• ११ असार २०८१, मङ्गलबार

जीवनको गुहार

blog

नट ह्याम्सुनको जन्म नर्वेको लोममा ४ अगस्ट १८५९ मा भएको हो । सानै उमेरदेखि गरिबी भोगेका नट ह्याम्सुनको १८९० मा द हङ्गर नामको उपन्यास प्रकाशित भयो । त्यो उपन्यासले खुबै चर्चा पायो र उनको आर्थिक अवस्था पनि सुध्रियो । किसान र माटोको अन्तरसम्बन्धबारे लेखिएको उनको अर्काे चर्चित उपन्यास द ग्रोथ अफ द सइल १९१७ मा प्रकाशित भयो जसले उनलाई १९२० को नोबेल पुरस्कार दिलायो । उनको मृत्यु १९ फेबु्रअरी १९५२ मा नोरहोल्यमा भयो । नट ह्याम्सुनको कथा उपन्यास, संस्मरण र नाटक गरी तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनको कथा द कल अफ लाइफले जीवन प्रेम र यौन चाहनाको सफल चित्रण गरेको छ । 

कोपेनहेगनको भित्री बन्दरगाह नजिकै तल एउटा भेस्टरभोल्ड नाम गरेको सडक छ । सापेक्षित रूपमा भर्खरै बनेको त्यो नयाँ सडक उराँठ लाग्दो र सुनसान छ । सडकका दुवै किनारमा रुखहरू रोपिएका छन् । सडकका दायाँ बायाँ फाट्टफुट्ट घरमा ग्याँसबत्ती देखिन्छ भने लगभग कोही मान्छे देखिँदैन भन्दा हुन्छ । यतिबेला गर्मी याममा पनि त्यहाँ डुलिहिँड्ने मान्छे कमै देखिन्छ । तर जे होस् हिजो बेलुका मैले एउटा आश्चर्यलाग्दो घटनाको साक्षी हुनुप¥यो । 

फुटपाथमा ओहोरदोहोर गर्दै गर्दा मैले एउटी महिला विपरीत दिशाबाट आफूतिर आउँदै गरेको देखेँ । त्यहाँ वरिपरि कोही मान्छे थिएन । ग्याँसबत्ती बलिराखेको भए पनि यति अँध्यारो थियो कि मैले ती महिलाको अनुहार राम्रोसित खुट्ट्याउनै सकिनँ । सायद राति हिँड्ने कोही मान्छे होला, यस्तो सोच्दै अगाडि बढेँ । 

जब उनीसित मेरो तेस्रो चोटि भेट भयो, अभिवादन व्यक्त गर्न आफ्नो ह्याट फुकालेँ अनि भनेँ, “गुड इभिनिङ, कसलाई पर्खिनुभएको हो कुन्नि ?”

उनी झसङ्ग भइन् । हैन, यसको मतलब हो भन्ने बुझ्नुप¥यो । उनी कसैको प्रतीक्षामा थिइन् पक्कै । उनले प्रतीक्षा गरेको मान्छे नआउन्जेल मेरो साथ उनलाई मन नपरेको त हैन कतै ?

अहँ, त्यसो कदापि हैन उनले त मलाई उल्टै धन्यवाद पो दिइन् त्यसका लागि । उनले भनिन्, “कसैलाई पर्खिराखेकी हैन । यसो हावा खान निस्केकी– कस्तो सुनसान छ यहाँ ।”

हामी सँगसँगै टहल्दै हिँड्यौँ । थुप्रै विषयमा कुराकानी भयो तर खासै ठोस परिणाम  निस्केन, मैले उनलाई हात समाउन दिएँ । 

“भैगो, पर्दैन” यति भन्दै उनले मुन्टो हल्लाइन् । यस्ता पाराले डुलिहिँड्दा खासै रमाइलो भइराखेको थिएन । अँध्यारोमा उनलाई राम्रोसित देख्न पाएको पनि थिइनँ मैले । कति बजेछ भनेर सलाई कोरेर हेरेँ । त्यही मौकामा उनलाई पनि हेर्न भ्याएँ । 

“साँढे नौ भएछ,” मैले भनेँ ।

उनी जाडोले काम जस्तो लुगलुग काम्न थालिन् ।

मैले मौका छोपेँ ।

“जाडो भयो तपाईंलाई ? मैले सोधेँ यसो कतै बसेर केही पिउने कि ? टिभोलीमा ? नेसनलमा ?”

