गाथा राम्ररी उनिएको माला सिँजा सभ्यता हो यसको समुचित विकास, संवर्धन र संरक्षण नै नेपालित्व हो । यस्ता विविध सभ्यताको संरक्षण गरिनु पर्छ भन्ने कुरा चोखो नेपालीलाई थाहा छ ।

बहुमूल्य प्राचीन ताम्रपत्र अहिले पनि तेका पेमा छ्योलिङ गुम्बा (ताघबाई गुम्बा) मा त्यहाँका लामाहरूले संरक्षण गरेर राखेका छन्– जो सिँजाका खस राजा आदित्य मल्लले दिएका हुन् ।

जोगाएर राख्न सकेको हुँदा खस राजा आदित्य मल्लको ताम्रपत्र अहिले ताघबाई गुम्बाका लामाहरूको ऐतिहासिक गौरवको विषय बनेको छ । शाके १२४३ (विव्रmम संवत् १३७८) मा राजा आदित्य मल्लको नाममा जारी गरिएको ताम्रपत्र सामागाउँ–साम्दो निवासी डुइटुप लामाले सुरक्षित राखेका हुन् । यस्ता प्राचीन धरोहर साहित्यमा भिœयाउन सक्नुपर्छ । साहित्यमा इतिहासको अनुभूति गौरव गर्ने गरिएको छ । इतिहास र संस्कृतिले साहित्य सजाउने कार्य नराम्रो होइन ।

‘इतिहास प्रकाश’ मा सो ताम्रपत्रको अनुवाद योगी नरहरिनाथले यसरी गर्नुभएको छ– ओम नमस्कार । श्री शाके १२४३ । श्री श्री आदित्य मल्लदेवको सपरिवारको जय होस् । राजाले भाकापत्र जारी गरी ‘करविहीन तुल्याएर’ सपरिवार बासगावा लामालाई दिए । हाम्रा यी शत्रु नासिऊन् । हामीलाई दान पुण्य मिलोस् । हाम्रो पादस्थलको रक्षार्थ राखेका रक्षक त्यहाँ छन् । लड्न आउँदा जाँदा गुम्बालाई नोक्सान नपु-याउनू । यदि कसैले ग-यो भने त्यसलाई एक सय तोला सुनको दण्ड हुने छ । त्यसको भलो हुने छैन । फौज रवाना भएको बेला भाकापत्र जारी भयो ।

चिनियाँ सांस्कृतिक क्रान्ति हुँदा तिब्बत रुइला गाउँबाट विस्थापितले साम्दो भन्ने ठाउँमा नयाँ बस्ती बसालेर तेका पेमा छ्योलिङ गुम्बा (ताघबाई गुम्बा) यहाँ निर्माण गरेका हुन् । मुस्किलले यहाँ ल्याएका गुम्बाका महìवपूर्ण मूर्तिहरू पछि तस्करले चोरेर तिब्बततिरै नै लगेको थाहा हुन आएको छ । 

नेपाली भाषाको उद्भव सिँजामा भएको हो भन्ने कुरा एक मुखले ठुला साना सबैले भनेको भए पनि सिँजामा उत्पत्ति भएको भाषा पूर्व–पश्चिमतर्फ फैलिँदै गएको कुरा सिद्ध गर्न नसकेसम्म यस भाषाको उद्भव सिँजामै भएको हो भनी भन्न सकिँदैन । यसको पहिलो लेख्य प्रमाण भने दुल्लुमा पाइएको छ । एउटा कुरा सत्य हो यो भाषा खसहरू जहाँ पुगे, त्यहीँ पुग्यो र स्थापित भयो ।

प्रताप मल्लको मात्र होइन, उनका बाबु लक्ष्मीनरसिंह मल्लको शाके १५६३ ने.सं. ७६१ तदनुसार विसं १६९८ को मखनटोलको शिलापत्रमा मखन महादेवस्थानको चार किल्लाभित्र काटमार नगर्नू भन्ने व्यवस्था गरिएको छ र यसको भाषा नेपाली भाषामा पाइएको छ । लक्ष्मीनरसिंह र प्रताप मल्लका शिलापत्रमा दृष्टिसाक्षीमा खस र मगर पनि भएकाले तिनीहरूमार्फत नै भाषा दरबारमा प्रवेश भएको देखिन्छ ।

