• २ असार २०८१, आइतबार

गरुडको महिमा

blog

हाम्रो धर्मशास्त्रमा उल्लेख भएनुसार विभिन्न देवीदेवताको आ–आफ्ना किसिमका वाहन रहेका छन् । गणेशको वाहन मुसो, कुमारको मयूर, पार्वतीको बाघ, भैरवको कुकुर, इन्द्रको हात्ती र शिवको वाहन साँढे भएजस्तै विष्णुको वाहन गरुड हो । यहाँ विष्णु भगवान्को वाहन गरुडका सन्दर्भमा केही चर्चा गरिएको छ । 

विष्णु पुराणमा गरुडको महिमा विशेष रूपमा गरिएको छ । गरुड उड्ने पन्छी हो । जसलाई पन्छीहरूका राजा र भगवान् विष्णुको वाहन मानिएको छ । यस पन्छीले सर्प, भानेमुङ्ग्रोलाई खाइदिन्छ । त्यसैले सर्पले दुःख दियो भने गरुडको नाम लिनु भन्छन् । 

गरुड एक किसिमको चरा जाति हो । यसको प्राचीन कथालाई हेर्दा एक पन्छी कसरी भगवान्को वाहन हुन पुग्यो ?, यसको उत्पत्ति कसरी भयो ? भन्ने कथा रोचक छ । गरुडलाई कश्यप ऋषि र विनीताका पुत्र भनिएको छ । विनीता दक्ष प्रजापतिकी कन्या थिइन् । गरुडको दाजुको नाम अरुण हो, जो भगवान् सूर्यको रथका सारथि हुन् ।

पन्छीराज गरुडलाई जीव विज्ञानमा लेप्टोटाइल्स जावानिकस भनिन्छ । यो ‘इन्टरनेसनल युनियन कन्जरभेसन अफ नेचरको रेड लिस्ट’ या विलुप्तप्रायः पन्छीको श्रेणीमा समावेश छ । यसको अर्थ गरुडलाई  पृथ्वीमा कम पाइने पन्छीको दर्जामा राखिएको छ । 

प्राचीनकालमा मन्दिरहरूको द्वारमा एकातिर गरुड र अर्कातिर हनुमानको मूर्ति आवेष्ठित गर्ने गरिन्थ्यो । अहिले पनि कतिपय मन्दिरमा गरुड र हनुमानको मूर्ति राखिएको देख्न सकिन्छ । काठमाडौँ उपत्यकाका पुराना मन्दिरका द्वारहरूमा गरुड र हनुमानको मूर्ति राखिएको छ । पहिले–पहिले घरमा राखिएका मन्दिरमा पनि गरुड, घण्टी र मन्दिरको शिखरमा गरुडध्वज हुन्थ्यो । 

भगवान्को वाहन भए पनि गरुडलाई भगवान्कै रूपमा लिने गरिन्छ । गरुड नामको एक व्रत पनि छ । गरुड नामको एक पुराण पनि छ । मान्छे मरेर गएपछि किरियापुत्री र शोकमा रहेका आफन्तलाई पण्डित बोलाई नौ दिनसम्म गरुडपुराण सुन्ने र सुनाउने चलन अद्यापि समाजमा चलिरहेको छ । पन्छीराज गरुडको अनेक नाम छन् । ती हुन् विनायक, गरुत्मत्, नागान्तक, विष्णुरथ, खगेश्वर, सुपर्ण र पन्नगाशन आदि । 

अब प्रश्न के उठ्छ भने आखिर के पन्छी मानव जस्तै रूपको, बोल्ने, कुरा गर्ने हुन सक्छ त ? कश्यप र विनीताबाट जन्मेका गरुड कसरी पन्छी भए । कश्यप मनुष्य रूपमा थिए तर गरुडलाई उड्ने प्राणीका रूपमा लिइन्छ । गरुडको स्वरूपलाई हेर्दा शरीर मनुष्यको जस्तो र मुख तथा पखेटाले गर्दा चरा जस्तो देखाइएको छ । 

