• १ साउन २०८१, मङ्गलबार

गणतन्त्रका उपलब्धि

भौतिक पूर्वाधारमा द्रुत विकास : रेलपछि सुरुङमार्गमा प्रवेश

blog

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ।

काठमाडौँ, जेठ १४ गते ।  जनक्रान्तिको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १६ वर्ष पूरा हुँदा देशको भौतिक पूर्वाधारमा पनि तीव्र विकास भएको छ । यस अवधिमा देशमा सडक, पुल, रेल, सुरुङमार्गसहित पूर्वाधार निर्माणमा द्रुत प्रगति हासिल भएको हो । 

गणतन्त्र स्थापनापछि सङ्घ, प्रदेश र स्थानीय सरकारको संयोजनका कारण सडक सञ्जालको विस्तारमा अपेक्षाकृत सफलता हासिल भएको छ । ९० प्रतिशतभन्दा बढी नागरिक आफ्नो गाउँबाट एक घण्टा पैदल यात्रामा सडकमार्गसम्म पुग्न सक्ने भएका छन् । २०६४ मा पाँच हजार ४०२ किलोमिटर पक्की सडक रहेको थियो । सडक विभागका अनुसार अहिले सडक विस्तार १६ हजार ६१४ किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म सडक विभाग अन्तर्गत निर्माण भएका सडकको जम्मा लम्बाइ ३४ हजार २६७ किलोमिटर पुगेको छ । जसमध्ये ५३.२ प्रतिशत सडक कालोपत्रे, २१.१ प्रतिशत खण्डस्मित (ग्राभेल) र २५.७ प्रतिशत कच्ची छ । अहिलेसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट निर्माण भएका कुल सडकको लम्बाइ एक लाख १० हजार किलोमिटर पुगेको छ ।

रेलदेखि सुरुङमार्गसम्म

पछिल्लो डेढ दशकमा राज्यका तर्फबाट भएका प्रयासबाटै जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालनमा आएको छ । साथै चार वटा सुरुङ सडकमार्ग छिचोलिएका छन् । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग योजना अन्तर्गतको मुख्य र आपत्कालीन सुरुङमार्ग छिचोलिएको छ । काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग अन्तर्गत लेनडाँडा र धेद्रे सुरुङमार्ग छिचोलिएको छ ।

एक हजार छ सय पुल निर्माण

गणतन्त्र स्थापनापछि देशभर एक हजार छ सय पुल निर्माण भएको सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएको छ । महाशाखाका इन्जिनियर विमल बस्नेतका अनुसार देशभरि तीन हजार ३३३ वटा पुल छन् । नेपाली इन्जिनियरको डिजाइनमा दुधकोशी नदीमा १२० मिटर लामो ‘सस्पेन्सन ब्रिज’, मुग्लिनस्थित चितवन–तनहुँ जोड्ने त्रिशूली नदीमा एउटै स्पानको १२० मिटर लामो देशकै पहिलो ‘आर्च’ पुल निर्माण भएको छ । 

दाङको सिसनिया–गढवा राप्ती नदीमा ८६५.४२ मिटरको नेपालकै दोस्रो लामो पुल निर्माण भएको छ । काठमाडौँको धोबीखोलामा नेपालकै पहिले ‘नेटवर्क आर्च’ पुल निर्माण भएको छ । सोही अवधिमा पूर्वपश्चिम राजमार्ग अन्तर्गतको २२५ मिटर लामो रातुखोला पुल, चार सय मिटर लामो मरिण खोला पुल, ३५० मिटर लामो भेरी नदीको पुल निर्माण गरिएको छ । यी पुलको निर्माणमा प्रिस्ट्रेस, आर्क, सस्पेन्सन ब्रिज जस्ता नयाँ प्रविधिको प्रयोग गरिएको छ । 

