• ६ असार २०८१, बिहिबार

कानुनमन्त्री गिरीद्वारा फोटो प्रदर्शनीको अवलोकन

blog

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीलाई मायाको चिनोस्वरुप गोरखापत्रको पहिलो अङ्क हस्तान्तरण गर्नुहुँदै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी । तस्बिर : कविन अधिकारी

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १७ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले गोरखापत्र संस्थानमा प्रदर्शनका लागि राखिएको ऐतिहासिक तथा पुराना तस्बिरहरूको अवलोकन गर्नुभएको छ ।

कानुनमन्त्री गिरीले बिहीबार तस्बिर अवलोकनपछि संक्षिप्त धारणा राख्नुहुँदै पुराना तस्बिरहरूले त्यो बेलाको समाजको चित्र देखाएको बताउनुभयो । मन्त्री गिरीले भन्नुभयो, “वास्तवमा गोरखापत्र संस्थानले आफ्नो कार्यालय परिसरमा जुन पुराना तस्बिरहरू प्रदर्शनीमा राखेको छ । एक हिसाबले हेर्ने हो भने मलाई धेरै नै खुसी लाग्यो । अत्यन्त पुराना तस्बिरले त्यो बेलाको समाजबारे जानकारी गराएको छ । समाज कसरी विकसित हुँदै यहाँसम्म आइपुग्यो भन्ने एउटा शृङ्खला नै यसबाट बुझ्न सकिन्छ ।”


उहाँले त्यो बेलाको प्रविधिको विषयमा पनि बुझ्ने अवसर प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो बेलाको टेक्नोलोजी पनि कस्ता रहेछन् भन्ने कुरा, यहाँ राखिएका क्यामराबाट थाहा हुन्छ । अरू प्रविधिहरू कस्तो प्रयोग भई रहेकाछन् भन्ने कुराहरू ती पुराना विषयहरू सबै फोटो प्रदर्शनीमा राखिनु यो वास्तवमै धेरै महत्त्वपूर्ण लाग्यो । यसबाट धेरै कुरा सिक्ने, बुझ्ने अवसर पनि मलाई प्राप्त भयो ।” उहाँले तस्बिर प्रदर्शनीमा थप तस्बिरहरू थप्दै लगेमा यसले अझ बढी पूर्णता प्राप्त गर्न सक्ने सुझाव दिनुभयो । 


बाह्रखरी डट कमका विशेष सम्पादक हरिबहादुर थापाले फोटो प्रदर्शनीले २०३० देखि ६० सम्मको घटनाको व्याख्या गर्न सफल भएको बताउनुभयो । “४० वर्ष अगाडिको हामीले एउटा खुमलटारको फोटो हेर्दै थियौँ । त्यहाँ गाईबस्तु चरिरहेको फोटाहरू देख्यौँ । आज आएर खुमलटार अर्कै भइसकेको रहेछ” उहाँले भन्नुभयो ।

उहाँले प्रदर्शनीमा राजनीतिक विषयवस्तुका तस्बिरहरू बढी रहेको उल्लेख गर्नुहुँदै देश विकास र समाजसँग सम्बन्धित तस्बिरहरू अझ बढी राख्न सुझाव दिनुभयो । उहाँले गोरखापत्रको सुरुदेखिको अहिलेसम्मको घटनाक्रमलाई फोटोमा उतार्न सके झन् उपयोगी हुने बताउनुभयो । 


गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले मन्त्री गिरीलाई मायाको चिनो स्वरूप पहिलो अङ्क हस्तान्तरण गर्नुभयो । त्यस्तै, कला तथा फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईँले प्रदर्शनमा रहेका पुराना एवम् ऐतिहासिक तस्बिरहरूको सँगालो पुस्तक ‘परिवर्तित नेपाल’ मन्त्री गिरीलाई हस्तान्तरण गर्नुभयो । 


सो अवसरमा बाह्रखरी डट कमका विशेष सम्पादक थापा, समाचार सम्पादक बलराम पाण्डेले पनि फोटोको अवलोकन गर्नुभयो । थापा र पाण्डेलाई कार्यकारी अध्यक्ष सुवेदी तथा महाप्रबन्धक लालबहादुर ऐरीले मायाको चिनोस्वरुप गोरखापत्रको पहिलो अङ्क र हालै प्रकाशन गरिएको परिवर्तित नेपाल पुस्तक हस्तान्तरण गर्नुभयो । 


सो अवसरमा मन्त्रीको प्रेस सल्लाहकार श्रीधर पौडेल, गोरखापत्रका सम्पादक सल्लाहकार उपेश महर्जन, फोटोग्राफी शाखा प्रमुख हुमागाईँ, गोरखापत्र अनलाइन प्रकाशनका प्रमुख संयोजक लक्की चौधरी लगायतले मन्त्री गिरीलाई तस्बिरबारे जानकारी गराउनुभएको थियो । 

भिडियोः मनोजरत्न शाही