पुराणहरूमा भगवान् गरुडको पराक्रमका बारेमा प्रशस्त कथाको वर्णन छ । उनले देवताहरूसँग युद्ध गरी तिनीहरूसँग अमृत कलश खोसेका थिए । उनले भगवान् रामलाई नागपाशबाट मुक्त गराएका थिए । किनकि गरुड यस्ता पन्छीराज हुन् जसले नाग अर्थात् सर्पलाई खाइदिन्छ । त्यसैले सर्प गरुडको नाम लिनासाथ भाग्छ भन्ने भनाइ छ । एक समय  गरुडलाई आफ्नो शक्तिमाथि धेरै घमण्ड भएको थियो । त्यो घमण्डलाई रामभक्त हनुमानले चुरचुर गरिदिएका थिए ।

गरुडलाई हिन्दु धर्मका साथै बौद्ध धर्ममा पनि महत्वपूर्ण पन्छीका रूपमा मानिएको छ । बौद्ध ग्रन्थहरूका अनुसार गरुडलाई सुपर्ण (राम्रा पङ्ख भएको) जीव भनिन्छ । जातक कथाहरूमा पनि गरुडका बारेमा कतिपय रोचक किस्सा छन् । गुप्त कालका शासकहरूको प्रतीक चिह्न पनि गरुड नै थियो । कर्नाटकका होयसल शासकहरूको पनि प्रतीक चिह्न गरुड थियो । अमेरिका र इन्डोनेसियाको राष्ट्रिय प्रतीक चिह्न पनि गरुड नै छ । यसैले गरुडलाई चामत्कारिक पन्छीका रूपमा लिइनु स्वाभाविक नै छ । 

भारतको चेन्नई शहरबाट ६० किलोमिटर टाढा एक महत्वपूर्ण तीर्थस्थल छ ‘पन्छी तीर्थ’ । यो तीर्थस्थल वेदगिरि पर्वतको माथि छ । कैयौँ शताब्दीदेखि अपराह्नको समयमा एक जोडी गरुड सुदूर आकाशबाट यस मन्दिरमा आउँछन् र मन्दिरको पुजारीद्वारा दिइएको खाद्यान्न ग्रहण गरी पुनः आकाशमा फर्किन्छन् भन्ने कथा त्यहाँ सुन्न पाइन्छ । सयौँ मानिस त्यस एक जोडी गरुडको दर्शन गर्नका लागि त्यहाँ उपस्थित हुने गर्छन् । त्यहाँका विद्वान् अन्वेषकको भनाइ अनुसार सत्य युगमा ब्रह्माका आठ मानसपुत्रले शिवलाई दुःख दिएका थिए । 

अनि शिवको श्रापले ती आठ मानसपुत्र गरुड बनेको भनिन्छ । उनीहरूमध्ये दुई जना सत्य युगको अन्त्यमा मुक्त भए । अर्का दुई जना त्रेताको अन्त्यमा मुक्त हुन पुगे । अर्का दुई जना द्वापरको अन्त्यमा श्रापबाट मुक्त भए । के भनिएको छ भने बाँकी दुई जना मानसपुत्र गरुड रूपमा संसारमा विचरण गरिरहेका छन् । अर्थात् अब बाँकी रहेका ती दुई जना कलियुगको अन्त्यमा मुक्त हुने छन् ।

नाग देवताको दोष छ भने पनि गरुडको नाम लिने र पूजा गरेमा समाप्त हुने रहेछ भन्ने ज्ञान मिल्छ । दार्शनिक भाषामा नाग भनेको प्राण हो । प्राणरूपी नागपाशले यो जीवात्मालाई बाँधेको छ । त्यो नागलाई गरुडले खाएर हामीलाई मुक्त गरिदिन्छ भन्ने भाव पनि गरुडको नामले दिन्छ । अर्को कुरा यो प्राणी पृथ्वीमा लोप हुन गइरहेको पन्छी भएको हुँदा यसको संरक्षण र संवर्धन गर्नु पर्दछ । 

यसैले विष्णुको वाहन गरुडको कथा हाम्रो सनातन धर्र्म–संस्कृतिको आश्चर्यपूर्ण, रहस्यमय र महत्वपूर्ण मानिएको छ । गरुड पन्छीको चरित्र रहस्यपूर्ण, अलौकिक र जान्नयोग्य चिन्तन रहेछ भन्ने ज्ञान पनि हामीले पाउन सक्छौँ । अर्को महत्वपूर्ण के छ भने गरुड नामको पुराण सुनेर जीवनलाई धन्य बनाउनुपर्ने रहेछ भन्ने ज्ञान गरुडबाट मिल्छ । 

  

Author

उद्धवप्रसाद भट्टराई