• २ असार २०८१, आइतबार

जर्मनीमा काठमाडौँ किकर्स च्याम्पियन

blog

काठमाडौँ, जेठ ८ गते । नेपालको काठमाडौँ किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा आयोजित चर्चित यूथ लिग भीआर बैङ्क कपमा यु–१४ तर्फको उपाधि जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम गर्दै किकर्सको यु–१४ टोली च्याम्पियन बनेको हो ।

राउण्ड रोविन लिग र फाइनल चरणका गरी १३ खेल खेलेको किकर्सले नौ खेलमा जित र चार खेलमा बराबरीको नतिजा निकाल्दै ३१ अङ्क बनायो । किकर्सको यस समूहमा जर्मनीको विभिन्न एकेडेमीका अन्य नौ टोलीको सहभागिता थियो । 

टोलीले अन्तिम दिनको खेलमा चारमध्ये तीनमा जित र एकमा बराबरीको नतिजा निकाल्दै उपाधि सुनिश्चित गरेको हो । टोलीले आफ्नो अन्तिम खेलमा एसभी सिलेन्बाकलाई २–० गोल अन्तरले हरायो । टोलीको यो महत्त्वपूर्ण जितमा आर्यवीर सिंह एक्लैले दुई गोल गर्नुभयो । आर्यबीर आफ्नो समूहमा सर्वाधिक गोलकर्तासमेत बन्नुभयो । उहाँले प्रतियोगिता अवधिभर आठ गोल गर्नुभएको थियो । 

नेपाली टोलीलाई जर्मनीको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी एवं बुन्डेस लिगा क्लब स्टुटगार्टका पूर्वकप्तान थोमस हिल्सपर्गरले पुरस्कार वितरण गर्नुभएको थियो । विश्वकप समेत खेलिसक्नुभएका हिल्सपर्गरले नेपाली खेलाडीसँग समेत केही समय बिताउनुभएको थियो । 

मोम्मेन्डोर्फ फुटबल क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको यस प्रतियोगिताको यो ५५औँ संस्करण हो । प्रतियोगितामा विभिन्न उमेर समूहमा गरी ७६ टोली र २० क्लबका गरी १२ सयभन्दा बढी खेलाडीले भाग लिएका थिए ।