लक्ष्मीनरसिंह  प्रताप मल्लले खसहरूसँग व्यवहार गर्न खस भाषा अर्थात् वर्तमान नेपाली भाषाको प्रयोग गरेको देखिन्छ । खसद्वारा नै नेपाल उपत्यकामा यो भाषा पसेकाले नेपाल भाषीबाट ‘खस भाय’ भन्ने नाम पाएको हो । पृथ्वीनारायण शाहको प्रवेश यहाँ हुनुभन्दा पहिल्यैबाट नेपाली भाषाको विस्तार हुन आएको देखिन्छ । अझ उपत्यकामा पृथ्वीनारायणपछि मात्र नेपाली भाषा भित्रिएको हो भनेर सुन्न चाहनेहरू पनि छन् । व्यक्तिको प्रभावले यथार्थ व्यङ्ग्याउन चाहने या यथार्थ पहिचान गर्न खोज्नेले जे भने पनि नेपाली भाषा सो समयमा उपत्यकामा प्रचलित थियो र त शिलापत्रमा पढ्न पाइयो । हल्लाको पछि लाग्नु पर्छ भन्ने कुरामा मलाई विश्वास छैन । आजको समयमा पनि मुढेबल  निकालेर पृथ्वीनारायणको साथमा नै उपत्यकामा नेपाली भाषा भित्रिएको हो भनी नाक फुलाउनेहरू पाइन्छन् । आजको समयमा गफमा होइन प्रमाणमा विश्वास गर्नु पर्छ । पुराना शिलापत्र र त्यसमा रहेका दृष्टसाक्षी देख्न नसक्नु– यथार्थदेखि टाढा रहनु हो, इतिहासको अपराधी हुनु हो, गलत इतिहासको पक्षपाती बन्नु हो ।

पृथ्वीनारायण शाहले नेपाल खाल्डो जित्नुभन्दा पहिले नै नेपाली भाषाले प्रतिष्ठा पाएको प्रमाण रानीपोखरीको शिलापत्र र अरू अभिलेखबाट पनि देखिन्छ । नेवारी र नेपाली दुवै भाषाको यहाँ प्रतिष्ठा थियो, रानीपोखरीको शिलापत्रबाट मात्र होइन त्यसभन्दा २९ वर्ष अगाडिको शिलापत्रबाट पनि यहाँ नेपाली बुझिन्थ्यो र त्यसको प्रयोग औपचारिक रूपले हुन्थ्यो भन्ने देखिएको छ । लक्ष्मीनरसिंह र प्रताप मल्लका नेपाली भाषामा लेखिएका शिलालेख पाइएका छन्, तिनमा साक्षी बस्नेहरूमा खस पनि छन्, भक्तपुरका राजा जगतप्रकाश मल्लले जग्गा दिँदा गरिदिएको ताम्रपत्र नेपालीमा छ । मल्लकालमा नेपाल खाल्डोमा बसोबास गरेका प्रजाहरूमा खस र पर्वते ब्राह्मणहरूको पनि उल्लेख पाइने हुनाले पृथ्वीनारायणको उपत्यका विजयभन्दा अगाडिदेखि नै यहाँ नेपाली भाषाले जनभाषाका रूपमा प्रवेश पाइसकेको थियो भन्ने कुरा स्पष्टसँग बुझिन्छ ।

