• ६ असार २०८१, बिहिबार

माटाका भाँडाले चिनायो गाउँ

blog

दिवाकर पोखल

देउखुरी, जेठ १२ गते । ऐलानी जग्गामा ससाना झुपडी बनाएर बस्न सुरु गरेका दाङ गढवा गाउँपालिका वडा नं. ३, खैराखालका थारू समुदायको कायापलट भएको छ । 

माटोका भाँडा बनाएर गुजारा गर्ने स्थानीय कुमाल समुदाय व्यावसायिक रूपमा चिनिन थालेका छन् । कुमाल समुदायको पुख्र्यौली पेसालाई व्यवसायीकरण गर्ने काममा सरकारी तथा अन्य विभिन्न गैरसरकारी निकायले पहल गरेपछि अहिले यहाँका स्थानीयले माटोका भाँडा बनाउने पेसालाई व्यवसायीकरण गरेका छन् । यसबाट गाउँकै आर्थिक अवस्थामा सुधार आएको स्थानीय बताउँछन् । 

स्थानीय अगुवा चुन्नुराम थारू कुमालले १२ वर्षपछि आफूहरूको अवस्था परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो यो बस्तीमा कसैको नजर परेको थिएन, अहिले स्थानीय सरकार र स्थानीयस्तरमा सव्रिmय सङ्घ संस्थाको पहलमा बस्तीमा विकास भयो, नागरिकलाई व्यवसायी गराउने गरी सहयोग भयो । अहिले धेरै सुधार भएको छ ।”

खोलाको किनारमा रहेको बस्ती बाढीको उच्च जोखिममा थियो, अहिले तटबन्ध गरेर बस्ती सुरक्षित गराउने काम भएको छ । तटबन्ध गर्ने काम स्थानीय सरकारको पहलमा सहकर्मी समाज, फियान नेपाललगायतले लगानी गरे । 

१२ वर्षअघिबाट तत्कालीन गोवरडिहा गाविसको पहलमा स्थानीयस्तरमा सव्रिmय सङ्घ संस्थाले सुरुमा बस्ती जोगाउने अभियान चलाए । फियान नेपाल, सहकर्मी समाज, दक्षिण देउखुरी अधिकार मञ्च जस्ता संस्थाले गाउँको अवस्था देखेर सरकारका निकायसँग खाद्य अधिकारका सवालमा बहस पैरवी, समन्वय र सहकार्य गर्दै गए । सरकारी निकायले पनि उत्तिकै चासो देखायो । अहिले बस्ती जोगिएपछि स्थानयी ढुक्कका साथ व्यवसायलाई अघि बढाउन थालेका छन् । माटाको भाँडा बनाउने व्यवसाय गर्दै आउनुभएका गढवा गाउँपालिका–३, खैराका दामु थारूलाई पहिले बस्ती जोगाउने चिन्ता थियो । अब भाँडा बनाउने र बजारीकरणमा ध्यान छ । 

उहाँ भन्नुहुन्छ, “तटबन्ध भयो बस्ती जोगियो, अब व्यवसाय गरिरहेका छौँ, हाम्रो बस्तीलाई माटाका भाँडा बनाउने बस्तीको नामले चिन्न थालेका छन् ।” 

माटाका भाँडा बनाएरै वर्षमा पाँच लाख रुपियाँसम्म आम्दानी गर्ने उहाँले अहिले कच्ची घर हटाएर पक्की बनाउनुभएको छ । उहाँ मात्रै होइन, उहाँको गाउँका सबै जसोले कच्ची घर हटाएर पक्की बनाएका छन् । गाउँका सडक सुध्रिएका छन् । त्यहाँ बनाएका माटाका भाँडा पनि देशका विभिन्न स्थानमा बिक्न थालेका छन् । जसबाट अहिले स्थानीयको जीविकोपार्जनमा निकै सुधार भएको छ ।

कुल ५५ घरधुरी रहेको गढवा–३, खैराखालका समुदायको मुख्य पेसा नै माटाका भाँडा बनाउने हो । उनीहरूले उत्पादन गर्ने गरेका माटाका भाँडा बिव्रmी गर्न गाउँमै सात कोठाको गोदाम पर्यटन विकास डिभिजन कार्यालय नेपालगन्जको ६४ लाख ९२ हजारको अनुदानबाट तयार भएको छ । बिव्रmी गर्ने समन्वय गर्न एउटा समूह बनाइएको छ । 

गढवा गाउँपालिकाले माटो पोल्नका लागि आधुनिक भट्टी तयार पारेको छ । गाउँपालिकाले माटाका भाँडालाई डिजाइन दिने गरी स्थानीय तीन जना व्यवसायीलई तालिममा पठाएको छ । गैरसरकारी संस्थाहरूले पनि उत्तिकै सहयोग गरेका छन् । फियान नेपालको प्राविधिक सहयोगमा सञ्चालित खैरा खाद्य अधिकार समूहले माटाका भाँडा उत्पादन र प्रवर्धन गर्न पटक पटक सरकारका निकायको ध्यानाकर्षण गराउँदै आफ्ना अधिकारलाई अगाडि बढाएको फियान लुम्बिनीका संयोजक सुरेश गौतमले जानकारी दिनुभयो । 

५५ घरधुरीको बसोबास रहेको खैराखाल थारू कुमाल बस्तीका ३३ घरधुरीले माटाका भाँडा बनाउने पेसा अँगाल्दै आएको बताउँछन् । आधुनिक भट्टी निर्माणमा सहयोग गरेपछि आफ्नो पुख्र्यौली पेसाप्रति ध्यान गएको स्थानीय बताउँछन् ।

वडा कार्यालयको सिफारिसमा गत वर्ष पर्यटन विकास डिभिजन कार्यालय बाँकेले ६४ लाख ९२ हजार लगानी गरेपछि भाँडा राख्ने गोदाम घर, प्रदर्शनी कक्ष (सो रुम), भाँडा पोल्ने भट्टीघर, १५ थान भाँडा बनाउने विद्युतीय मेसिन र दुई थान माटो पेल्ने मेसिन उपलब्ध छ । माटाका भाँडाको व्यवसायीकरण गर्न सघाउनेदेखि गााउँको विकासमा जोड दिइएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिनुभयो ।