• ११ असार २०८१, मङ्गलबार

मध्यपहाडी राजमार्गको कालोपत्रे अलपत्र

blog

जयमान बुढामगर

रुकुमपूर्व, जेठ ९ गते । मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुमपूर्वको सडकखण्डमा कालोपत्रेको काम अलपत्र पारिएको छ । भूमे गाउँपालिका–१, लुगुमदेखि बागलुङसँगको सिमाना पातिहाल्नेसम्मको १३ किलोमिटर र सिस्ने गाउँपालिका–६, रानीकोटदेखि रुकुमपश्चिमसम्मको सात किलोमिटर खण्डमा कालोपत्रेको काम अलपत्र अवस्थामा छ । 

नियमित काम भएको भए पाँच वर्षअघि नै यो सडक कालोपत्रे भइसक्ने बताइएको छ तर ठेकेदारको बेवास्ताले हालसम्म पनि कालोपत्रेको काम अलपत्र अवस्थामै छ । चौथो पटक म्याद थप गर्दा पनि निर्माण अधुरै राखिएको छ । 

लुगुम–यिरनेता १३ किलोमिटर खण्डमा आर्थिक वर्ष २०७२/७३ मा कालोपत्रेका लागि ठेक्का लागे पनि पछिल्लो तीन वर्षदेखि काम अलपत्रमा परेको छ । कालोपत्रेका लागि जिम्मा पाएको सिद्धिशाही प्रकाश कन्स्ट्रक्सन प्रालि सम्पर्कविहीन छ । 

कालोपत्रेका लागि ग्राभेल, नाली कटिङ, ग्याबिन तथा जाली हाल्ने काम अन्तिम चरणमा रहेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका सूचना अधिकारी नवीन खरालले बताउनुभयो । यद्यपि त्योभन्दा अघि काम बढाउन नसकेर ठेकेदारले अलपत्र पारेको उहाँले बताउनुभयो ।

पटक पटक ताकिता गरे पनि ठेकेदारले कामलाई निरन्तरता दिन नसकेको भनाइ सूचना अधिकारी खरालको छ । सिद्धिशाही प्रकाश कन्स्ट्रक्सन सम्पर्कविहीन भएपछि सिद्धिशाहीकै ठेक्का साझेदार निर्माण व्यवसायी भारत खिन्टी महादेव कन्स्ट्रक्सन सम्पर्कमा आएको सूचना अधिकारी खरालले जानकारी दिनुभयो । समयमै काम सम्पन्न गर्न नसकेपछि विभिन्न मितिमा तीन पटकसम्म म्याद थप गरिसकिएको छ । चौथो पटक असार मसान्तसम्म म्याद थप गरिएको छ । 

यसै गरी सिस्ने गाउँपालिका–६, रानीकोटदेखि रुकुमपश्चिमको खोपीचारसम्मको सात किलोमिटर सडकखण्डमा पनि कालोपत्रेको काम अलपत्र अवस्थामा छ । आव २०७४/७५ मा कालोपत्रेका लागि कालिका प्यासाफिक जेभीले जिम्मा पाएको थियो । 

सडकको मर्मतसम्भार भएन

कालोपत्रे भएको सडकखण्डमा पनि मर्मतसम्भार नहुँदा पहिरोले ठाउँ ठाउँमा क्षति पु¥याइरहेको छ । साना ठुला पहिरोका कारण कालोपत्रे गरिएको सडकमा ओहोरदोहोर गर्न कठिन हुने गरेको छ । 

वर्षा हुनेबित्तिकै ठाउँ ठाउँमा पहिरो जाने गरेकाले सडक अवरुद्ध हुँदा यात्रुले दुःख झेल्नु परिहरेको सिस्ने गाउँपालिका–५ का बलबहादुर शाहीले बताउनुभयो । कालोपत्रे नगरिएको सडकमा त यात्रा गर्न जोखिम रहेको शाहीले बताउनुभयो । 

मध्यपहाडी लोकमार्ग रुकुमपूर्व खण्डमा ५५ किलोमिटर छ । भुमे गाउँपालिका–१, लुकुमदेखि सिस्ने गाउँपालिका–६, रुकुमकोटस्थित रानीकोटसम्म ३५ किलोमिटर कालोपत्रे गरिएको छ । 

रानीकोटदेखि रुकुमपश्चिमको सिमाना खोपीचारसम्मको सात किलोमिटर र भुमे गाउँपालिका–१, लुकुमदेखि बागलुङको सिमाना यिरनेता (पातिहाल्ने) सम्मको १३ किलोमिटर गरी २० किलोमिटर कालोपत्रे गरिएको छैन ।

सडक निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनीका सञ्चालक बेखबर अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो । प्रजिअ शर्माले भन्नुभयो, “ठेकेदार आफ्नो कार्य क्षेत्रमा छैनन्, फोन गर्दा उठाउँदैनन् ।’’