• ६ साउन २०८१, आइतबार

कांग्रेससँग जोडिएको भविष्य

blog

नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी हो । नेपालको हरेक परिवर्तनमा उसैले नेतृत्व गर्दै आएको छ । राणाविरोधी आन्दोलनको नेतृत्व गरेर प्रजातन्त्र स्थापना गरेदेखि पछिल्लो गणतन्त्र स्थापनापछि संविधान सभाबाट संविधान जारीसम्मको नेतृत्व कांग्रेसले गरेको छ । आन्दोलनको नेतृत्व मात्रै होइन सबैभन्दा बढी शासनसत्ता सम्हाल्ने अवसर पनि उसैले पाएको छ । लामो समय सत्तामा बसेकै कारण कांग्रेसका कमीकमजोरी नभएका होइनन् । प्रजातान्त्रिक संस्कारको जगमा हुर्किएकाले आलोचनाको संस्कृतिलाई सम्मान गर्दै आएको छ । यो उसको महत्वपूर्ण पुँजी हो । पछिल्लो पटक संसद्को ठुलो दल भएर पनि प्रतिपक्षी बेन्चमा बस्न बाध्य छ ।

कांग्रेस लामो समय कोइराला परिवारको नेतृत्वमा सञ्चालित भयो । तेह्रौँ र चौधौँ महाधिवेशनदेखि शेरबहादुर देउवाको नेतृत्वमा सञ्चालित छ । कांग्रेसको मौजुदा विधान अनुसार लगातार दुई कार्यकाल नेतृत्व गरेपछि सभापतिमा बस्न नपाउने व्यवस्था भएकाले कांग्रेसमा अहिलेदेखि नै नयाँ नेतृत्वको खोजी सुरु भएको छ । नयाँ नेतृत्व स्थापित गर्ने महìवपूर्ण भूमिका पनि सभापति देउवाकै हुने छ । आशा गरौँ, कांग्रेसको भावी नेतृत्वमा इतिहासको सम्मान गर्दै भविष्यको पुस्तालाई कांग्रेसको नाममा राजनीति गर्न मार्ग प्रशस्त गर्ने पात्रको प्रवेश हुने छ । 

पाँच पटक सरकारको नेतृत्व गरिसक्नुभएका सभापति देउवाले यो महìवपूर्ण घडीमा पार्टीको इतिहास जोगाउन स्वार्थ समूह र निश्चित गुटको पक्षपोषण नगरी पन्ध्रौँ महाधिवेशनमा नयाँ र सक्षम नेतृत्व चयन गर्न चाहेमा कांग्रेस मात्रै होइन नेपालकै भविष्य उज्ज्वल हुने छ । त्यसैले देउवाको परीक्षा पन्ध्रौँ महाधिवेशनले गर्ने छ । गुटको राजनीति गरेको आरोप खेप्दै आउनुभएका देउवाको भूमिका निर्विवाद र अभिभावकीय हुन्छ भन्ने अवसर देखाउने सुनौलो मौका पनि पन्ध्रौँ महाधिवेशनले तय गर्ने छ । विगतमा कांग्रेसबाट भएका कमजोरीलाई समेत सुधारेर समन्वयकारी नेतृत्व गर्न सक्ने नयाँ नेताको खाँचो देखिएको छ । 

सभापतिमा देउवाले अनिवार्य अवकाश लिनुपर्ने भएपछि कांग्रेसमा सभापति बन्न इच्छुकहरूको लामै लाइन देखिएको छ । उपसभापति पूर्णबहादुर खड्कादेखि पूर्वउपसभापति र महामन्त्रीमा बिमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला, शशाङ्क कोइरालाले आकाङ्क्षा राख्नु स्वाभाविक हो । चौधौँ महाधिवेशनमा सभापतिका प्रत्याशी रहनुभएका शेखर कोइरालाको दाबी पनि स्वाभाविक हुने भइहाल्यो । यीबाहेक पद र चर्चा पाएका युवा नेतामा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको दाबीलाई पनि अस्वाभाविक भन्न मिल्दैन । सभापति देउवा पत्नी आरजु देउवाले पनि नेतृत्व तहमा स्थापित हुने मौका खोजिरहनुभएको छ । धेरै आकाङ्क्षी भएको र राजनीतिको गणित सिधा नहुने भएकाले अहिले नै यसै भन्न सकिने अवस्था छैन । कसले कुन पद चाहेको छ भन्नु भन्दा पनि आमकार्यकर्ताको भावनाको कदर र सम्मान हुने गरी नेतृत्व स्थापित हुनु पर्छ । 

प्रजातन्त्र स्थापनाको लामो समय बितिसक्दा पनि राजनीतिमा स्थिरता देखिएको छैन । राजनीतिलाई स्थिरतामा लैजान पनि सभापति देउवाको प्रभाव कायम रहने अवस्था पुन नदोहोरिएला भन्न सकिन्न किनकि उहाँमा समन्वयकारी भूमिका देखिन्छ । जीवनको उत्तरार्धमा अभिभावकीय भूमिकालाई अझै सम्मानित बनाउनु उहाँका लागि अवसर पनि हो । विगतको अनुभव र जस र अपजसलाई ध्यानमा राखी अब कांग्रेसको अभिभावक बन्ने उहाँको सुरक्षित बाटो पनि हो । राष्ट्रपति भइसकेको मान्छे त प्रत्यक्ष राजनीतिमा आउने सङ्केत 

देखिँदै छन् भने पार्टीको सभापतिबाट निवृत्त भएपछि कोही पनि चुप लागेर बस्दैन । देउवामा पनि त्यो लागु नहोला भन्न सकिन्न । नेतृत्व तहमा नबसे पनि आफूले चाहेको पात्रलाई स्थापित गर्ने देउवाको चाहनाले मूर्तरूप पाउन सक्छ । यसका लागि पन्ध्रौँ महाधिवेशन कुर्नै पर्छ ।

कांग्रेस प्रतिस्पर्धाको राजनीतिबाट अभिप्रेरित छ । नेतृत्वमा स्थापित हुन आमकार्यकर्ताबाट अनुमोदित हुनु पर्छ । टीका लगाएकै भरमा नेता हुने संस्कृति कांग्रेसमा छैन । अधिकांश व्रिmयाशील सदस्यको समर्थन, जुझारुपन र लोकप्रियता नेतृत्वमा स्थापित हुने गुण हुन् । कांग्रेसको विगत हेर्ने हो भने पनि नेतृत्वको आसेपासे भएर पद खाइरहने अपवाद केहीबाहेक कोही पनि आमकार्यकर्ताबाट अनुमोदित नभएका नेता छैनन् । अधिकांश त लामो र बलिदानीपूर्ण सङ्घर्ष गरेर नै नेता भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पनि कांग्रेसमा कम योगदान थिएन । नत्र यो पदमा पुग्ने अवस्था आउने थिएन । देउवाको सङ्घर्ष पनि कोहीभन्दा कम छैन । जननायक बिपी कोइरालादेखि गिरिजाप्रसाद हुँदै सुशील कोइरालासम्मको इतिहास सङ्घर्षै सङ्घर्षले बनेको छ । निष्पक्ष रूपले भन्ने हो भने चौधौँ महाधिवेशनमा सभापतिमा प्रत्याशी बनेर शेखर कोइरालाले पनि आफ्नो प्रजातान्त्रिक छवि देखाइसक्नु भएको छ । मूल रूपमा मतदाताले दिएको मतकै आधारमा को कति लोकप्रिय भनेर मान्ने हो । महाधिवेशनमा पराजित भएपछि पनि उहाँले देखाएको साहस, सुझबुझपूर्ण र सन्तुलित विचारले पनि कोइरालाको छवि स्पष्ट हुन्छ । हिजो देउवा र शेखरलाई सहयोग गर्नुभएका जोजो जुनजुन पद र भूमिकामा रहेको भए पनि उहाँहरूले त्यतिबेला सभापतिका लागि तयारी गर्न सक्नु भएन । उहाँहरू त्यतिबेला सहयोगीको भूमिकामा मात्र रहनुभयो । नेता त देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइराला मात्र हुनु भयो । यो सत्य कांग्रेस नेतृत्व वृत्तले बेलैमा बुझ्न सके कांग्रेसका मात्रै होइन मुलुककै हित हुने छ ।  

