• २ असार २०८१, आइतबार

च्यालेन्जरमा विलीन मकोलेफ

blog

भलै क्रिस्टा मकोलेफले च्यालेन्जर दुर्घटनामा ज्यान गुमाएकी हुन्, त्यस अभियानमा सहभागी हुने चुनौती सहर्ष स्वीकार गरेर उनी एक प्रेरणादायक कथा छाडेर गएकी छन् ।

सन् १९८४ अगस्त २७ मा राष्ट्रपति रोनाल्ड रेगनले एक जना शिक्षकलाई नासाले अन्तरिक्ष परियोजनामा सहभागी गराउन लागेको घोषणा गरेका थिए । करिब ११ हजार शिक्षकले अन्तरिक्ष यानमा सवार भएर अन्तरिक्षको यात्रा गर्नका लागि आवेदन गरे, जसमा ३६ वर्षीय क्रिस्टा मकोलेफ पनि थिइन् । न्यु ह्यापसायरको कनकोर्ड हाइस्कुलमा उनी सामाजिक विषय पढाउने गर्थिन् ।

लेबनानी मूलकी अरब–अमेरिकी मकोलेफले आफ्नो पेशाको प्रवर्धन तथा शिक्षकहरूको पैरवी गर्ने उत्तम अवसरका रूपमा यस अन्तरिक्ष अभियानलाई लिइन् । अर्को वर्ष नासाले आफूलाई अन्तरिक्ष अभियानमा पठाउन छनोट गरेको खबर पाएर उनी रोमाञ्चित भइन् ।

उपराष्ट्रपति जर्ज एच डब्ल्यु बुसले सन् १९८५ जुलाई १९ मा मकोलेफलाई अन्तरिक्ष अभियानका लागि छनोट गरिएको घोषणा गरेपछि उनले प्रतिक्रिया दिइन्, “एक शिक्षकसँग भन्नका लागि शब्द नै नहुने अवस्था प्रायः आउँदैन ।”

अन्तरिक्ष अभियानका लागि छनोट गरिएका अन्य व्यक्तिसँग घनिष्ठ मित्रता भएको कुरा गर्दै उनले भनेकी थिइन्, “जब यान माथि उठ्ने छ, त्यहाँ एक शरीर हुन सक्छ तर मसँगै त्यहाँ १० आत्मा हुने छन् ।”

सन् १९८६ जनवरी २८ मा च्यालेन्जर अन्तरिक्ष यानसँगै मकोलेफले अन्तरिक्षका लागि उडान भरेको हेर्नका लागि अमेरिकाका स्कुले विद्यार्थी टेलिभिजन अगाडि झुम्मिए । पराकाष्ठामा पुगेको रोमाञ्च त्यतिबेला एकाएक चिन्ता र भयमा परिणत भयो जब प्रक्षेपण गरिएको ७३ सेकेन्डमै यान आकाशमा विस्फोट भयो ।

त्यस दुर्घटनामा सबै सात अन्तरिक्ष यात्रीले ज्यान गुमाए । नासाका अधिकारीले यस सन्दर्भमा घोर अनुसन्धान गर्नु प¥यो तथा शिक्षक र विद्यार्थी यस घटनाले नराम्रोसँग आहत भए तर नासाको अभियानमा मकोलेफको अग्रणी भूमिकाबाट प्रेरित भएर अन्ततः अमेरिकी शिक्षकहरूले अन्तरिक्षको यात्रा गरे ।

क्रिस्टा मकोलेफलाई नासाको पहिलो गैरपारम्परिक अन्तरिक्ष यात्री मानिँदैन । च्यालेन्जर यानमा उनले पाइला टेक्ने बेलासम्म नासाले प्रचारबाजी र कोष व्यवस्थाका लागि अन्तरिक्ष अभियानमा जाने यानमा राजनीतिक हस्तीहरूलाई पहिले नै सिट उपलब्ध गराइसकेको थियो । सिनेटर जेक गार्न, साउदी अरबका राजकुमार सुल्तान इब्न सलमान अल साउद र कङ्ग्रेसका सदस्य बिल नेल्सनले सन् १९८५ अप्रिलदेखि सन् १९८६ जनवरीको अवधिमा अन्तरिक्षको यात्रा गरिसकेका थिए । नेल्सन त पछि सन् २०२१ मा नासाको प्रशासक पनि भए ।

