• १ असोज २०८१, मङ्गलबार

म्याग्दीको बेनीमा गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल सुरु

blog

प्रतिस्पर्धामा सहभागी खेलाडीहरु । तस्बिर :अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, जेठ १९ गते ।
हिमाली जिल्ला म्याग्दीको बेनीमा तेस्रो गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल प्रतियोगिता–२०८१ शुक्रबारदेखि सुरु भएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दीको समन्वयमा सुरु भएको प्रतियोगिता शनिबार सकिने प्रतियोगिताका संयोजक गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य योगेन्द्र शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेश भित्रका छ जिल्लाका सात टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले गर्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै गौचनले थकाली जातिको परम्परासँग जोडिएको यस प्रतियोगिता थकालीहरुले खेल्ने नियम अनुसार नै खेलाइदै आएको बताउनुभयो ।

आधुनिक अन्तर्राष्ट्रिय नियमभन्दा पनि थकाली जातिले खेल्दा पहिलादेखि जुन नियम प्रयोग गर्दै आएका हुन् त्यही नियम र परम्परा अनुसार नै खेल हुने भएकाले नै परम्परागत तारा खेल भनेर नामाकरण गरिएको उहाको तर्क थियो । आधुनिक विश्व खेलमा आर्चरी नामले परिचित भए पनि गण्डकी प्रदेशले आफ्नो मौलिक पहिचान र नामबाटै खेल आयोजना गरेको भन्दै परम्परा जोगाउन परिषद्ले ठुलो भूमिका खेलेको बताउनुभयो ।

नेपाल आर्चरी संघका सचिव, कास्की आर्चरी संघका अध्यक्ष तथा गण्डी प्रदेश स्तरीय परम्परागत ताराखेल प्रतियोगिता–२०८१ का खेल संयोजक शेरचनका अनुसार प्रतियोगितामा पहिलो हुनेले नगद ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार रुपियाँ नगदसहित मेडल तथा ट्राफि प्राप्त गर्नेछन् । त्यस्तै वेष्ट प्लेयरले पाँच हजार र विशिष्ट धनुन्धरले तीन हजार रुपियाँ नगद प्राप्त गर्नेछन् ।

प्रतियोगितामा मनाङ, मुस्ताङ, पर्वत, कास्की, बागलुङका एकएक टिम र म्याग्दीका दुई टिम गरी कुल ७ टिमको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन पूर्व पञ्चेवाजा सहित खेलाडी तथा शुभचिन्तकहरुको समूहले बेनी बजारको परिक्रमा पछि थकाली सेवा समाजको भवनमा पुगेर औपचारीक उद्घाटन भएको थियो ।