• ११ असार २०८१, मङ्गलबार

‘जलवायु वित्त ल्याउन नेपालको कडा मिहिनेत आवश्यक’

blog

नेपालमा जलवायु सङ्कट र सञ्चारकर्मीको भूमिका विषयमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उपस्थित सहभागीहरु ।

काठमाडौँ, जेठ १७ गते । जलवायु परिवर्तनको उच्च जोखिममा परेको नेपालले जलवायु वित्त ल्याउनका लागि निरन्तर मिहिनेत र प्रयास गर्नुपर्नेमा दातृ निकायका प्रमुखहरुले आग्रह गरेका छन् ।

हिमाली मुलुक नेपालमा जलवायु सङ्कट र सञ्चारकर्मीको भूमिका विषयमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र सम्बद्ध अन्य निकायका प्रमुखहरुले जलवायु वित्त र हानी, नोक्सानी कोषबाट नेपालले रकम ल्याउन सकेमात्र जलवायु परिवर्तनको असरबाट पीडित समुदायले न्याय पाउने बताएका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका आवासीय प्रतिनिधि केन सिमिजुले भन्नुभयो, ‘‘बढ्दो तापक्रम र जलवायु परिवर्तनको असरले नेपाल निकै जोखिममा परेको मुलुक हो । जसका कारणले कृषि उत्पादन तथा खाद्य सुरक्षामा असर परिरहेको छ । त्यसैले आगामी दिनमा नेपालले जलवायु वित्तका लागि पहुँच बढाउनुपर्ने देखिन्छ, त्यसका लागि कडा मिहिनेत आवश्यक छ ।’’

उहाँले आफू लगायत दातृ निकायहरुले नेपालले जलवायु वित्तको अधिकभन्दा अधिक रकम सदुपयोग गरोस् भन्ने चाहना राख्ने गरेको र त्यहीअनुसार लबिङ गर्ने गरेको पनि बताउनुभयो ।

अहिलेकै प्रयास र मिहिनेतले मात्रै पर्याप्त मात्रामा जलवायु वित्तको रकम नेपाल आउन नसक्ने बताउँदै उहाँले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल गरिरहेका प्रयास सह्रानीय भएको बताउनुभयो ।

उहाँका अनुसार जसरी टापु मुलुकहरु एकजुट भएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने गरेका छन्, त्यसैगरी नेपाललगायतका हिमाली मुलुकहरु पनि आफ्नो पक्षमा साझा मत बनाएर लाग्नुपर्ने हुन्छ । 


कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालका डेपुटी आवसीय प्रतिनिधि जुलियन चेभिलर्डले बढ्दो तापक्रमले  हिमाली क्षेत्र बढी प्रभावित हुँदा जोखिम पनि उत्तिकै बढिरहेको बताउनुभयो । उहाँले नेपालको जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम सधैँ अग्रभागमा बसेर काम गरिरहेको र आगामी दिनमा पनि नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले विगतमा च्छोरोल्पा र इम्जा हिमतालको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारलाई सहयोग गरेको स्मरण गर्दै नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय वित्त सहयोग लिन सक्नुपर्ने बताउनुभयो ।

छलफल कार्यक्रममा विश्व खाद्य कार्यक्रमका रोबर्ड कास्काले हिमाली मुलुक र तल्लो तटीय टापु मुलुकहरुको समस्या मिल्न जाने गरेको र साना टापु मुलुकहरुले साझा एजेण्डाका रुपमा विश्व मञ्चमा जोडबलका साथ कुरा उठाए झैँ हिमाली मुलुकहरुले आफ्ना आवाज जोडदार ढङ्गले राख्नुपर्ने बताउनुभयो । अघिल्लो हप्ता नेपालमा सम्पन्न भएको हिमाल, मानव र जलवायु विषयको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनले नेपाललाई हिमाली मुलुकको नेतृत्व लिन सक्ने दिशामा डो र्‍याएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार जलवायु परिवर्तनको असरले खाद्य सुरक्षा र पोषणयुक्त खानामा थप चुनौती थपिएका छन् । त्यसैले जलवायु अनुकूलन हुने खेती प्रणाली नेपालमा विकास गर्न जरुरी छ ।

युनिसेफका डेपुटी आवासीय प्रतिनिधि जी ह्युन रहले जलवायु परिवर्तनले नेपालका अधिकांश बालबालिकाको स्वास्थ्य, शिक्षा तथा वृत्तिविकासमा असर पारेको बताउनुभयो ।

उहाँका अनुसार नेपालका ग्रामीण भेगका अधिकांश बालबालिकाले यसको असर भोग्नुपरिरहेको छ र कुपोषण, पुड्कोपनालगायतका गम्भीर समस्याले गर्दा भविष्यका कर्णधार बालबालिकाको भविष्य पनि जोखिममा पर्दै गएको विचार व्यक्त गर्नुभयो ।