• ६ साउन २०८१, आइतबार

बिक्री कम, प्रदर्शनी धेरै

blog

काठमाडौँ, जेठ ३२ गते । समाज जति विकसित हुँदै गएको छ, कलाको परिभाषा पनि त्यति नै व्यापक र परिमार्जित हुँदै आएको छ । कला अभिव्यक्तिको माध्यम हो । त्यस कारण पनि यसलाई मानव सभ्यताको अभिन्न अङ्ग मानिन्छ । कलामा विधा विविधता छ । परम्परागत चित्रकला, समसामयिक चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला यसभित्र पर्छन् । 

मूर्तिकला एउटा महत्वपूर्ण विधा मानिन्छ । मूर्तिमा कुनै ठोस वस्तुमा केन्द्रित भएर बहुआयामिक आकृति भर्ने काम गरिन्छ । जुन विभिन्न धातु, ढुङ्गा, माटो र काठ जस्ता चिजबाट बनाउन सकिन्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ललितकला प्रदर्शनी शुक्रबारसम्म छ, जसमा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिएका छन् । 

आधुनिकतर्फ ३७ कलाकारको ४१ मूर्ति प्रदर्शनीमा राखिएका छन् । परम्परागततर्फ २१ जनाको २३ वटा प्रदर्शनीमा राखिएका छन् । उक्त प्रदर्शनीमा समसामयिक मूर्तिकलातर्फबाट सल्यानका टोपेन्द्र डाँगीले ‘कर्णाली खस संस्कृति’ शीर्षक राखेर मूर्ति पठाउनुभयो तर ललित कला प्रज्ञा–प्रतिष्ठानले मूर्तिको शीर्षक परिवर्तन गरेर ‘नेपाल आमा’ राखिदियो । उहाँ पुरस्कृत कलाकार पनि हुनुहुन्छ । उहाँलाई प्रतिष्ठानको यो कामप्रति कुनै गुनासो छैन । उहाँको दुःखेसो अर्के छ । प्रादेशिक प्रदर्शनीले चित्रकला आह्वान गरेपछि सल्यानबाट सुर्खेतसम्म मूर्ति पठाउन निकै सकस भयो । गाडी व्यवस्था गरेर मूर्ति सुर्खेत ल्याउनुभयो । त्यसरी ल्याउँदा मूर्तिको केही भाग चर्कियो । सुर्खेत ल्याएपछि मूर्तिको मर्मत गर्नुभयो । प्रतिष्ठानले सुर्खेतबाट काठमाडौँ ल्याउने ढुवानी व्यवस्थापन गरे पनि जिल्ला जिल्लाबाट प्रदेश प्रदर्शनीसम्म मूर्ति ल्याउन ढुवानीको व्यवस्था गरिदिनुपर्ने धारणा कलाकार डाँगीको छ । 

कर्णाली जाजरकोटका कलाकार कौशीबहादुर बुढामगरले प्रदर्शनीका लागि पोखराबाट सुर्खेतसम्म मूर्ति लैजाँदा धेरै नै सतर्कता अपनाएर लगेको बताउनुभयो । उहाँका अनुसार मूर्ति ढुवानी गर्दा टुट्यो फुट्यो भने त्यो आफ्नै जिम्मा हुन्छ । प्रतिष्ठानले गरेको सहयोग भनेको सुर्खेतबाट काठमाडौँ प्रदर्शनीमा लगिदिने मात्र हो । मूर्ति भनेको संवेदनशील कुरा हो, त्यसैले एकदमै सावधानी अपनाउन जरुरी छ । 

ललितपुरका कलाकार सुरेश लवट तुलाधरका अनुसार प्रदेशमा रहनुभएका कलाकारलाई मात्र होइन काठमाडौँबाट समेत ठुलठुला मूर्ति प्रदर्शनी स्थलसम्म ढुवानी गर्न कठिन छ । अर्को कुरा, १० लाख रुपियाँ मूल्य तोकिएको पुरस्कृत मूर्ति बिक्री भइसक्यो भन्ने हल्ला चलाइएको तर त्यो बिक्री नभएको गुनासो कलाकार लवटको छ ।


नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीका अनुसार हरेक दिन तीन हजारसम्म मान्छे प्रदर्शनी हेर्न आउँछन् तर त्यसमध्ये धेरै सङ्ख्या विद्यार्थीको हुने गरेको छ । कला सङ्कलकको उपस्थिति शून्यप्रायः नै हुने गरेको कलाकार नै बताउँछन् । उहाँका अनुसार विद्यार्थी, राजनीतिज्ञ, प्राज्ञिक क्षेत्रका व्यक्तित्व र कला पारखीको उपस्थिति राम्रै छ । कला क्षेत्रमा यसको बिक्रीभन्दा पनि कला पक्षको अवलोकनका लागि आउने बढी भएको भनाइ सदस्यसचिव थुम्केलीको छ । उहाँले भन्नुभयो, “प्राज्ञिक संस्था कुनै पसल थापेर बसेका जस्तो पनि होइन र हामीले त्यसरी बुझ्न पनि हुन्न । हामीले वातावरण निर्माण गर्ने हो कलाको प्राज्ञिक बहस, क्षमता अथवा त्यतातिर लिएर जानका लागि एउटा मार्ग तय गर्ने हो ।”

उहाँले कला बिक्रीका लागि सबै कुरा परिचय पुस्तिकामा सामेल गरिदिएको बताउनुभयो । कलाकृति किन्न चाहनेले सिधै कलाकारसँग सम्पर्क गर्ने हो र संस्थामा पनि सम्पर्क गर्न सक्नुहुन्छ । उहाँले थप्नुभयो, “यो व्यापारका निम्ति गरिएको प्रदर्शनीभन्दा पनि राष्ट्रिय कलाको महापर्व अथवा महाउत्सवका रूपमा गरिएको हो । यो कुनाकाप्चामा रहेका कलाकारलाई चिनाउने पर्व हो ।” 

प्रदर्शनी स्थलसम्म कला ढुवानी गर्ने विषयमा सदस्यसचिव थुम्केलीको भनाइ केही फरक छ । उहाँका अनुसार हामीले पहिला नै सूचना जारी गरेका हुन्छौँ । त्यसमाथि टुटेफुटेको या कमजोर माध्यमबाट आएका कलाकृति समावेश गर्दै गर्दैनौँ । त्यसमाथि सबै विधि पु¥याएर राम्रोसँग मिलाएर ल्याउने हो । यस्तो अवस्था विरलै आउँछ । उहाँले कलाकृति कति बिक्री भए भन्ने कुरा प्रदर्शनीपछि सार्वजनिक गरिने पनि बताउनुभयो ।