• ६ असार २०८१, बिहिबार

गर्मीले जनजीवन प्रभावित

blog

गर्मीका कारण सुनसान कावासोती बजार । तस्बिर : मीना कंडेल

मीना कँडेल

कावासोती, जेठ १७ गते । एक्कासि बढेको गर्मी र तातो हावाको कारण नवलपुरकाे जनजीवन प्रभावित बनेको छ । जेठ सत्र गतेसम्म पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको हो । 

एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ । केही दिन यता नवलपुरमा पनि तापक्रम बढिरहेको छ । मौसम परिवर्तनसँगै गर्मी ह्वात्तै बढेको छ । बिहानैबाट तातो हावा चल्ने र दिउँसो तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेपछि सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् । बिहीबार दिउँसो सदरमुकाम कावासोतीमा ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । अत्यावश्यक काम बाहेक बाहिर निस्कन सक्ने अवस्था नरहेको स्थानीय राम न्यौपानेले बताउनुभयो ।

सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् ।

किसानले लगाएको हिउँदे बाली सुक्न थालेको छ । दैनिक मजदुरी गरेर खाने विपन्न परिवारलाई तातो हावाको कारण काम गर्न असहज भएको छ । तातो हावा चलेसँगै नाकबाट रगत आउने समस्याका केही बिरामी आउन थालेको छन् । मध्यबिन्दु जिल्ला अस्पतालका डा. जितेन्द्र कँडेलले अत्यधिक गर्मीका कारण विभिन्न किसिमको रोगको सङ्क्रमण बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको समयमा धेरै गर्मीले फूड प्वोइजनिङको समस्या पनि देखापर्ने हुन्छ । खानपानको माध्यमबाट जब शरीरमा ब्याक्टेरिया आदि प्रवेश गर्छ तब फूड प्वोइजनिङ हुन्छ । एक त खानेकुरा चाडै गल्ने, सड्ने, कुहिने हुन्छ । अर्कोतिर झिँगा, साङ्ला (कक्रोज) लगायत फैलिने भएकाले पनि खानेकुरा दूषित हुन्छ । त्यस्तै सडकमा बिक्रीमा खुला राखिएका खानेकुरा  स्वस्थ्यकर हुँदैन ।”   

गर्मीबाट बच्न अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन र  प्रसस्त मात्रामा पानी पिउन चिकित्सकले सुझाव दिएका छन् ।