• ६ असार २०८१, बिहिबार

सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबिच निर्वाचन प्रणालीबारे छलफल

blog

भेटवार्ता गर्नुहुँदै राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया ।

काठमाडौँ, जेठ १७ गते। राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबिच निर्वाचन प्रणाली सुधार गर्ने विषयमा छलफल भएको छ। 

आयोगस्थित प्रमुख आयुक्तको कार्यकक्षमा भएको छलफलमा सभापति खतिवडाले बहुमतसहितको स्थिर सरकार दिननसक्ने निर्वाचन प्रणाली सुधार गर्न जरुरी भइसकेको बताउनुभएको हो। 

कुनै दललाई सरकार बनाउन स्पष्ट बहुमत दिननसक्ने अवस्था फेर्न निर्वाचन प्रणालीमै संशोधनको जरुरी रहेको खतिवडाको भनाइ थियो। 

‘‘प्रतिनिधिसभालाई पूर्ण प्रत्यक्ष निर्वाचित बनाऔँ। बरु २४० सिट कायम गरौँ। त्यसमै आरक्षण सिट तोकौँ। सीमित सिटमा महिला, वा मुस्लिम, दलित मात्रै उम्मेदवार उठ्ने गरी तोकौँ’’, खतिवडाले भन्नुभयो, ‘‘राष्ट्रिय सभालाई पूर्ण समानुपातिक गरौँ।’’ 

सभापति खतिवडाले अहिलेको प्रणालीले कुनै निकास दिने नदेखिएकाले संविधान संशोधन गरेर भए पनि परिमार्जन गर्न जरुरी भइसकेको बताउनुभयो।

संविधान संशोधनको लागि शीर्ष तहमा लबिङ भइरहेको भन्दै खतिवडाले सबैले आआफ्नो तहमा लाग्नुपर्नेमा जोड दिनुभयो।

खतिवडाले एकपटक समानुपातिक सांसद भइसकेपछि अर्कोपटक नआउने व्यवस्था गर्न प्रस्ताव गर्नुभएको छ।  निर्वाचन प्रणालीको समीक्षा र सुधारको मार्गचित्र ल्याउन उहाँले प्रमुख आयुक्त थपलियाको ध्यानाकर्षण गराउनुभएको हो।

प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रणाली फेर्ने विषयमा दलहरूकै तदारुकता जरुरी रहेको औँल्याउनुभयो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सहभागितामूलक बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदामा प्रस्ताव गरिएको र विधेयक गृह मन्त्रालयमा रहेको जानकारी गराउनुभयो। निर्वाचन महँगो हुनुमा दलको कार्यशैली जिम्मेवार रहेको भन्दै थपलियाले सच्चिनुपर्नेमा जोड दिनुभयो।