• २ असार २०८१, आइतबार

नवलपुर जिल्ला लिग फुटबल सुरु

blog

बोमलाल गिरी

नवलपुर, जेठ ७ गते । नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । जिल्ला सदरमुकाम कावासोतीको वडा नं. १२ राजमन्दिरको मैदानमा सुरु भएको प्रतियोगिता जेठ १८ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा जिल्लाका १२ वटा क्लबले भाग लिएको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेत बहादुर पुनले जानकारी दिनुभयो । नकआउट चरणमा हुने प्रतियोगिताको विजेताले नगद ८० हजार रुपियाँ पुरस्कार, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले ५० हजार र दुई टिमलाई सान्त्वना पुरस्कार स्वरूप २०/२० हजार रुपियाँ प्रदान गरिने अध्यक्ष पुनले जानकारी दिनुभयो । 

त्यसैगरी उत्कृष्ट स्ट्राइकर, किपर र धेरै गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था गरिएको उहाँको भनाइ छ । प्रतियोगिता सञ्चालनका लागि ७ लाख रुपियाँ एन्फाले सहयोग गर्ने, ६ लाख ५० हजार जिल्ला खेलकुद विकास समितिले प्रदान गर्ने र एक लाख २५ हजार सेन्ट्रल कलेज चितवनले सहयोग गर्ने अध्यक्ष पुनले जानकारी दिनुभयो । 

हरेक टिमलाई दर्ताका लागि तीन हजार रुपैयाँ तोकिएको छ । टिम दर्ता हुनका लागि क्लबको दर्ता प्रमाण पत्र, अडिट रिपोर्ट, प्यान नम्बर, बैङ्क खाता अनिवार्य गरिएको छ भने जिल्ला खेलकुद विकास समितिमा पनि अनिवार्य दर्ता भएको हुनुपर्ने छ । ए, बी र सी डिभिजन खेलेका खेलाडीलाई समावेश गरिएको छैन । 

हरेक टिममा २५ जना खेलाडी दर्ता गर्न सकिने र ५ जना १९ वर्ष मुनिका हुनु पर्ने नियम अनिवार्य गरिएको आयोजकले जनाएको छ । टिममा अनुपस्थित भएमा २५ हजार जरिवानाको व्यवस्था गरिएको छ ।

नियमको पालना नगर्ने खेलाडीलाई २५ हजार जरिवाना र ६ महिनादेखि एक वर्षसम्म जिल्लामा खेल्न प्रतिबन्ध लगाइने अध्यक्ष पुनले बताउनुभयो ।  विजेता टिमलाई प्रदेशमा खेल्नका लागि सिफारिस गरिने उहाँको भनाइ छ ।