• ११ असार २०८१, मङ्गलबार

रक्तस्राव गराउने प्राचीन विधि

blog

प्राचीनकालका विभिन्न सभ्यतामा चिकित्सा उपचारको एक माध्यमका रूपमा शरीरबाट जानाजान रक्तस्राव गराउने विधि (ब्लडलेटिङ) अभ्यासमा थियो । प्राचीन इजिप्ट र ग्रीसमा यो विधि निकै प्रचलनमा रहेको तथ्य भेटिन्छ ।

मध्ययुगमा व्यापकता तथा सम्मानका दृष्टिबाट यो विधि लोकप्रियताको शिखरमा पुगेको थियो । के विश्वास गरिन्छ भने शरीरका चार घटक रक्त, कफ, कालो पित्त र पहेँलो पित्तमा उत्पन्न हुने असन्तुलन नै विभिन्न रोगको कारण हुन्छ । प्राचीनकालमा  शरीरको सन्तुलन पुनस्र्थापित गर्नु रक्तस्रावको उद्देश्य हुन्थ्यो ।

प्रख्यात ऐतिहासिक व्यक्तित्व अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टन र इङ्ग्ल्यान्डका राजा चाल्र्स द्वितीयले समेत स्वास्थ्यलाभ प्राप्त गर्न रक्तस्राव गराएका थिए । यस विधिले उपचार गर्दा प्रायः दुर्भाग्यले लाभभन्दा बढी हानि नै हुन्थ्यो । कतिसम्म अनुमान गरिएको छ भने यसै उपचार अभ्यासका कारणले गर्दा वासिङ्टनको छिटै मृत्यु भयो ।

शताब्दीयौँ पहिले रोगको उपचार गर्न चिकित्सकले रोगीको शरीरमा जानाजान रक्तस्राव गराउँथे । रोगीको शरीरबाट रक्तस्राव गराउँदा कैयौँ खालका रोगव्याधि निको हुने उनीहरूको विश्वास थियो । प्राचीन कालदेखि मध्य युगसम्म र त्यसपछिका दिनमा समेत जानाजान रक्तस्राव गराउने विधिलाई विश्वासका साथ अँगालियो, भलै त्यसबाट गम्भीर परिणाम बेहोर्नु परेको किन नहोस ।

चिकित्सा विज्ञानले फ्लेबोटामी भन्ने गरेको जानाजान रक्तस्राव गर्ने विधिको जरा प्राचीन इजिप्टवासीदेखि रोमन कालसम्म देखिन्छ । प्राचीन चिकित्सकले जानाजान रक्तस्राव गराउन विभिन्न विधि अपनाउथे । जुकाले टोकाउने, चिर्ने आदि विधि रक्तस्रावका लागि अपनाइन्थ्यो । शरीरको सन्तुलन बनाउनका लागि उनीहरू यसो गर्दथे ।

मध्य युगमा त यस विधिलाई प्रभावकारी र आदरभावले हेरियो । मठमन्दिर र चिकित्सा विद्यालयमा यसबारेमा औपचारिक शिक्षा र तालिमको व्यवस्थासमेत गरिन थालियो । ज्वरो आएकोदेखि टाउको दुखेको तथा अन्य खालका शारीरिक विकारमा जानाजान रक्तस्राव गराउने विधिले मध्य युगमा व्यापकता पाएको थियो ।

रक्तस्राव गराउने विधिमा विश्वास भए पनि यसको नतिजा प्रायः गम्भीर हुन्थ्यो । धेरै नै रक्तस्राव भएका रोगीलाई कमजोरी हुने, सङ्क्रमण हुने तथा मृत्यु हुनेसम्मको जोखिम रहन्थ्यो ।

जर्ज वासिङ्टनले समेत आफ्नो घाँटीमा भएको सङ्क्रमणको उपचार गर्न जानाजान रक्तस्राव गराएका थिए । यसैका कारणले उनको मृत्यु चाँडै भएको विश्वास गरिन्छ । चिकित्सा विज्ञानको बढ्दो ज्ञान तथा रक्तस्राव गराउने विधि जोखिमपूर्ण भएको अनुभूति भएपछि १९ औँ शताब्दीमा आएर यस विधिको अभ्यास कम भएर गएको थियो । 

–युवामञ्च