• ६ असार २०८१, बिहिबार

द्वन्द्वका घाइतेको माग सुनुवाइ गर्न आग्रह

blog

कार्यक्रमका सहभागीहरू । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, जेठ १७ गते । कुस्मा नगरपालिका–१३ का टेकनाराण शर्माले राज्यले द्वन्द्वका घाइतेलाई विभेद गरेको आरोप लगाउँदै माग सुनुवाइ गर्न आग्रह गर्नुभएको छ ।  

गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा द्वन्द्व प्रभावितको बस्तुस्थितसम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा शर्माले गृह मन्त्रालयले झुक्क्याउने काम गरेको बताउनुभयो ।  

घाइतेहरू उपचार नपाएर मरेको र सूचना थाहा नपाउँदा घाइते पुनरावलोकनमा छुटेको शर्माले बताउनुभयो । कसैले खाने र कसैले हेरेर बस्ने अवस्था रहेको बताउँदै शर्माले गृह मन्त्रालय र प्रशासन त्यसबारे चासो राख्नुपर्ने चर्चा गर्नुभयो । 

शर्माजस्तै बिरुवा गाउँपालिका–७ का मीनराज थापाले राज्यतर्फबाट द्वन्द्वका घाइतेलाई हेर्ने काम नभएको आरोप लगाउनुभयो । रोल्पाको राङ्गकोटमा छातीबाट गोली छिरेर बायाँ साइड नचलेको बताउँदै थापाले पहिला ६ हजार दुईसय पाएको भए पनि अहिले घटेर चार हजार मात्र पाएको सुनाउनुभयो । 

थोरै पाउँदा पनि एक वर्षबाट राहत नपाएको बताउँदै थापाले दुई–दुई वर्षमा गरिने पुनरावलोकन घाइतेले चाहेमा मात्र गर्नुपर्ने बताउनुभयो ।   

यस्तै अर्जुन चौपारी ३ का बेद्रोहीबाट दुवै आँखा गुमाउनु भएका डिल्लीराम पौडेलले पनि गुनासो गर्नुभयो । 

कार्यक्रममा विद्रोही पक्षबाट घाइते अर्जुन चौपारी ५ का बसन्त राज पोखरेल, चापाकोटका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल, अर्जुन चौपारीका प्रशासन प्रमुख विनम्रता न्यौपाने लगायतले धारण राख्नुभयो ।