“देख्नुभएन तपाईंले ? म अब कतै जान सक्दिनँ,” उनले जवाफ फर्काइन् । 

बल्ल देखेँ मैले, उनले त कालो घ्ुम्टो पो ओढिराखेकी रहिछिन् । उनीसित माफी मागेँ अनि अँध्यारोमा गल्ती भएको कुरा स्विकारेँ । उनको क्षमाशील व्यवहारबाट म के कुरामा ढुक्क भएँ भने उनी अरू जस्तो राति राति डुलिहिँड्ने मान्छे होइन रहिछिन् । 

“मेरो हात समात्नु हुन्न, तपाईं ? मैले पुनः आग्रह गरेँ । अलिकति भए पनि न्यानो हुन्छ नि तपार्इंलाई ।” उनले मेरो हात समातिन् । 

हामी अलिबेर यताउता हिँड्यौँ । उनले फेरि मलाई घडी हेर्न आग्रह गरिन् । 

“दस बज्यो । कहाँ बस्नुहुन्छ तपाईं ?” मैले सोधेँ 

“ग्याम्ले कोन्गेभीमा ।”

मैले उनलाई रोकेँ ।

“तपाईंलाई घरसम्म पु¥याइदिऊँ ?” मैले सोधेँ ।

“भैगो, पर्दैन,” उनले भनिन् । “नाइँ तपाईंलाई म त्यहाँ जान दिन्नँ... ।

“तपाईं त्यही ब्रेडगेडमा बस्ने मान्छे होइन र ? कि कसो ?”

“कसरी थाहा भयो तपाईंलाई ?” चकित हुँदै मैले सोधेँ ।

“ओहो, म तपाईंलाई राम्ररी चिन्छु ।” उनले जवाफ दिइन् । 

एकछिन मौनता छायो । एकअर्काको हात समाउँदै हामी तल उज्यालो सडकतिर लाग्यौँ । छिटो छिटो हिँड्दै गर्दा उनको लामो घुम्टो पछिल्तिर लत्रिरहेको थियो । “अलि छिट्टै जाँदा राम्रो होला ।” उनले भनिन् । 

ग्याम्ले कोन्केभीस्थित उनको घरको ढोकामा पुगेपछि उनी मतिर फर्किन्, यस्तो लाग्थ्यो मानौँ घरसम्म सुरक्षित रूपमा ल्याइदिएकामा मलाई उनी धन्यवाद दिन चाहन्थिन् । मैले ढोका खोलिदिएँ, उनी बिस्तारै भित्र पसिन् । बिस्तारै कुमले ढोका ठेलेँ र म पनि उनको पछि पछि लागेँ । उनले भित्र पस्नेवित्तिकै मेरो हात च्याप्प समातिन् । हामी दुवै बोलेनौँ । 

दुई तला उक्लिसकेपछि हामी तेस्रो तलामा पुगेर रोकियाँै । उनी आफैँले ढोका खोलिन् । त्यसपछि अर्काे ढोका पनि खोलिन् अनि हात समातेर भित्र लगिन् । सम्भवतः त्यो बैठक कोठा थियो । भित्तामा घडी टिक टिक गरेको आवाज सुनेँ मैले । भित्र पसेपछि उनी अलिबेर रोकिइन् । अकस्मात् मतिर हात बढाइन् अनि थरथर काम्दै मलाई चुम्बन गरिन् प्रेमपूर्वक दाहिने गालामा । 

“बस्ने हैन ? उनले आग्रह गरिन् । सोफामा बस्दै गर्नुस्, त्यतिन्जेलसम्म म बत्ती बाल्छु ।” अनि उनले बत्ती झुल्क्याइन् । 

मैले आफैँलाई नियाँले अचम्मित हुँदै, म अझै जिज्ञासु थिएँ । म त एकदम फराकिलो र सजिसजाउ बैठक कोठामा पो उभिन पुगेको रहेछु । आधा मात्र खुलेको ढोकाबाट साइडको अरू थुप्रै कोठामा पस्न सकिन्थ्यो । जिन्दगीमा कस्तो मान्छेसित भेट भएछ, मैले केही बुझ्नै सकिन । 

“कति राम्रो कोठा । म एक्कासि कराएँ । तपाईं यहीँ बस्नुहुन्छ ?”

