• ६ असार २०८१, बिहिबार

'राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन जरुरी छ'

blog

रमेश पौडेल

पोखरा, जेठ १७ गते । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेको बताउनुभएको छ । महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो । 

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम महालेखा परीक्षकको कार्यालयका नायव महालेखापरीक्षक जयराम घिमिरेले प्रतिवेदन प्रदेश प्रमुखलाई पेस गर्नुभएको थियो । प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आर्थिक अनुशासन कायम गर्नका लागि सबै तह उत्तिकै जिम्मेवार बन्नुपर्ने भन्दै गण्डकी प्रदेशसभाले प्रतिवेदनमाथि छलफल गर्ने पनि जनाउनुभयो । प्रतिवेदनको अध्ययनपश्चात् प्रदेशमा आर्थिक सुशासन कायम गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिने बताउनुभयो । उहाँले बेरुजु रकमलाई जति कम बनाउन सकिन्छ उति नै आर्थिक समृद्धि हासिल हुने उल्लेख गर्दै बेरुजु फर्छ्योटका सन्दर्भमा प्रतिवेदनले उल्लेख गरेका विषयवस्तुलाई कार्य योजनासहित कार्यान्वयनको खाँचो पर्ने औँल्याउनुभयो ।  

नायव महालेखापरीक्षक घिमिरेले महालेखाले क्षेत्रगत रूपमा औँल्याएका विषयलाई इमान्दार भएर कार्यान्वयन गरेको खण्डमा बेरुजु न्यूनीकरण हुने बताउनुभयो । उहाँले आर्थिक अनुशासन कायम गर्न पनि बेरुजु फर्छ्योटमा गम्भीर बन्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव सेवन्त राज दाहाल, महालेखा परीक्षकको कार्यालयका निर्देशक बुद्धिराज बसेललगायतको सहभागिता थियो ।