• २५ भदौ २०८१, मङ्गलबार

भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकालाई

blog

भलिबल प्रतियोगितामा प्रथम भएको शुक्लागण्डकी नगरपालिकाकालाई नगद एक लाख एक हजार १११ प्रदान गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २० गते । जिल्ला भलिबल सङ्घ तनहुँको आयोजनामा सदरमुकाम दमौलीस्थित खुल्ला चौरमा गरिएको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको छ । आइतबार भएको फाइनल खेलमा शुक्लागण्डकीले घिरिङ गाउँपालिकालाई तीन सेटमा पराजित गरेको हो । शुक्लागण्डकीले घिरिङलाई २५–२०, २५–२३ र २५–२२ अङ्कले पराजित गरेको हो ।

प्रतियोगिताको भिमाद नगरपालिका तृतीय भएको छ । प्रतियोगितामा प्रथम हुने शुक्लागण्डकीले एक लाख एक हजार एक सय ११ रुपियाँ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै, प्रतियोगितामा दोस्रो हुने घिरिङले ५१ हजार १ सय ११ तथा तेस्रो हुने भिमादले २५ हजार १ सय ११ रुपियाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । 

प्रतियोगितामा वेस्ट सर्भरको उपाधि घिरिङका हरिकुमार श्रेष्ठ, वेस्ट डिफेन्डरको उपाधि ऋषिङका विकास थापा, वेस्ट सटरको उपाधि शुक्लागण्डकीका अशोक मल्ल ठकुरी, वेस्ट स्पाइकरको उपाधि घिरिङका सुदीप थापा, वेस्ट ब्लकरको उपाधि भिमादका युक्सल थापा, वेस्ट प्लेयरको उपाधि शुक्लागण्डकीका भोजराज बिसी र फेयर प्ले टिमको उपाधि ऋषिङले जितेको छ ।

विजेतालाई तनहुँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे जिल्ला भलिबल सङ्घ तनहुँका अध्यक्ष पदम सुनारले नगद, ट्रफी र मेडल प्रदान गर्नु भएको थियो । प्रतियोगितामा जिल्लाका दश मध्ये  आठ पालिकाका खेलाडीको सहभागी थिए ।