• २५ भदौ २०८१, मङ्गलबार

खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार आवश्यक : सांसद गर्बुजा

blog

खेलमैदान, स्टेज र फाइबर बोर्ड उद्घाटन कार्यक्रममा बोल्नुहुँदै सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ । तस्बिर : साधन घर्ती

साधन  घर्ती
म्याग्दी (दरबाङ), जेठ १९ गते । 
प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेल क्षेत्रको विकासका लागि व्यवस्थित पूर्वाधार संरचना आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नामस्थित एकता युवा क्लबको नवनिर्मित खेलमैदान, बास्केटबलको फाइबर बोर्ड, प्याराफिट र स्टेज उद्घाटन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो ।

क्लबद्वारा आयोजित भुमेपुजा मेलालाई समेत सम्बोधन गर्नुहुँदै कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले स्थानीय स्तरमा सञ्चालन हुने मेला महोत्सवले परम्परागत कला संस्कृति, खेलकुदको प्रवर्द्धन र खेल प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

‘‘खेलकुद क्षेत्रको विकासका लागि व्यवस्थित गुणस्तरीय पूर्वाधार संरचना आवश्यक पर्छ,’’ उहाँले भन्नुभयो, ‘‘खेलकुद क्षेत्रको समग्र विकासका लागि सक्दो प्रयास गर्नेछु ।’’ सयौँ वर्ष पुरानो भुमेपुजाको लिङ्गो जुधाइ प्रतियोगिता परम्परागत संस्कृति मात्र नभई गाउँको पहिचान भएको बताउनुभयो ।

दग्नाम–दर्मिजा–चिमखोला र कुइँनेमङ्गले सडक स्तरोन्नतिका लागि पहल भइरहेको उहाँले बताउनुभयो । यसैगरी, दर्मिजा तातोपानीलाई व्यवस्थित बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मेला पर्वले एकआपसमा भाइचारा सम्बन्ध स्थापित गर्ने, खेल प्रतिभाको पहिचान, संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्नमा सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले मेला महोत्सवलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।

वडाध्यक्ष पविन गर्बुजाका अनुसार, गण्डकी प्रदेश सरकारबाट विनियोजित १५ लाख रुपियाँ लागतमा खेलमैदान निर्माण गरिएको हो भने तुण्डी हाइड्रोपावर कम्पनीले १४ लाख रुपियाँ बजेटमा स्टेज र गाउँपालिकाको ११ लाख रुपियाँ बजेटमा प्याराफिटसहित घेराबार निर्माण गरिएको छ ।

यसैगरी दग्नाम जन्मघर भई हाल भारतीय सेनामा कार्यरत र अवकाशप्राप्त भूपू सैनिकहरूबाट सङ्कलित  रकमबाट बास्केटबलको फाइबर बोर्ड निर्माण गरिएको छ । यौमन गर्बुजासहित स्थानीय खेलमैदान निर्माण गर्न दश रोपनीभन्दा बढी जग्गा दान गरेका छन् ।