सन् १९६९ मा चन्द्रमामा मानिसलाई उतारेको नासालाई त्यसपछि आवश्यक कोषको अभाव हुन थाल्यो । उसले लोकप्रियतासमेत गुमाउन थालेको थियो । यस्तो अवस्थामा नासाले सामान्य अमेरिकीलाई समेत अन्तरिक्षमा पठाएर अमेरिकी अन्तरिक्ष अभियानमा जनरुचि पुनर्जागरण गर्ने कोसिस गर्न थाल्यो र त्यसैको एक हिस्सा थियो अन्तरिक्षमा शिक्षक पठाउने प्रयास ।

एक आवेदकका रूपमा मकोलेफलाई के चिन्ता थियो भने अन्य प्रतिस्पर्धी जति आफूसँग विज्ञान अध्ययनको बलियो पृष्ठभूमि वा अन्य खालका उपलब्धि छैनन् तर ‘द बर्निङ ब्ल्यु : द अनटोल्ड स्टोरी अफ क्रिस्टा मकोलेफ एन्ड नासाज च्यालेन्जर डिजास्टर’ पुस्तकका लेखक केभिन कुकका अनुसार नासाले जे कुरा खोजिरहेको थियो त्यसका लागि त्यो आवश्यक थिएन ।

उनले भनेका छन्, “नासाले यस्तो व्यक्तिको खोजी गरिरहेको थियो जसले अन्तरिक्ष अभियानका बारेमा जनमानसलाई पुनः उत्साहित बनाउन सकोस् ।”

कुकले अगाडि लेखेका छन्, “अन्तरिक्ष यानमा सवार भएर अन्तरिक्षमा जाने विलक्षण क्षमतायुक्त स्कुले विज्ञान शिक्षक उनीहरूलाई आवश्यक थिएन, उनीहरूसँग सबैतिर वैज्ञानिक थिए । एक सहभागीले मलाई भने अनुसार उनीहरूलाई यस्तो व्यक्ति चाहिएको थियो जसले जोनी कार्सन ‘सो’ भन्दा राम्रो प्रदर्शन गर्न सकोस् ।”

सन् १९८५ मा मकोलेफलाई छनोट गरिएपछि उनी तत्काल राष्ट्रियस्तरको व्यक्तित्व बनिहालिन् । उनले अन्तर्वार्ता दिइन् तथा ‘द टुनाइट सो स्टारिङ जोनी कार्सन’ कार्यक्रिममा देखा परिन् । मकोलेफले दिएका धेरैजसो अन्तर्वार्तामा उनले आफूले पाएको मञ्चलाई शिक्षण सेवाप्रति आफ्नो लगाव बारेमा कुरा गर्न तथा शिक्षकका मुद्दा प्रवर्धन गर्न प्रयोग गरिन् ।

मकोलेफले टेक्ससको ह्युस्टनमा रहेको ‘लेन्डन बी. जोनसन स्पेस सेन्टर’ मा आफ्नो वैकल्पिक बार्बरा मोर्गनसहित छनोट भएका अन्य छ जनासँगै कैयौँ महिना विशेष प्रशिक्षण लिइन् । चालकदलमा सहभागी अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष यान सञ्चालन गर्ने जिम्मेवारी त थियो । मकोलेफले ‘पेलोड स्पेसलिस्ट’ को जिम्मेवारी पाइन् र अन्तरिक्षमा बाँच्ने तरिकाको तालिम उनलाई दिइयो । साथै अन्तरिक्ष यानमा रहँदा पढाउन सक्ने गरी विज्ञानका अध्यायको समेत उनले अभ्यास गरिन् ।

अन्तरिक्ष परियोजनामा शिक्षक सहभागिताको ठूलो लोकप्रियता देखेर नासाले मकोलेफद्वारा आफ्नो अभियान सुरु गरिनु पहिले नै अन्तरिक्ष कार्यक्रममा पत्रकारलाई सहभागी गराउने घोषणा गर्ने निर्णय लियो । त्यसका लागि सन् १९८६ जनवरीसम्म म्याद तोकेर आह्वान गरिएको विज्ञापनमा ठूलो आशाका साथ आवदेन दिने एक हजार ७०३ जनामध्ये वाल्टर व्रmोन्काइट, छम ब्रोका, साम डोनाल्डसन र गेराल्डो रिभेराको नाम पनि थियो तर च्यालेन्जर दुर्घटनामा परेपछि नासाले पत्रकारलाई अन्तरिक्षमा पठाउने कार्यक्रिम चाँडै नै स्थगित गरिदिने भयो ।