कांग्रेसका लागि पन्ध्रौँ महाधिवेशन विशेष महत्वको हुने छ । महाधिवेशन दुवै नेताका लागि झनै महìवपूर्ण छ । देउवाका लागि कांग्रेसको छवि सफा बनाउने सुनौलो अवसर हुने छ भने शेखरका लागि विगतमा चलिरहेको गुटको राजनीति मेटाएर नेतृत्व तहमा स्थापित हुने अवसर । यति मात्र नभएर समस्त नेपाली कांग्रेस वृत्तलाई नै आउने महाधिवेशन जीवन मरणको विषय बन्ने छ । एकतर्फ कांग्रेसको कमजोर छविलाई सुधार्नु छ भने अर्कोतर्फ लामो र बलिदानीपूर्ण सङ्घर्ष गरेर आफ्नै नेतृत्वमा ल्याएको लोकतान्त्रिक सङ्घीय गणतन्त्रको विरोधमा प्रश्न उठाउनेका माझ चट्टान भएर उभिनु पर्ने दायित्व छ । मुलुकको राजनीति अस्थिरताको सिकार भएको छ । 

सङ्घीय शासन व्यवस्थामा प्रश्न उठाउने काम प्रदेशहरूले गर्दै आएका छन् । वर्षमा चार पटक सरकार परिवर्तन हुने अवस्थाले प्रदेशलाई लक्ष्यमा पुग्न दिँदैन । यस्तो राजनीतिलाई सफा बनाउने दायित्व पनि कांग्रेसकै नेतृत्वमा छ । सङ्ख्या पु¥याएर मुख्यमन्त्री खाने र विश्वासको मत लिनेदिने खेलमै समय व्यतित भइरहेको छ । यसले पनि व्यवस्थालाई कमजोर बनाउँदै लगेको छ । त्यसैले पनि कांग्रेसको भूमिका राष्ट्रकै लागि अभिभावकीय हुन आवश्यक देखिएको छ । यो अवसर र उपयुक्त समय भनेको पन्ध्रौँ महाधिवेशन नै हुने छ । महाधिवेशनमा पार्टीका क्रियाशील सदस्यले देशले चाहेको नेतृत्व चुन्न सक्नु पर्छ, व्यक्तिले चाहेको होइन । 

नेपाल र नेपालीको भलो पनि त्यसैले गर्ने छ । अन्यथा अहिलेकै झैँ अस्थिरताकै निरन्तरता हुने छ । अब आउन सक्ने त्यस्तो सङ्कट निम्तिन नदिन पनि कांग्रेसी कार्यकर्ताले विवेक पु¥याउनु पर्छ । नेतृत्वमा को आउनु पर्छ वा को आउनु हुँदैन भन्नुभन्दा पनि कस्तो नेतृत्व स्थापित गरियो भने पार्टी र मुलुकको भविष्य सुरक्षित हुन्छ भन्ने महत्वपूर्ण हो । जनताबाट कहिल्यै पनि अनुमोदित नभएका पात्र र प्रवृत्तिलाई चिन्ने मौका पनि महाधिवेशन नै हुने छ । आशा गरौँ, कांग्रेसको पन्ध्रौँ महाधिवेशनले मुलुकको भविष्य निर्धारण गर्ने छ ।