‘सिग्नेचर ब्रिज’ बन्ने

गणतन्त्र स्थापनापछि नै पूर्व पश्चिम राजमार्ग अन्तर्गत बागमती प्रदेश र गण्डकी प्रदेशलाई जोड्ने नारायणी नदीमा र पृथ्वी राजमार्ग अन्तर्गत पोखराको सेती नदीमा चार लेनको ‘सिग्नेचर’ पुलको शिलान्यास गरिएको छ । पुल महाशाखाका अनुसार ‘सिग्नेचर ब्रिज’ निर्माण गर्न देशका आठ स्थान पहिचान गरिएको छ । विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछियाखोला (मोरङ), तमोर नदी (धनकुटा), बागमती नदी (काठमाडौँ र रौतहट), तिनाउ नदी (बुटवल), रोहिणी नदी (भैरहवा), बकैया (मकवानपुर) स्थान पहिचान गरिएको महाशाखाले जनाएको छ ।

विश्वकै लामो झोलुङ्गे पुल

यस अवधिमा विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुलको लम्बाइ ५६७ मिटर र चौडाइ १.३८ मिटर छ । 

सिङ्गल स्पान भएको पुललाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ दर्ता गराउने प्रव्रिmया सुरु भइसकेको छ । यसअघि स्विट्जरल्यान्डमा ४९४ मिटर लामो झोलुङ्गे पुलको कीर्तिमान छ । यो झोलुङ्गे पुलले बागलुङ नगरपालिकाको बाङ्गेचौरदेखि पर्वतको कुस्मालाई जोड्छ । 

छ करोड ९१ लाख रुपियाँ बजेटमा निर्मित यस पुलले एकैसाथ ६१२ जना (करिब ८५ मेट्रिक टन) भार थाम्न सक्छ । झोलुङ्गे पुलको जिल्लाको उपनामले चिनिने बागलुङमा अहिलेसम्म ४१४ झुलुङ्गे पुल सञ्चालनमा छन् । अझै ३१ वटा निर्माणाधीन छन् ।

बाध्यात्मक अवस्थाको अन्त्य

गणतन्त्र स्थापनापछिकै यो अवधिमा दार्चुलाको तिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था अन्त्य भएको छ । दार्चुलाको व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले बाटो निर्माण गरेपछि तिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भयो । यसअघि खलङ्गाबाट तिङ्कर र लिपुलेक पुग्न भारतीय भूमि प्रयोग गर्नुपथ्र्यो । नेपाली सेनाले भारत–चीनको सीमानाका पर्ने घाँटीबगरमा ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माण गरेको छ ।

यसअघि व्यास गाउँपालिकाको छाङरू र तिङ्करका १८२ घरपरिवारका एक हजार दुई सय स्थानीयलाई खलङ्गा आवतजावत गर्न व्यास गाउँपालिकाको मौरीभिरमा चट्टान र घाँटीबगरमा पहिरो गएपछि आवतजावत गर्न समस्या भएको थियो । २०७७ वैशाख १४ गतेको मन्त्रीपरिषद्को बैठकले दार्चुला तिङ्कर सडक योजना अन्तर्गत उत्तरतर्फ ८७ किलोमिटर सडकखण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय गरेको थियो ।

हुम्लामा पुग्यो बस

हुम्लाबासीको बस चढ्ने धोको २०७७ मा पूरा भयो । कालीकोटको जितेबगरदेखि हुम्लाको बालुकुनासम्म पहिलो पटक नियमित रूपमा बस सेवा सञ्चालनमा आयो । त्यसै गरी काठमाडौँबाट हुम्लाको सलीसल्लासम्म पहिलो पटक गाडी पुग्यो । यातायात सञ्चालनसँगै हुम्लाका ताँजाकोट, सर्केगार्ड, चङ्खेली र अदानचुली गाउँपालिकाका स्थानीयको आवतजावत सहज भएको छ । संविधान सभा सदस्य एवं हुम्लाका राजनीतिज्ञ रीता शाहीले भन्नुभयो, “पहिले नौ दिन हिँडेर सुर्खेत जानुपथ्र्यो । अचेल एक दिनमै पुगिन्छ ।”