“अँ मेरो घर यही हो ।”  उनले जवाफ दिइन् । 

“तपाईंको घर यही हो ? उसो भए तपाईं बाबुआमासितै बस्नु हुन्छ होला हैन ?” “हैन हैन, उनी हाँसिन्, देखिहाल्नु भयो म त बुढी आइमाई पो हुँ त ।”

त्यसपछि उनले आफ्नो घुम्टो र अरू कपडा पनि खोलिन् । “देखिहाल्नु भो नि मैले भनेको थिएँ कि थिइन ?” यति भन्दै उनले अकस्मात् मलाई अँगालोमा बेस्सरी कसिन् । अनियन्त्रणीय कामवासनाले वशिभूत भएकी थिइन् उनी ।

उनी लगभग त्यस्तै बाइस तेइस वर्षकी थिइन् होला । दाहिने हातमा औँठी लगाएकी हुनाले विवाहित भएको पुष्टि गथ्र्यो । सुन्दर भन्न सकिन्थ्यो  उनलाई ।

छ्याकाटे अनुहार, आँखीभौँ खुइलिएको । उनी मस्त जवानीमा हिँडिराखेकी थिइन् । उनको मुख चाहिँ औधी राम्रो थियो । 

उनी को थिइन् अनि उनको लोग्ने कहाँ छ ? घरमा अरू पनि कोही छन् कि यो घर कसको हो ? यस्ता थुप्रै प्रश्न सोध्न चाहन्थेँ म उनलाई तर जति चोटि म सोध्न खोज्थेँ उति चोटि उनी मसित टाँसिन खोज्थिन् र सकेसम्म प्रश्न सोध्नै दिन्नथिन् । 

“मेरो नाम एलेन हो,” उनले भनिन्, “केही पिउने हो ? मैले घण्टी बजाउँदा कसैलाई बाधा पर्दैन बेडरुममा गएर बस्दै गरे हुन्छ । ”

म बेडरुममा पसेँ । बैठक कोठाबाट छिरेको उज्यालोले आंशिक रुममा बेडरुम झलमल्ल भएको थियो । 

दुई वटा बेड थिए त्यहाँ, एलेनले घण्टी बजाइन् अनि रक्सी मगाइन् । एउटी केटीले रक्सी लिएर आएको र बाहिर निस्केको थाहा पाएँ । एकछिनपछि एलेन बेडरुममा पसिन् तर अलिबेर ढोकैमा अडिइन् । म उनी भएतिरै लागेँ । उनी सँुक्क सुँुँक्क गर्दै मेरो नजिक आइन् ।

यो अघिल्लो साँझको कुरो थियो । 

त्यसपछि के भयो होला ? धैर्य गर्नुस् । म बताउँछु । धेरै कुरा छन् । 

म बिउँझिँदा झिसमिसे उज्यालो भइसकेको थियो । झ्यालको पर्दाबाट कोठाभित्र उज्यालो छिरिसकेको थियो । एलेन पनि बिउँझिसकेकी थिइन् अनि मतिर फर्केर मुसुक्क हाँसिन् । 

उनका हातहरू सेता र मखमल जस्तै नरम थिए भने छाती अस्वाभाविक रूपमा पुक्क उठेको थियो । मैले कानेखुसी गर्न खोज्दा उनले मुख थुनिन् । हामी दुवै मौन थियौँ । दिन छिप्पिँदै गयो उज्यालो बढ्दै गयो । 

दुई घण्टापछि म उभिए । एलेन पनि उभिइन् । लुगा लगाउनमा व्यस्त थिइन् । जुत्ता पनि लगाइन् उनले । त्यतिबेला मैले अनुभव गरेको कुरो अहिले आएर मलाई घिनलाग्दो सपना जस्तो लाग्छ । 