प्रताप मल्लले आफ्ना दिवङ्गत छोरा चक्रवर्तीन्द्र मल्लको उद्धारका लागि बनाइएको रानी पोखरीलाई तीर्थका रूप दिन नेपाल र भारतका ५१ वटा तीर्थबाट जल त्यहाँ खनाउन लगाएका थिए । प्रताप मल्लका राज्यभित्रै पनि सबैतिर नेवारी भाषा नचल्ने हुँदा तीर्थका रूपमा रानीपोखरी बनाएको खबर पूर्व–पश्चिम सबैतिर फैलियोस् र यस पोखरीले तीर्थका रूप लेओस् भन्ने मनसायले पोखरीसम्बन्धी शिलालेख उनले नेपालीमा राखेका हुन् । भक्तपुरका राजा जगज्योति मल्लको लाहाछाप लगाई कागतमा लेखिएको शाके १५५४ तदनुसार विसं १६८९ को पत्र अनन्तलिङ्गेश्वरको पूजाआजाको व्यवस्था गरी त्यहाँका जङ्गम पुजारीलाई लेखिएको हो । नेवार राज्यका राजकीय पत्र नेपाली भाषामा जे जति पाइएका छन्, ती नेवार राजाहरूले आफ्नो भाषाज्ञानको प्रदर्शन गर्न लेखेको नभई नेवारीमा लेख्दा काम नचल्ने भएकाले खाँचो परेरै लेखेका हुन् । कति पुस्ताअगाडिदेखि दक्षिण भारतबाट आई भक्तपुरको काँठमा बसोबास गरेका ती जङ्गम पुजारी त्यतातिर चलेको नेपाली बुझ्ने र नेवारी भने नबुझ्ने भएरै नेपालीमा त्यो पत्र लेखिएको देखिन्छ । त्यो पत्र नेपालीको राम्रो ज्ञान भएर होइन कि कनीकुथी लेखिएको थियो भन्ने कुराका लागि ‘मठ’ लाई ‘मथ’ लेखेकोतर्फ औँल्याउन सकिन्छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट दखल गर्नुभन्दा ११२ वर्ष जति अगाडि खस (नेपाली) भाषा नेपाल खाल्डोमा पहिलो पटक लिखित रूपमा देखा परे पनि यहाँ खसहरूको प्रवेश ठुलो सङ्ख्यामा सोह्रौँ शताब्दीमा भइसकेकाले र उनीहरू सत्रौँ शताब्दीमा शासनमा पनि घुसिसकेकाले यहाँ त्यसैताका यो भाषा भित्रिसकेको थियो भनी भन्न सकिन्छ । इतिहासकार डा. महेशराज पन्तको मान्यतामा वैदिक वाङ्मय छोडेर संस्कृतका अरू ग्रन्थमध्ये धेरैजसो चाहिँ मातृभाषा संस्कृत नभएको पढेर संस्कृत जानेर लेखेका हुन् । संस्कृत भाषाका महाकवि कालीदासले पनि मेहनत गरेरै संस्कृत सिकेका हुन् । भारतमा मुसलमानी शासन चलेपछि क्रमशः संस्कृत ओरालो लाग्यो र त्यसको ठाउँ फारसीले लिए पनि अङ्ग्रेजी साम्राज्य उदाएपछि अङ्ग्रेजी भाषा बलियो भएर आयो । कालान्तरमा भारतभर सरकारको, अड्डा–अदालतको, व्यापार व्यवसायको र शिक्षाको भाषा पनि अङ्ग्रेजी बन्यो । भारत स्वतन्त्र भएको पनि धेरै भयो तर पनि अङ्ग्रेजीको ठाउँ हिन्दी भाषाले लिन सकेको छैन । भारतमा अहिलेसम्म पनि अङ्ग्रेजीको जुन प्रभाव छ, त्यो कृत्रिम नभएर आवश्यक हो भन्न सकिन्छ । तर नेपालको स्थिति भने एकदम पृथक् छ ।

लामो इतिहासले गर्दा नेपाली भाषा बहुसङ्ख्यकले बुझ्ने भाषा बन्न गएको छ । गोरखा राज्यको विस्तारपछि राजकाज नेपाली भाषामा चलेर आइरहे पनि यसलाई राष्ट्रभाषा भनेर पुकार्ने चलन थिएन । सिँजामा उत्पत्ति भएको नेपाली भाषाप्रति आस्था छ । म नेपालीमा पढ्छु, नेपालीमा लेख्छु, कमसेकम म आफ्नो मातृभाषा/राष्ट्रभाषालाई सम्मान गर्छु । नेपाली भाषाको अपमान हुने कार्य गल्तीवश, भूलवश पनि मबाट हुन नपाओस् यसतर्फ म सचेत छु– म पापी हुन चाहन्न । मलाई लाग्छ मातृभाषा नेपाली कहिल्यै नबिलाओस्, सिँजा साम्राज्यको धेरै उपहारमध्ये एउटा हो– नेपाली भाषा ।