• २ असार २०८१, आइतबार

संस्कृतिका धनी थारू

blog

बहुजातीय, बहुभाषिक, बहुधार्मिक विविधताले भरिपूर्ण नेपालमा सबै जातजातिका आ–आफ्नै संस्कार, संस्कृति र परम्परा रहेका छन् । तिनमा आफ्नै खालको विशेषता पनि छ ।  नेपालको मेचीदेखि महाकालीसम्म तराई तथा भित्री मधेशमा प्राचीनकालदेखि थारू जातिले बसोबास गर्दै आएका छन् । थारू जाति नेपालको मूलवासी हुन् । भारोपेली भाषा परिवारभित्र पर्ने थारू भाषा नेपालमा नेपाली, मैथिली र भोजपुरीपछिको चौथो ठूलो सम्पर्क भाषा हो । 

थारूहरूको बसोबास रहेको भूगोललाई थरुहट, थारुवान, बुह्रान जस्ता नामले पनि सम्बोधन गरिन्छ । थारू समुदाय लोकसाहित्य तथा संस्कृतिको धनी मानिन्छ । माघी थारूहरूको नयाँ वर्षसहितको ठूलो चाड हो । होली, गुरिया, अष्टिम्की, अट्वारी, जितिया, दशैँ तिहार मुख्य चाड हुन् ।

थारूहरूको मुख्य पेशा कृषि हो तर अचेल पेशामा विविधीकरण देखिएको छ । थारू जातिको पुरोहितलाई गुरुवा वा भर्रा भनिन्छ । थारूहरूको पारिवारिक र सामाजिक चाडपर्व मनाइँदा गुरुवाको ठूलो भूमिका रहन्छ । थारूको कुलदेवता काली भगवती, मैया, गोरैया हुन् । यो जातिको हरेक घरमा कुलदेउता रहन्छन् । कुलदेउता रहेको ठाउँमा घरमूलीले नै सुत्नुपर्छ । थारूहरू बिहानको खाजालाई बासी, बिहानको खानालाई कल्वा, दिउँसोको खाजालाई मिझ्नी र साँझको खानालाई बेरी भन्छन् । थारू जातिको सम्मानसूचक सम्बोधन चौधरी हो । 

संस्कार

संस्कार आफैँमा निर्विवाद रहन्छ । यो परम्परादेखि चलिआएको हुनाले सर्वमान्य पनि हुन्छ । यसर्थ थारू समाजमा पनि जन्मदेखि मृत्युपछिसम्मका विभिन्न संस्कार रहेका छन् । थारू संस्कारमा रक्सी अनिवार्य रहन्छ । संस्कार सम्पन्न गर्नका लागि थारू गुरुवाहरू रहने गर्छन् । 

जन्म

थारू जातिमा बच्चा जन्मिने बेलामा तुरुन्त सुँडेनी (सोह्रिन्या)को व्यवस्था गरिन्छ । सोह्रिन्याले बच्चा जन्मदा बच्चा र आमा दुवैलाई  सहयोग गर्छिन् । सोह्रिन्याले यसरी सहयोग गरिदिएबापत भेटीका रूपमा पैसा, अनाज, लत्ताकपडा पाउँछन् ।  थारू समाजमा जब बच्चा जन्मन्छ तब सुत्केरी आमा र बच्चाका लागि भनेर विशेष कोठाको व्यवस्था गरिन्छ । जसमा सुरक्षाको व्यवस्थासमेत गरिएको हुन्छ ।

उक्त कोठाभित्र पुरुषलाई पस्न दिइँदैन । बच्चाको नाभी नझरेसम्म घरका मान्छेबाहेक कसैले पनि सुत्केरी र बच्चा छुन पाउँदैनन् । थारू जातिमा बच्चाको नाम राख्ने विधि अन्य जातिको भन्दा फरक रहेको छ । थारू बच्चाको नाम राख्दा साइत, नक्षत्र, ग्रह आदि हेरेर राख्ने चलन छैन । नाम राख्दा बच्चा जन्मेको खासगरेर घटनाक्रम, दिन, महिना, स्थान, सामान आदिलाई आधार मानेर राख्ने गरिन्छ । 

जस्तै आइतबार जन्मेको बच्चाको नाम अतवारी, अत्रि, सोमबार जन्मेको खण्डमा सोमप्रसाद, सोम्बा, सोम्ली, रेडियो बजिरहेको बेला जन्मेमा रेडिलाल आदि तर समय परिवर्तन भएसँगै अचेल आधुनिक जमानाका  नाम राख्ने चलन बढ्दै गइरहेको छ ।

विवाह

केही वर्षअघिसम्म थारू समुदायमा विवाह सानै उमेरमा गर्ने चलन थियो । त्यसमा पनि छोराको विवाह उमेर पुगेकी छोराभन्दा ठूली कन्यासँग विवाह गरिदिने परम्परा थियो तर अहिले यस्तो चलनमा क्रमशः सुधार आइरहेको छ । थारू समुदायमा विवाहका लागि तल्लो र उपल्लो जात वा थर भन्ने भेद छैन । सबै थरीकासँग एकआपसमा मन मिले बिनासामाजिक रोकतोक विवाह गर्न सकिन्छ तर थारूहरूले आफ्नो गोत्रभित्र पर्ने जतिसुकै पुरानो गोतियार भए पनि हाडनाता लाग्छ र विवाह चल्दैन ।

यस जातिमा विवाहका लागि ज्योतिष, पण्डित आदिको सहयोग लिएर केटा र केटीको जन्म कुण्डली हेरी ग्रह, नक्षत्र र साइत मिलाई राख्नुपर्दैन । फागुन महिनाको शनिबारबाहेक प्रायः सबै दिन विवाह गर्नका लागि उपयुक्त दिन मानिन्छ ।

चाडपर्व तथा पूजा

चाडपर्व, संस्कृति मानिसको सामूहिक जीवनशैली हो । चाडपर्वले समुदायलाई खुशी, उत्साह दिने तथा जीवन्त बनाउने काम गर्छ । 

थारू जातिको अलग पहिचान दिने खालका आफ्नै भाषा, धर्म, संस्कृति एवं रीतिरिवाज छन् । जस्तै गुरही, फगुइ, अष्टिम्की, डस्या (दशैँ), डेवारी (तिहार), माघ, अट्वारी आदि मुख्य चाडपर्व हुन् भने हरेरी पूजा, लवाङ्गी पूजा, औली उतर्ना, धुर्रा लौसर्ना, टोक्टा, बगार पूजा, भजहर पूजा आदि मुख्य पूजापाठ हुन् । 

मृत्यु संस्कार 

थारू जातिमा मरेको मानिसको शरीरलाई जलाउने र चिहान खनी गाड्ने दुवै चलन रहेको छ । यस जातिमा शवलाई उत्तर सिरानी पारी पुरुष भए घोप्टो र महिला भए उत्तानो पारी घाटमा विधि विधानका साथ दाहसंस्कार गरिन्छ । थारू जातिमा १३औँ दिनमा चोखिने चलन रहेको छ । यस अवधिमा घरका अन्य सदस्यले तेल, बेसार खानु हुँदैन । 

मान्छे मरेपछि काजकिरिया सकी गरिने अन्तिम कर्मलाई थारू भाषामा मर्नीकर्नी वा दिन कर्ना भनिन्छ । १३औँ दिनमा भने परिवार, आफन्त, नातेदार, इष्टमित्र, गाउँलेलाई बोलाई मांसाहारी भोज खुवाउने चलन रहेको छ । 

–निशा चौधरी