म धारानिर उभिएको थिएँ । एलेन अर्काे कोठामा काममा व्यस्त थिइन् । उनले ढोका खोल्दै गर्दा म फरक्क फर्कें अनि भित्र चियाएर हेरेँ । कोठाभित्र झ्यालबाट छिरेको सिरेटोले मलाई हान्थ्यो । यसैबिच मैले कोठाको माझमा टेबुलमा एउटा लास देखेँ । कफिनभित्र राखिएको उक्त लास सेतो कात्रोले छोपिएको थियो भने झुस्स परेको दाह्रीबाटै थाहा हुन्थ्यो कि त्यो लास लोग्ने मान्छेको हो । घँुडाको हाड गिङ्रिङ्ङ बाहिर निस्केको थियो भने  ओछ्यानबाट तल झोल्लिएको मुठी र उसको फुस्रो अनुहार देख्दै डरलाग्दो थियो । त्यो दृश्य मैले मध्य दिउँसो देखेको थिएँ । 

म एक शब्द नबोली अर्कोतिर फर्कें । 

एलेन फर्किंदा त म लुगा लगाएर बाहिर निस्किन ठिक परिसकेको थिएँ । उनले मलाई ग्वाम्लाङ्ङ अँगालोमा बेर्दा मैले प्रतिव्रिmया जनाउन सकिन् । उनले अरू थप लुगा लगाइन् । उनी मलाई तल सडकसम्म पु¥याउन चाहन्थिन्, मैले उनलाई नआउनू भन्न सकिनँ । हामी दुवै चुप थियौँ । ढोकामा आइपुग्नासाथ उनी कसैले नदेखोस् भनेर भित्तामा लपक्क टाँसिइन् । 

“गुडवाइ” उनले मसिनो स्वरमा भनिन् । “भोलिसम्मका लागि कि  ?” उनको मन चोर्नका लागि मैले सोधेँ । 

“हैन, भोलिसम्मका लागि हैन ।” 

“भोलि किन होइन त ?”

“धेरै प्रश्न नसोध न प्रिय भोलि त म कसैको दाहसंस्कारमा लागि मलामी जानु छ । मेरो नजिकको मान्छे बितेका छन् । अब त बुझ्यौ होला नि ।”

“अनि पर्सि त भेट्न सकिन्छ होला नि कि कसो ?”

“हुन्छ, पर्सि म तिमीलाई मेरै घरमा भेट्ने छु, गुडबाई । 

म आफ्नो बाटो लागेँ । 

उनी को थिइन् ? अनि त्यो लास ?

मुट्ठी बटारेको अनि मुख बाङ्गिएको त्यो लास कसको थियो ? कस्तो अचम्म ! को कति भयानक ! पर्सि त उनी मलाई पर्खिबस्लिन् भेटौँ कि नभेटौँ होला । त्यसपछि म सिधै तल बर्निया रेस्टुरेन्टतिर लागेँ अनि डाइरेक्ट्री मगाएर हेर्न थालेँ । हेर्दै जाँदा नाम र नम्बर फेलाप¥यो ,ठाउँको नाम ग्याम्ले कोन्गेभी । बिहानको पत्रिका ननिस्किउन्जेल पर्खिबसेँ । कसैको निधन भएको समाचारतिर आँखा लगाएँ । ठुला ठुला अक्षरमा सुरुमै लेखिएको रहेछ– त्रिपन्न वर्षका मेरा श्रीमान् लामो बिमारीपछि आज बित्नु भयो । सूचनाको मिति अघिल्लो दिनको थियो ।

निकैबेर घोरिएँ म । 

एउटा मान्छे बिहे गर्छ, जसकी श्रीमती आफूभन्दा तीस वर्ष कान्छी हुन्छे । लामो बिमारीले ऊ थला पर्छ । एक दिन ऊ मर्छ  अनि उसकी विधवा तरुनी स्वास्नी सन्तोष र मुक्तिको लामो सास फेर्छे । 

अनुवादक : बद्रीप्रसाद घिमिरे