• ६ असार २०८१, बिहिबार

महिलालाई हरेक क्षेत्रमा सहभागिताको अवसर दिनुपर्छ : मन्त्री चौधरी

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी । तस्बिरःरासस

काठमाडौँ, जेठ १७ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलालाई हरेक क्षेत्रमा सहभागिताको अवसर दिनुपर्ने बताउनुभएको छ । छैटौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले महिलालाई हरेक क्षेत्रमा सहभागी गराउन जरुरी रहेको बताउनुभयो । 

मन्त्री चौधरीले भन्नुभयो, “महिलालाई निर्णायक ठाउँमा पुर्‍याउनका लागि सबै वर्ग, क्षेत्र र तहले अवसर दिनु आवश्यक छ । सम्पत्तिको अधिकार भन्ने कुरा धेरैलाई थाहा छैन । सम्पत्तिमा आफ्नो अधिकार हुन्छ भन्ने विषयमा अधिकांश महिला जानकार छैनन् । विभिन्न सङ्घसंस्था, स्थानीय तह, जनप्रतिनिधि तथा सरोकार भएका सबैले यसबारे सुसूचित गर्नुपर्छ ।” उहाँले हिंसा पीडित महिलाहरुको पुनः स्थापना गर्न सातै प्रदेशमा ‘सेफ हाउस’ निर्माणका लागि बजेट माग गरिए पनि बजेट विनियोजन नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “बजेटमा पनि महिला मन्त्रालयलाई प्राथमिकतामा पारिएको छैन । सेफहाउस निर्माणका लागि बजेट माग गरिएको थियो, तर बजेट सीमित भएकाले विनियोजन भएन ।” निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले महिलाको जनसङ्ख्या धेरै हुने तर मतदाता नामावली भने किन कम भन्नेमा प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “कानुनमा सुधार गर्नुपर्छ । महिलालाई प्रत्यक्षबाट निर्वाचनमा उठाउनैपर्छ । कतिपय स्थानीय तहमा पुरुषको मात्र वर्चस्व देखिन्छ, यसलाई सुधार गर्नु आवश्यक छ ।” 

सांसद रोशन कार्कीले राष्ट्रिय आयमा महिलाहरुको श्रमको पनि गणना हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “महिलाहरु रातदिन काम गर्छन् । उनीहरुको श्रमको पनि मूल्याङ्कन हुनुपर्छ ।” पूर्वसचिव यामकुमारी खतिवडाले लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि गरिएका प्रयास र उपलब्धिका बारेमा प्रस्तुतीकरण दिँदै विभिन्न क्षेत्रमा महिला र पुरुषको सहभागितामा अन्तर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निजामती क्षेत्रमा केही सुधार हुँदैछ । राजनीतिक, प्रशासनिक सबै क्षेत्रमा महिला सहभागिता कम छ । सरोकार भएकाले यस विषयलाई ध्यान दिन जरुरी छ ।” रासस