सन् १९८६ जनवरी २८ को दिन बिहान च्यालेन्जर यानलाई अन्तरिक्षमा प्रक्षेपण गर्न जोडतोडले काम चलिरहेको थियो । मकोलेफका पति, बच्चा र आमाबुवा च्यालेन्जरसँगै उनले उडान भरेको हेर्न फ्लोरिडाको केप केनाभरलमा भेला भएका थिए । मौसम अनुकूल नभएका कारण नासाले धेरै दिनदेखि यान प्रक्षेपणमा ढिलाइ गरिरहेको थियो र अघिल्लो दिनसमेत अन्तिम समयमा प्रक्षेपण रोक्नु परेको थियो । लगातार दोस्रो दिन चालकदलका सदस्य यानमा चढे र उडान भर्ने तयारीमा जुटे । यस पटक निर्धारित समयमा च्यालेन्जर अन्तरिक्षतिर हुइँकियो र त्यस घटनालाई प्रत्यक्ष हेरिरहेका दर्शक खुसीले गदगद भए तर चाँडै ती सबैजनाले नचिताएको घटना देख्नु प¥यो– यान आकाशमा विस्फोट भयो ।

प्रक्षेपणका बेला उपस्थित पत्रकार बब होलरले त्यस दिनको घटना सम्झँदै प्रतिक्रिया दिएका छन्, “हामीमध्ये कसैले पनि प्रक्षेपण प्रत्यक्ष देखेका थिएनौँ, यसर्थ वास्तवमा के भएको थियो स्पष्ट छैन । केही प्रत्यक्षदर्शीले यानका ठोस ‘रकेट बुस्टर’ यानबाट अलग भएको ठाने र आफूले जे देखेको हो त्यसबारेमा उनीहरूलाई थाहा थिएन । उनीहरूले दुर्घटना भएको सोचेका पनि थिएनन् ।”

नासाका सार्वजनिक मामिला अधिकारीले स्टिव नेसबिटले चकित पार्ने घोषणा गरेपछि मानिसहरू केही न केही गडबड भएको ठाने, जुन घोषणा टेलिभिजन हेरिरहेका मानिसले समेत सुने, “यहाँका उडान नियन्त्रकले परिस्थितिलाई गम्भीरतापूर्वक हेरिरहेका छन् । स्पष्ट रूपमा भन्नु पर्दा एक भयङ्कर खराबी आएको छ ।” अनि एक मिनेटपछि उनले भने, “हामीलाई ‘फ्लाइट डायनामिक्स अफिसर’ बाट प्राप्त सूचना प्राप्त भएको छ, यान विस्फोट भयो ।”

प्रक्षेपण हेरिरहेका धेरै जनाले ठाने यानका चालक दलका सबै सदस्यको तत्काल मृत्यु भयो तर पछि गरिएको अनुसन्धानबाट के थाहा भयो भने आफ्नो सुरक्षित कक्षमा रहेका चालकदलका सदस्य सुरुको विस्फोटमा बचे र त्यो कक्ष बजारिएर सबै जनाको ज्यान गयो । दुर्घटनाका विषयमा गरिएको अनुसन्धानबाट थाहा भयो यानका ठोस ‘रकेट बुस्टर’ मा रहेका ‘ओ–रिङ’ ले चिसो तापक्रममा कस्तो प्रतिक्रिया देखाउने हुन् भन्ने बारेमा पहिल्यै चिन्ता जनाइएको थियो तर नासा तथा ‘बुस्टर’ निर्माता कम्पनी मोर्टन थियोकोलका निर्णयकर्ताले त्यसबारेमा इन्जिनियरहरूले दिएको चेतावनी बेवास्ता गरेका रहेछन् । 

“सुरुका दिन दुःख, शोक व्यक्त गर्नमा गए,” ‘आई टच द फ्युचर : द स्टोरी अफ क्रिस्टा मकोलेफ’ पुस्तकका लेखक होलरले भनेका छन्, “व्यापक जनआक्रोश देखिन समय लाग्यो । जुन घटना भएको थियो त्यसबारेमा जति हामीले थाहा पाउँदै गयौँ त्यस अनुसार नै आक्रोश बढ्यो । हामीमध्ये धेरैजसोलाई महसुस नै भएन यो कति खतरनाक थियो ।”

यस दुर्घटनाप्रति चालकदलका सदस्यका परिवारको बेग्लाबेग्लै प्रतिक्रिया थियो । च्यालेन्जरका कमान्डर डिक स्कोबीकी श्रीमती जुन स्कोबी रोजर्सले विद्यार्थीलाई विज्ञान र इन्जिनियरिङका बारेमा पढाउन स्थापना गरिएका कैयौँ च्यालेन्जर सेन्टरमध्ये पहिलो सेन्टर सन् १९८६ मा स्थापना गरिन् । यस संस्थाले च्यालेन्जरको चालकदलका सदस्य ग्रेगोरी जार्भिस, क्रिस्टा मकोलेफ, रोनाल्ड म्याकनेयर, इलिसन ओनिजुका, जुडिथ रासनिक, डिक स्कोबी र माइकल स्मिथको स्मृति संरक्षणको काम समेत गर्दछ ।

यस दुर्घटनाका कारण नासाले अन्तरिक्ष अभियानमा शिक्षकलाई सरिक गराउने कार्यक्रम रद्द ग¥यो तर यसबाट शिक्षकसँग नासाको सहयोग यात्रा भने समाप्त भएन । सन् २००० को सुरुका दिनमा नासाले शिक्षकलाई पूर्णतया अन्तरिक्ष यात्री बनाउन प्रशिक्षित गर्नका लागि ‘एजुकेटर एस्ट्रोनट प्रोग्राम’ थालनी ग¥यो । ‘टिचर्स इन स्पेस प्रोजेक्ट’ मा मकोलेफको वैकल्पिक प्रशिक्षार्थी रहेकी शिक्षक बार्बरा मोर्गन नयाँ कार्यक्रम अन्तर्गत सन् २००७ मा अन्तरिक्षमा गइन् । सन् २०१० मा हाइस्कुलका विज्ञान शिक्षक डोयटी मेटकाफ–लिन्डेनबर्गर डिस्कभरी यानमा एक विशेषज्ञका रूपमा अन्तरिक्षमा गइन् र त्यहाँ तीन सय ६२ घण्टाभन्दा बढी समय व्यतीत गरेर फर्किइन् ।

जतिबेला च्यालेन्जर दुर्घटना भएको थियो मेटकाफ–लिन्डेनबर्गर पाँच कक्षामा पढ्थिन् । विज्ञानमा रुचि राख्ने मेटकाफ–लिन्डेनबर्गरका आमाबुवा पनि शिक्षक नै थिए । अन्तरिक्षमा पहिलो पटक शिक्षक पठाउन लागेको हेर्न पाउँदा उनी निकै उत्साहित थिइन् । च्यालेन्जर दुर्घटना भएपछि मेटकाफ–लिन्डेनबर्गरले आफ्नी आमालाई सोधेकी थिइन्, “चालकदलका सदस्य कसरी मरे ।”

मेटकाफ–लिन्डेनबर्गरको अन्तरिक्षमा जाने सपना न त च्यालेन्जर दुर्घटनाले न त सन् २००३ फेब्रुअरी १ मा भएको कोलम्बिया दुर्घटनाले नै साकार हुनबाट रोक्न सकेन । अन्तरिक्षबाट पृथ्वीमा फर्किने बेला कोलम्बिया वायुमण्डलमा टुक्राटुक्रा हुँदा सबै सात यात्रुको मृत्यु भएको थियो । त्यतिबेला मेटकाफ–लिन्डेनबर्गर ‘एजुकेटर एस्ट्रोनट प्रोग्राम’ का बारेमा थाहा पाएकी थिइन् र त्यसपछि उनले त्यस कार्यक्रममा सहभागी हुने निधो गरिन् ।

मेटकाफ–लिन्डेनबर्गरले भनेकी छन्, “अन्तरिक्षमा उडान भर्नुमा ठूलो खतरा छ भन्ने थाहा पाउँदा पाउँदै पनि मैले आवेदन गरेँ ।” उनी हाल च्यालेन्जर सेन्टरको बोर्ड सदस्य छिन् । 

– उमेश ओझाद्वारा हिस्ट्रीबाट अनुवादित र सम्पादित ।